close

ठमेलमा इन्टरनेट तार काटिँदा ५ करोडको क्षति

टेकपाना टेकपाना

पुस ६, २०७६ १२:३३

ठमेलमा इन्टरनेट तार काटिँदा ५ करोडको क्षति

ठमेल क्षेत्रमा अप्टिकल फाइबरको तार काटिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच छलफल हुने भएको छ । भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई प्रवर्द्धन गर्न पर्यटकीय क्षेत्र ठमेलमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिएपछि उक्त क्षेत्रमा गत आइतबार देखी सेवा अवरुद्ध छ ।

इन्टरनेट सेवा प्रदायक संस्था आईस्पानका अध्यक्ष भोजराज भट्टका अनुसार ठमेल पर्यटन विकास समितिले विना जानकारी तार काट्दा झन्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । काटेपछि अवरुद्ध इन्टरनेट सेवालाई तत्काल पुनः सुचारु गर्न नसकिने अध्यक्ष भट्टले बताए । लगानी र पुर्वाधार संरचना सुनिश्चित नभएको भन्दै उनले तत्काल सेवा सुचारु नहुने जनाए ।

त्यस विषयमा आइतबार सञ्चार सचिव, प्राधिकरण र सरोकारवालाबीच छलफल हुने बताइएको छ । इन्टरनेट सेवाको उपकरणमा पनि क्षति भएको हुँदा कतिपाय उपकरण स्वदेशमा बन्न नसक्ने र त्यसको क्षतिपूर्तिको लागि पनि मन्त्रालयसमक्ष कुरा राखिने आईस्पानले बताएको छ ।

दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ मा अत्यावश्यक सेवा दूरसञ्चारको लाइन, प्रणाली वा संरचनामा नोक्सानी पुर्‍याएको अवस्थामा जरिवाना तथा पाँच वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ ।

यता दूरसञ्चार प्राधिकरणले भने आफूले उक्त विषयलाई गम्भिरताका साथ लिएको बताउँदै आईस्पानलाई जतिसक्दो छिटो सेवा सूचारुका लागि सहजीकरण गरिदिने बताएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले यो विषय मन्त्रालयसमक्ष पुगिसकेको र यसमा चाँडै एक्सन लिइने बताए ।

लगानीको सुरक्षा अनिश्चित भएको अवस्थामा अत्यावश्यक सेवालाई अवरुद्ध नगर्नका टेलिकमले जस्तै आईस्पानले पनि वायरलेस इन्टरनेटको सेवा तत्कालका लागि ती क्षेत्रमा विस्तार गर्ने विषयमा कुराकानी भईरहेको बताइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१