close

किन असफल हुन्छन् नेपाली स्टार्टअप ?

युजु खालिङ युजु खालिङ

पुस १०, २०७६ १३:३१

किन असफल हुन्छन् नेपाली स्टार्टअप ?

प्रविधिको विकाससँगै स्टार्टअपको अवधारणा समेत जन्मियो । यसले ल्याइरहेको परिवर्तनले हरेक क्षेत्रलाई प्रभावित पारेको छ । स्टार्टअप कम्पनीहरु खासगरेर मानिसले दैनिक जीवनमा भोगिरहेका समस्याको समाधानमा नवीनतम् प्रविधि विकास गरिरहेका हुन्छन् । जसले मानिसको स्वभाव र प्रवृत्तिमा पनि परिवर्तन ल्याइरहेकाे हुन्छ । 

यो व्यवसायको आयतन एकदमै लचिलो छ । जुनसुकै समयमा जतातिर पनि विस्तार भएर जानसक्छ । जुनसुकै दिशातिर मोडिन सक्छ । यसक्रममा कुनै सहज रोडम्याप र ब्लुप्रिन्टले काम नगर्न सक्छ । स्टार्टअपको यही अवधारणामा सुरु भएका केही स्टार्टअपहरु विश्व प्रविधिको महारथीको रुपमा स्थापित भईसकेका छन् ।

यस्ता स्टार्टअप कम्पनीको सफलताको ग्राफले धेरैलाई चकित मात्रै होइन मोहित पनि पारिरहेकाे हुन्छ । तर अनन्त सम्भावनाभित्र आफ्नो स्थान खोज्न जन्मिएका यस्ता स्टार्टअपका अधिकांश सोचहरुले आफूलाई स्थापित गर्न र बिकाउन नसकेर बिचैमा तुहिरहेका हुन्छन् । 

आखिर किन यसरी असफल हुन्छन् त स्टार्टअप कम्पनीहरु ? यहाँ आज यसैको कारण खोतल्ने प्रयास गरिएको छ । गतिशिल प्रविधिमा आधारित स्टार्टअप कम्पनीहरुको दिशालाई सधै बजारको रुची, माग, स्वभावको गतिशिलताले निर्देशित गर्छ । यसकारण यसको सफलता र असफलतालाई कुनै एक पक्षले पूर्वानुमान गर्न सक्दैन ।

सबै स्टार्टअप सुरुवाती चरणमा कमजोर नै हुने र चुनौतिका विविध विषयलाई बुझेर स्टार्टअपहरुले व्यवसायिक रुपमा अगाडि बढ्नु अघि संभावित क्षतिलाई स्विकार गर्न सक्ने मानसिकता बनाउनु पर्ने सारथीका सहसंस्थापक प्रकाश न्यौपानेको बुझाई छ ।   

समाजमा विद्यमान समस्या समाधान गर्ने स्टार्टअपको प्रमुख उद्देश्य हुन्छ र त्यसैलाई उनीहरुले आफ्नो अवसरको रुपमा समेत हेरिरहेका हुन्छन् । तर देखासिकीको रुपमा धेरैले समस्या पहिचान गरेर समाधान निकाल्ने भन्दा पनि एउटाको सफलता देखेर आफ्नो स्टार्टअप कम्पनीको मोडालिटी तयार गरिरहेका हुन्छन् । यसो गरिरहँदा उनीहरु सफल कम्पनीको रणनीति, मेहेनत र कार्यदिशाको विषयमा अनविज्ञ हुन्छन् । 

उबर जस्तो राइड शेयरिङ एप विश्वव्यापिरुपमा सफल भयो  । अहिले त्यसैको देखासिकी नेपालमा मौलाइरहेको छ । तर भारत र अष्ट्रेलियामा उबरले दिने सेवाको प्रकृति फरक छ । कारण त्यहाँको समस्या र मौलिक प्रकृति नै भिन्न छ । सबै ठाउँमा समस्याको प्रकृति एउटै हुँदैन भन्ने सामान्य चेत समेत धेरैजसो स्टार्टअपमा हुँदैन । नेपालमा यहाँको समस्या नबुझेरै उबरको सफलतालाई आधार बनाएर सुरु गरिएका स्टार्टप हराउँदै गइरहेका छन् । 

