close

फोन काटिने समस्या हटाउन भारतमा सुरु भयो ‘वाईफाई कलिङ’

टेकपाना टेकपाना

पुस ९, २०७६ १४:१०

फोन काटिने समस्या हटाउन भारतमा सुरु भयो ‘वाईफाई कलिङ’

मोबाइल नेटवर्कको भ्वाइस कलमा पछिल्लो वर्ष अत्याधिक कल ड्रपको समस्या (कुरा गर्दा गर्दै बिचैमा काटिने समस्या) देखिन सुरु भएपछि भारतीय दूरसञ्चार क्षेत्रमा अहिले वाईफाई कलिङ चल्तीको विकल्प बनेको छ । भारतीय दूरसञ्चार कम्पनी एयरटेलले हाल यो सेवालाई देशका केही भागहरुमा सुरु गरिसकेको छ भने अर्को दूरसञ्चार कम्पनी रियलाइन्स जियोले पनि यो सेवा परिक्षण गरिरहेको र चाँडै थाल्ने तयारीमा छ ।

एयरटेलले यो सेवा यही डिसेम्बरको सुरुवातमै सार्वजनिक गरेको हो । राजधानी प्रदेश दिल्लीका प्रयोगकर्ताका लागि सार्वजनिक गरेको थियो यो सेवा उसले मुम्बई, कलकत्ता, आन्द्र प्रदेश, कर्नाटक र तमिलनाडुमा विस्तार गरिसकेको छ । कम्पनीले यो सेवा क्रमशः देशका अन्य भागमा समेत विस्तार गरिने जनाएको छ ।

हाल एयरटेलको वाईफाई कलिङ केही निश्चित स्मार्टफोनहरुले मात्र सपोर्ट गर्छ । एयरटेलको यो सेवा अहिले एयरटेलमाकै ‘एक्सस्ट्रिम फाइबर होम’ ब्रोडब्याण्डमा मात्र काम गर्ने किसिमको छ । टेलिकम टक वेभसाइटको अनुसार रियलाइन्स जियोले पनि यो सेवा सुरु गर्न परीक्षण थालसिकेको छ ।

उसले कर्नाटक, कलकत्ता, महाराष्ट्रमा यसको परिक्षण थालेको बताइएको छ । तर जियोको सेवा भने सबै किसिमको ब्रोडब्याण्डसँग कम्प्याटेबल (चल्नसक्ने किसिमको) हुनेछ । जियोले चाँडै सेवा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

के वाईफाई कलिङ ?


वाईफाई कलिङ प्रविधि भनेको मोबाइल नेटवर्क नभएको ठाउँमा वाईफार्ईको सहायताले भ्वाइस कल गर्ने प्रविधि हो । यो सामान्य कलजस्तै हुन्छ तर मोबाइल नेटवर्कको ठाउँमा वाईफाई नेटवर्क प्रयोग हुन्छ ।

मोबाइल नेटवर्कमा कल ड्रपको समस्या पछिल्लो केही वर्षमा नाटकीय रुपमा बढेपछि यस किसिमको समस्यालाई हल गर्न दूरसञ्चार कम्पनीहरुले विकल्पमा वाईफाई कलिङ प्रविधिमा लागेका हुन् । मोबाइल नेटवर्कले काम नगर्दा पनि वाईफाई कलिङले राम्रो गुणस्तरको स्मुथ भ्वाइस कल गर्ने सहजता प्रयोगकर्ताहरुले पाउँछन् ।

तर वाईफाई कलिङका लागि उच्च गतिको नेटवर्क कनेक्सन भने आवश्यकता पर्छ यसले प्रयोगकर्तालाई एचडी भ्वाइस कलको अनुभव दिन्छ । ह्वाट्सएप कल जसरी नै काम गर्छ, तर त्यसका लागि प्रयोगकर्ताले छुट्टै एप्लिकेसन इन्सटल गर्न भने पर्दैन ।

यो सेवाका लागि एकदमै कम इन्टरनेट खपत हुन्छ । वाईफाई कलिङ सेवा सञ्चालन गरिहेको कम्पनीले व्यवस्था गरेको फिचर्ससँग प्रयोगकर्ताको स्मार्टफोन मिल्नुपर्छ र प्रयोगकर्ताले वाईफाई कलिङलाई सपोर्ट गर्ने फोनको ओपरेटिङ सफ्टवेयरलाई अपग्रेड गर्न पर्छ ।

त्यसपछि प्रयोगकर्ताले वाईफाई कलिङ अप्सनलाई अन गर्नुपर्छ । अझ उच्च गुणस्तर अनुभवका लागि प्रयोगकर्ताले भीओएलटीई अप्सनलाई अन गरिरहनुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१