close

प्रधानमन्त्रीको विवादास्पद रिट्विटमा प्रेस टिमकै गल्ती !

टेकपाना टेकपाना

पुस ६, २०७६ २०:३४

प्रधानमन्त्रीको विवादास्पद रिट्विटमा प्रेस टिमकै गल्ती !

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्याण्डलबाट भएको विवादास्पद रिट्विट कुनै अनाधिकृत व्यक्तिले नभएर उनकै सहयोगीबाट भएको आशंका गरिएको छ । अनुसन्धान टोलिमा संलग्न श्रोतका अनुसार प्रधानमन्त्रीको ट्विटर ह्याण्डल सञ्चालनका लागि राखिएको टिमका सदस्यबाटै उक्त रिट्विट भएको हुनसक्ने देखिएको हो । 

प्रधानमन्त्रीको ट्विटरको पासवर्ड अरु कसैले दुरुपयोग गरेको नभइ जिम्मेवार व्यक्तिबाटै भुलवश रिट्विट हुन गएको अनुसन्धानमा संलग्न श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको नाममा निजी र सरकारी गरी दुईओटा ट्वीटर ह्याण्डल छन् । जसमध्ये निजी ट्विटर ह्याण्डल विष्णु रिमाल अन्तरगतको टिमले चलाइरहेको हुन्छ भने प्रधानमन्त्रीको आधिकारिक ह्याण्डल प्रेस सल्लाहकार सूर्य थापा मातहतको टिमको जिम्मेवारीमा रहेको छ ।

शुक्रबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्याण्डलबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको भिडियो सन्देश सहितको ट्विट रिट्विट भएको थियो । गान्धीले भारत सरकारको नागरिकता  विधेयकको विरोधमा बोलेकी थिइन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरको पासवर्ड दुरुपयोग गरेर सोनिया गान्धीको ट्विट रिट्विट भएको हुन सक्ने आशंका व्यक्त गर्दै शुक्रबार राती आफ्नै ह्याण्डलबाट बचाउ गरेका थिए । तर अनुसन्धानका लागि गठित टोलिले यस प्रकरणमा थापा मातहतकै टिमको लापरबाहीका कारण गम्भीर त्रुटी आशंका गरेको हो ।

प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट पोष्ट भएको केहीबेरमै उक्त रिट्वीट हटाइएको थियो । तर अहिलेसम्म प्रधानमन्त्रीको ट्विटर ह्याण्डलबाट भने त्यस विषयमा कुनै वास्तविकता सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीको आधिकारीक ह्याण्डलबाटै भारतीय सरकारले ल्याएको नागरिकता विधेयक विरोधी सन्देश रहेको ट्वीट रिट्विट भएपछि नेपालसँगै भारतमा समेत त्यसले ठूलै तरंक पैदा गरेको छ । नेपाल सहित भारतका सञ्चार माध्यममा यो विषयले राम्रै स्थान पाएको छ । 

पछिल्लो समय नागरिकता संशोधन कानुनको विरोधमा भारतभर विरोध प्रदर्शन भइरहेको छ । विरोधमा उत्रिएका नागरिकमाथि भएको प्रहरी दमनबाट करीब दुई दर्जनले ज्यान समेत गुमाइसकेका छन् ।

त्यहाँको दुवै सदनबाट पारित भइसकेको उक्त विधेयकको प्रमुख प्रतिपक्षी भारतीय कांग्रेस लगायतका विपक्षी दलले विरोध गरिरहेका छन् । विधेयकको विरोधमा नागरिकले उठाइरहेको आवाजको भाजपा सरकारले सम्बोधन गर्नुपर्ने  कांग्रेस अध्यक्ष गान्धीको भिडियो सन्देश शिवम् विज नामक ह्याण्डलबाट ट्वीट गरिएको थियो । 

मुलुककै कार्यकारीको आधिकारिक ट्विट ह्याण्डलबाट छिमेकी मुलुकको संवेदनशील विषयसँग सम्बन्धीत भिडियो सन्देश रिट्विट आफैमा हुनु निकै गम्भीर विषय हो । यो प्रकरणले दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत असर पार्न सक्ने अनुमान गर्न थालिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१