close

ब्ल्याकबेरीदेखी गुगल ग्लाससम्म, जो दशककै ‘फ्लप’ रहे

टेकपाना टेकपाना

पुस १२, २०७६ २०:८

ब्ल्याकबेरीदेखी गुगल ग्लाससम्म, जो दशककै ‘फ्लप’ रहे

२०२० को सङ्घार नजिकिदै गर्दा २०१० को दशक पनि अन्त्य हुँदैछ । नयाँ ग्याजेट्सको आविष्कारमा यो दशकले निकै ठूलो योगदान पुर्‍यायो ।

तर यही दशकमा आविष्कार भएका केही यस्ता ग्याजेट्स तथा प्रविधि छन्, जसको अन्त्य पनि यही दशकमै भयो । सार्वजनिक हुनु अघि निकै चर्चामा रहेपनी बजारले त्यस्ता ग्याजेट्स र प्रविधिलाई भने रुचाएन । त्यस्ता केही चर्चित तर ‘फ्लप’ प्रडक्टको चर्चा यसमा गरिएको छ ।

गुगल प्लस

सर्च इन्जिन गुगलमा नभएको सायदै केही होला । गुगलका प्रडक्टसङ्ग नजोडिने ग्याजेट्स प्रयोगकर्ता पनि सायदै होलान् । तर, गुगलकै एउटा यस्तो उत्पादन जस्ले यसका अर्बौ प्रयोगकर्ताको ध्यान खिच्न सकेन – जुन हो गुगल प्लस । फेसबुकलाई चुनौती दिने उद्देश्यसहित सार्वजनिक गरिएको गुगल प्लस सुरक्षामा अत्यधिक प्रश्न उठेपछि सन् २०१८ मै बन्द हुनपुग्यो ।

ब्ल्याकबेरी

आईफोनले नेपालमा चर्चा पाउनु अघि नै ब्ल्याकबेरी एउटा शान थियो । स्मार्टफोनको दबदबाबीच पनि यो किबोर्ड फोन आफ्नै अपरेटिङ सिस्टमबाट प्रतिस्पर्धीलाई चुनौती दिँदै थियो । तर स्क्रीन टच डिस्प्लेसङ्ग ब्ल्याकबेरी भिड्न सकेन । अन्त्यमा आफ्नो ब्ल्याकबेरी मोबाइलको लाइसेन्स टीसीएललाई एन्ड्रोइड फोन निर्माण गर्न पाउनेपरी बेच्नुपर्यो । यसरी ब्ल्याकबेरीको ईतिहास मेटियो ।

विन्डोज फोन

कम्प्युटर सफ्टवेय सिस्टम विन्डोजलाई पनि यो दशकमा मोबाईल बजारमा भित्रने रहर लाग्यो । आफ्नै अपरेटिङ सिस्टमसहित बजारमा विन्डोज फोन पनि आयो । तर आइओएस र एन्ड्रोइडको दबदबामा विन्डोज फोन पनि टिक्न सकेन ।

गुगल ग्लास

वेयरेबल डिभाइसको बारेमा दुनियाँले नसोच्दै गुगलले एउटा नया डिभाइस ल्यायो २०१४ मा । कृत्रिम वास्तविकताको अनुभव दिलाउने गरि गुगल ग्लासको बजारीकरण भयो । तर दूर्भाग्य, बजार तयार नहुदै आविस्कार भएको गुगल ग्लास रुचाइएन । यसको डिजाइनमा पनि सकारात्मक प्रतिक्रिया पाएन गुगलले । सायद २०२० को दशकमा पो यो फेरि आउला कि ?

फेसबुक फोन

फेसबुकको लोकप्रीयता मोबाइल निर्माण कम्पनीका लागि पनि लोभलाग्दो थियो । एचटीसीले यो राम्रोसँग बुझेको थियो । अनि ल्यायो फेसबुक होमको इन्टरफेस सहितको एचटीसी फर्स्ट । यसको हल्ला फेसबुक फोनको रुपमा भयो । तर बजारले हल्ला पत्याएन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१