स्टार्टअप असफल हुनुको पछाडि ‘इल्युजन अफ एक्सप्लानेटरी डेथ’ एउटा कारण रहेको बताउँछन् भुक्तानी सेवाप्रदायक तथा डिजिटल वालेट खल्तीका संस्थापक अमित अग्रवाल । ‘सबै कुरा थाहा भएजस्तो ठान्ने तर केही थाहा नपाउने समस्या यहाँ छ । मलाई प्राविधिक ज्ञान छ, एप बनाउन आउँछ भनेर बनाई हाल्छन्, त्यो एप चाहिएको छ वा छैन भन्ने कुरासम्म उनीहरुलाई थाहा हुँदैन,’ उनी भन्छन्, ‘डाक्टरको अपोइन्टमेन्ट लिने वेभसाइट खोल्यो भने भोलिदेखि नै मान्छेहरुले अपोइन्टमेन्टको बुकिङ गर्न थालिहाल्छन् भन्ने सोच आउँछ । सरोकारवालाले एउटा पक्षबाट मात्र सोच्छन् । तर त्यो सिस्टम चल्दा डाक्टरलाई कसरी असर पार्छ, अस्पताललाई, फार्मेसीलाई, ल्याबलाई के फरक पार्छ भन्नेजस्ता कुराहरु नबुझिकन त्यस्तो वेभसाइट चल्दैन नि ।’

स्टार्टअपको सफलतामा बढ्दो आपूर्तिले एकदमै महत्व राख्छ । माग अनुसार सेवा आपूर्ति हुन नसक्दा कम्पनीको विश्वसनीयतामा नै असर पार्छ । ‘डाक्टरको अपोइन्टमेन्ट बुकिङ गर्दा रिजर्भ पाइएन भने साइट नै नराम्रो रहेछ भनेर सेवाग्राहीहरुले ब्राउज नै गर्न छोडिदिन्छन् । त्यसैले यस्ता कुराहरु स्टार्टअपले ख्याल राख्नै पर्छ ।,’ अग्रवाल भन्छन् ।

कुनै समय न्यौपाने संहसंस्थापक रहेको सारथी पनि करिब बन्द हुने अवस्थामा पुगेको थियो । त्यो समयमा बजारको माग अनुसार सप्लाई गर्न नसक्नु कम्पनीको मूख्य समस्या थियो । ‘हाम्रो प्रडक्ट राम्रो हुँदाहुँदै पनि त्यसको डेलिभरीलाई बढाउन सकेनौं । मान्छेहरु सेवा चाहान्थे, तर सिमित आपूर्तिका कारण सेवा नपाउने अवस्था बन्यो र भएको विश्वासनीयता पनि गुम्न थाल्यो,’ न्यौपाने आफ्नो अनुभव सुनाउछन् ।

स्टार्टअप सुरु गर्न समस्याको पहिचान र समाधानको उपाय मात्रै पर्याप्त हुँदैन । दीगो रुपमा चल्नसक्ने पाटो एकदमै महत्वपुर्ण विषय हो । उद्यमी सुरुमै आम्दानी गर्ने स्पष्ट व्यवसायिक योजनाको पाटोमा स्पष्ट हुनुपर्ने सफल मानिएका स्टार्टअपका संस्थापकहरु बताउँछन् । व्यवसायमा क्रेता, विक्रेता वा तेस्रो पक्ष को बाट कसरी शूल्क लिने भन्नेमा सरुवाती चरणमै स्पष्ट हुनुपर्छ ।  

कुनै समय रेष्टुरेन्ट सर्च गर्न ‘यल्लो नेपाल’ एप प्रयोगमा थियो । स्टार्टअपको रुपमा पनि सुरु भयो । तर पैसा कसरी कमाउने भन्ने कुरामा चाहिँ कम्पनी स्पष्ट थिएन । हाम्रो बजार डटकमलाई पैसा उठाउने काम सुरु गर्न करिब आठ वर्ष लाग्यो । 

आठ वर्षसम्म घाटा खाएरै भए पनि हाम्रो बजारले अहिले विज्ञापनबाट रेभिन्यू कलेक्सन गर्न सुरु गरेको छ । नेपालमा ९९ सय प्रतिशत कम्पनीहरु घाटा सहन नसकेर नै बन्द हुने उद्यमीहरुको अनुभव छ । ‘धैर्य नहुँदा र गणीत कमजोर हुँदा राम्रो सम्भावना बोकेका अवधारणाहरु पनि लामो समय टिक्न सक्दैनन्,’ न्यौपाने भन्छन् ।

