close

सुरक्षण मुद्रण खरिदको जिम्मा सञ्चार मन्त्रालयलाई

टेकपाना टेकपाना

पुस १०, २०७६ १९:३४

सुरक्षण मुद्रण खरिदको जिम्मा सञ्चार मन्त्रालयलाई

सुरक्षण मुद्रण खरिद गर्न मन्त्रीपरिषदले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रीपरिषद्को पुष ७ गते बसेको बैठकले सुरक्षण मुद्रण सम्बन्धी प्रेस सम्बन्धी मेशिन, औजार, प्रविधि, प्रणाली तथा अन्य आवश्यक सामग्री र भौतिक निर्माण सरकार–सरकार (जि टु जि) माध्यमबाट खरिद गर्न मन्त्रालयलाई अनुमति दिएको हो ।

मुद्रा, पासपोर्ट, स्टिकर, हुलाक टिकटजस्ता महत्वपूर्ण छपाई नेपालमै गर्ने योजनाका साथ सुरक्षण मुद्रण स्थापना गर्ने सरकारको योजना छ । त्यसका लागि मन्त्रीपरिषद्को बैठकले फ्रान्स सरकार र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये उपयुक्त प्रस्ताव छनोट गरि जी टु जी माध्यमबाट खरिद गर्न मन्त्रालयलाई स्विकृत दिएको हो ।

सञ्चार सचिव दीपक सुवेदीका अनुसार सुरक्षण मुद्रण स्थापनाका लागि फ्रान्स र जर्मन सरकारबाट गरी दुई ओटा प्रस्ताव आएको छ । उक्त प्रस्तावमा अब मन्त्रालयले आवश्यक छलफल गरि निर्णय लिनेछ । निर्णय दुबै देशले ल्याएको आर्थिक र प्राविधिक प्रस्तावको अध्ययन पश्चात मात्रै हुने बताइएको छ ।

प्राप्त प्रस्तावमध्ये कुन नेपालका लागि फलदायक हुन्छ, त्यसै आधारमा मन्त्रालय अघि बढ्ने सचिव सुवेदीले बताए । उनका अनुसार सुरक्षण मुद्रण सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (५ख) बमोजिम जी टु जी विधिबाट खरिद गरिनेछ । यसका लागि आवश्यक बजेटको व्यवस्था भने अर्थ मन्त्रालयले गर्ने मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१