close

तार झुण्ड्याएरै ठमेलमा इन्टरनेट सुचारु गर्ने तयारी

टेकपाना टेकपाना

पुस ९, २०७६ १२:५९

तार झुण्ड्याएरै ठमेलमा इन्टरनेट सुचारु गर्ने तयारी

पर्यटकीय क्षेत्र ठमेलमा काटिएको इन्टरनेट तारको विषयमा सहमती जुटेको छ । मंगलबार प्राधिकरणमा बसेको त्रिपक्षीय बैठकले तत्काललाई पूनः तार झुन्ड्याउन दिने गरी सहमती जुटाएको हो ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरेनट सेवा प्रदायक र ठमेल पर्यटन विकास समितिका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकबाट ठमेल क्षेत्रमा हाललाई तार नदेखिने गरी व्यवस्थित रुपमा झुन्ड्याउन दिने सहमती जुटेको प्राधिकरणका निर्देशक बिजयकुमार रोयले जानकारी दिए । उनका अनुसार तत्काल उक्त क्षेत्रमा इन्टरनेट पुर्‍याउनका लागि सेवाप्रदायकले नदेखिने गरी तारहरुलाई आपसमा क्लिपिङ गरेर झुन्ड्याउन पाउनेछन् ।

‘तर, यो तीन महिनाको लागि अस्थायी विकल्प मात्रै हो’, उनले भने, ‘यस अवधिमा तार अन्डरग्राउण्ड गर्ने भनिएको छ । त्यसका लागि ठमेल पर्यटन विकास समितिले आवश्यक सहजीकरण गरिदिने कुरा भएको छ ।’

अन्डरग्राउण्ड गर्नका लागि आवश्यक खर्च र डक्टिङको विषयमा भने आवश्यक छलफल गरी अघि बढ्ने सहमती भएको बताइएको छ । अघिल्लो आइतबार ठमेल लगायतका क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका (इन्टरनेट सेवा प्रदायक लगायतका) तार काटिएको थियो । जसले गर्दा मूख्य पर्यटकीय क्षेत्र ठमेलको इन्टरनेट सेवा प्रभावित भएको छ ।

तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले भने सहमति पर्याप्त नभएको बताउन थालेको छ । बुधबार डेलिगेशनका लागि प्राधिकरण पुगेको आइस्पानको टोलिले तार काटिँदाको क्षतिपुर्ति पाउनुपर्ने, निर्धारित तीन महिनाभीत्र तार भुमिगत गर्न सम्भव नहुने लगायतका विषय अगाडि सारेको छ ।

ठमेल पर्यटन विकास समितिले पूर्व जानकारी बिना तार काट्दा नेपाल टेलिकम, वर्ल्डलिंक, भायनेट लगायतका मूख्य इन्टरनेट सेवा प्रदायकले दिइरहेको सेवा अवरुद्ध हुन पुगेको हो । इन्टरनेट सेवा अवरुद्ध हुँदा ठमेल क्षेत्रका डेडिकेटेड इन्टरनेट जडान गरेका कर्पोरेट ग्राहकदेखि होटेल, रेस्टुरेन्ट लगायतका सबै व्यवसाय र स्थानीयका घरको इन्टरनेट सेवा प्रभावित भएको बताइएको छ ।

बिना समन्वय तार काटिएको विषयलाई लिएर प्राधिकरणले गत शुक्रबार आफ्नो धारण सार्वजनिक गरेको थियो । उसले अव्यवस्थित तारहरु व्यवस्थित गर्ने प्रकृया अगाडि बढेको र सेवा प्रदायक संस्थाहरु समेत त्यसका लागि तत्पर हुँदाहुँदै यसरी तार काटिनु कानून विपरीत भएको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१