स्टार्टअपलाई धेरैले नितान्त प्रविधिसँग जोडेर हेर्ने गर्छन् । अझ प्रविधिक पृष्ठभूमिबाट आएकाहरुमा झन् यो समस्या प्रबल रहेको हुन्छ । नेतृत्व आईटीमा यतिसम्म मग्न भईदिन्छ कि अन्य कुराहरु उसको प्राथमिकतामै पर्दैनन् । जसले गर्दा कम्पनीको लेखा, व्यवस्थापन, कानुन, यी सबै कुराहरुमा आवश्यक ध्यान पुग्दैन । यतिसम्म कि कम्पनीको नेतृत्वदायी भूमिकामा रहेकाहरु कम्पनीको वास्तविक अवस्थाबारे नै अनविज्ञ हुन्छन् । 

प्रविधिको पृष्ठभूमि भएका व्यक्ति संस्थापक रहेकाे अवस्थामा उसले व्यवस्थापन र लेखामा रहेका कर्मचारीलाई कस्तो प्रश्न गर्ने भन्ने सम्मको सामान्य जानकारी राख्न पर्छ । कुन समयमा कति बिक्री गर्नुपर्छ ? नाफाको हिस्सा कति छ ? नाफाको दर बढाउन मिल्छ की मिल्दैन भन्ने जस्ता सबै कुरा जान्न जरुरी छ । ‘आफैले नजानेको खण्डमा मान्छे राख्न सकिन्छ, आउटसोर्स गर्न पनि सकिन्छ,’ न्यौपाने भन्छन् । 

कानुनी पक्ष पनि स्टार्टअप सफल वा असफल हुनु पछाडिको अर्को महत्वपुर्ण कारण हो । कुनै पनि स्टार्टअपको सोँचलाई कार्यान्वयन गर्नु अघि धेरैमा त्यसको कानूनी आधार नबुझी हामफाल्ने प्रवृत्ति हुन्छ । स्टार्टअप सुरु भएर कानुनी झमेला आईलागेपछि मात्रै नीतिगत तहसँग मिलेर जाने वा जुधेर जाने भन्ने कुरामा आफू स्पष्ट हुन सक्दैनन् । 

स्टार्टअपमा देखिएको अर्को समस्या भनेको टाढा बसेर उपभोक्ताको आवश्यकता र चाहानालाई अन्दाज गर्नु पनि हो । सेवाग्राहीको अवश्यकता के हो भनेर पहिल्याउने भन्दा पनि आफूलाई जे आउँछ त्यसलाई सेवाको रुपमा बजारमा ल्याउनेहरुको संख्या बग्रेल्ती छ । जुध्नुपर्ने अवस्था आइलाग्दा धैर्यता कायम गर्न नसकेर कति डुबिरहेका हुन्छन् । नेपालकै उदाहरण हेर्दा टुटल पठाओ कानुनमा भएको व्यवस्थालाई चिरेर सेवा दिन आईपुगेका छन् ।

तर तिनिहरुले दिएको सेवाले समस्या समाधान गरेको हुँदा, जनसमर्थन बटुल्न सफल भए र नीतिगत तहसँग सहकार्य गरेर आज ऐन संसोधन गरेर जाने अवस्था बनेको छ । ‘डब्लर’ नामक एउटा एप थियो । जुन प्लेटस्टोरमा राखिसकेको अवस्थामा पनि प्रतिलिपि अधिकारको मामिलाका कारण त्यहाँबाट हटाइयो । स्टार्टअप गर्न चाहने धेरैमा पर्याप्त गृहकार्यको अभाव समेत देखिन्छ । धेरैले समस्या नै राम्रोसँग बुझेका हुँदैनन् । समस्या पहिचान गरे पनि खोजिएको समाधानको उपाय कतिको प्रभावकारी छ भन्ने हेक्का हुँदैन । 

यस्ता विषयसँगै स्टार्टअपको सम्भाव्यताको विश्लेषणको पक्ष पनि महत्वपूर्ण हुन्छ । त्यसमा आर्थिक सम्भाव्यता, प्राविधिक सम्भाव्यता लगायतका कुराहरु हुनसक्छन् । सोँच राम्रो छ, तर त्यो बनाउनै पाँच वर्ष लाग्छ भने त्यसमा अगाडि बढ्ने कि नबढ्ने ? सोँच राम्रो छ तर कमाईको हिसावले दीगो वा टिकाउ हुने किसिमको छ वा छैन ? यस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण नै नगरी जोसमा धेरैले स्टार्टअप सुरु त गर्छन् । विस्तारै उपलब्धि हुन छोडेपछि उद्यमीहरु थाक्छन् र कम्पनी नै बन्द गर्नुको विकल्प उनीहरुसँग बाँकी रहँदैन ।

कतिपय अवस्थामा स्टार्टअप नेतृत्व समूहबीचको कलह र मतभेदले असफल हुनपुग्छन् । कुनै समय ‘कुलल्याब्स’ एप पनि यसै किसिमले डुब्ने स्थितिमा पुगेको थियो । तर कानुनी लडाई मार्फत एकजना संस्थापकको हातमा आएपछि अहिले एप पुनः ‘ब्याक टु ट्रयाक’ मा आएर राम्ररी चल्न सकेको छ । 

कामदार अर्को कम्पनीले लगिदिने  समस्याले पनि स्टार्टअप व्यवसायमा समस्या निम्तिने गरेको जेफ्टवेयर सोल्युसनका सहसंस्थापक अनुप न्यौपाने बताउँछन् । आईटी प्रविधिको बजारमा जनशक्ति सिमित मात्र भएका कारण एउटाको कर्मचारी अर्कोमा लाने जाने समस्या धेरै रहेकाे र यसले स्टार्टअपलाई धेरै धराशायी बनाउने गरेको उनको भनाई छ । 

प्रविधि मात्र होइन मानिसको प्रवृत्ति पनि गतिशिल छ । यसले पनि स्टार्टअपको व्यवसायमा अवरोध ल्याउने गरेको छ । यी दुबै विषयलाई सम्बोधन गरेर अपडेटेड हुन सके स्टार्टअप राम्ररी चल्ने सारथीका न्यौपाने बताउँछन् । 

स्टार्टअपमा उद्यमीहरुले सधै परिणाममूखी अर्थात ‘लिन मोडल’ प्रयोग गर्नुपर्ने सारथीका न्यौपाको सुझाव छ । ‘लिन मोडल’ अनुसार स्टार्टअपमा सुरुमै धेरै कुरा दिन खोज्नु हुन्न, एउटा सानो एकाईमा प्रयोग गर्नुपर्छ । कुनै आईडियाको स्कोप नेपालभरी नै छ भने पनि आईडियाको प्रयोग पहिले एउटा सानो ठाउँबाट गर्नपर्छ । 

‘सुरुमै सबै ठाउँमा एकसाथ सुरुगर्न खोज्दा लागत एकदमै धेरै हुन पुग्छ । व्यवस्थापन गर्न सकिदैन । कुन कहाँबाट र कसरी सुरु गर्ने भन्ने कुरामा दुविधा र अन्योलता उत्पन्न हुन्छ । उदाहरणको रुपमा काठमाडौंलाई स्याम्पल बनाएर काम सुरु गर्ने हो भने भोलि सफल हुने देखिएको खण्डमा विस्तार गर्दै जान गाह्रो पर्दैन,’ न्यौपाने भन्छन् ।

स्टार्टअपमा मेन्टरसिपको चलन छ । मेन्टर सधै सफलताको श्रेय र असफलताको दायित्व दुबैलाई साझारुपमा लिनसक्ने सक्ने हुनुपर्छ । मेन्टरसिप धेरैजनासँग लिनसकिन्छ तर निर्णय आफूले गर्नुपर्छ । लगानी स्टार्टअपको विषयमा प्रमुख चुनौतीको रुपमा रहेको हुन्छ । उद्यमीले पैसालाई बुझ्न सक्नुपर्छ र लगानीकर्तालाई समग्र परियोजनाको बारेमा बुझाउन सक्नुपर्छ । 

नयाँ स्टार्टअपको आईडिया छ भने एउटा कोठाभित्र ज्ञानको स्रोत ल्यापटप र इन्टरनेटलाई मात्र बनाएर बस्नुहुन्न । बाहिरी माहोल, बजार, लगानीकर्ताको रुची बुझ्न र आफ्नो आईडियालाई बुझाउन खुल्ला र लचिलो भएर लाग्न आवश्यक छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१