close

विदेशमा रहेका वैज्ञानिकलाई स्वदेश फर्काउँदै नास्ट

टेकपाना टेकपाना

असोज १, २०७६ २२:१६

विदेशमा रहेका वैज्ञानिकलाई स्वदेश फर्काउँदै नास्ट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले विदेशमा रहेका नेपाली वैज्ञानिकलाई नेपाल फर्काउने रणनीति बनाएको छ । नास्टले ‘ब्रेन पुलिङ्’ कार्यक्रममार्फत विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन लागेको हो ।

नास्टका अनुसार वैज्ञानिकलाई नेपाल ल्याएर नेपालको ऊर्जा क्षेत्र, वातावरण तथा जलवायु परिवर्तन, पूर्वाधार विकास क्षेत्र, प्राकृतिक प्रकोप, जनस्वास्थ्य तथा औषधि विज्ञान, जैविक विविधता, संरक्षण एवं प्रविधि विकास र सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान गरिनेछ । ‘स्वदेश तथा विदेशमा रहेका वैज्ञानिकहरुलाई विज्ञान र प्रविधि मार्फत मुलुकको समृद्धी हासिल गर्नको लागि एकजुट बनाउने हाम्रो उद्देश्य हो’ नास्टका उपकुलपति डा.सुनिल बाबु श्रेष्ठले भने ‘कार्यक्रममार्फत विदेशमा रहेका नेपाली वैज्ञानिकलाई यहाँको आवश्यकता अनुसार उनीहरुको रोजाइको विषयमा अनुसन्धान गर्न लगाइनेछ ।’

विदेशमा बसेर नेपाललाई सहयोग गर्न, नेपाललाई प्रविधि हस्तान्तरण गर्न, अनुसन्धानमा योगदान गर्ने वातावरण नास्टले सिर्जना गर्न लागेको हाे ।


त्यसका लागि वैज्ञानिकलाई नास्टमा अनुसन्धान ल्याबको व्यवस्था गरिनेछ । साथै त्यसमा आउने वैज्ञानिकलाई नाष्टले सम्पूर्ण सुविधा समेत उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरुलाई बस्नको लागि स्थान, तलब भत्ता, रिसर्चको लागि आवश्यक खर्चको पनि व्यवस्था नास्टले नै गर्नेछ । तर, अनुसन्धान भने परिणमामूखी हनुपर्नेछ । ‘अनुसन्धान भनेको निरन्तरको प्रक्रिया हो’ उनले भने ‘तर, यो अनुसन्धान त्यस्तो होइन । यसमा तोकिएको समयमा देख्ने र प्रभाव पार्ने खालको अनुसन्धान हुनुपर्नेछ ।’ यसको अवधि तीन महिनादेखी एक वर्षसम्म तोकिएको छ । विदेशबाट नेपाल नै फर्किने वैज्ञानिकको हकमामात्र भएकाले यसमा सिट सिमित गरिएको श्रेष्ठले बताए ।


विदेशबाट नेपाल फर्किने वैज्ञानिकलाई यहाँ आएर अन्य कम्पनीमा काम गर्नेे समयसम्मको अवधि देशको लागि योगदान गर्ने अवसर प्रदान गर्न यस्तो गरिएको हो । अथवा फर्किएर आएका वैज्ञानिकले नास्टका विभिन्न कार्यक्रममा रहेर पनि कामलाई निरन्तरता दिन सक्नेछन् । तर, यसरी विदेशमा रहेका वैज्ञानिकलाई नेपालमै फर्काउने गरी गरिने अनुसन्धानको लागि भने सिमित सिटमात्रै रहेको श्रेष्ठ बताउँछन् ।


यसका साथै नास्टले उक्त कार्यक्रममार्फत नै ‘नास्ट एमेनेन्ट फेलो’को पनि सुरुवात गरेको छ । यसमा विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापकलाई त्यहि काम गर्दा गर्दै नेपालमा योगदान पुर्याउने अवसर पनि सिर्जना गर्न लागेको छ ।

‘विदेशमा कार्यरत वैज्ञानिक, प्राध्यापकलाई यहाँ फर्केर आउने वातावरण नहुन सक्छ’ श्रेष्ठले भने ‘हाम्रो चाहना सबै नेपालमै फर्किनुहोस, यहिं काम गर्नुहोस भन्ने नै हो तर उहाँहरु यहाँ आउँदा त्यो अनुसारको सेवा सुविधा सबैलाई दिन सक्ने क्षमताको विकास भइसकेको छैन ।’

‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ भन्ने कार्यक्रमकाे असफलता पछि त्यसैलाई परिमार्जित गर्दै यो वर्षबाट ‘ब्रेन पुलिङ्’ कार्यक्रम सञ्चालन गरिएको हो ।

त्यसैले त्यहिं बसेर नेपाललाई सहयोग गर्न, नेपाललाई प्रविधि हस्तान्तरण गर्न, अनुसन्धानमा योगदान गर्ने वातावरण नास्टले सिर्जना गर्न लागेको जनाएको छ । त्यस्तै ४० बर्षभन्दा कम उमेरका स्वदेश वा विदेशमा कार्यरत नेपाली नागरिक वा गैरआवासीय नेपाली युवा वैज्ञानिक तथा प्राविधिज्ञलाई पनि नास्टले जोड्ने तयारी गरेको छ । त्यसका लागि ‘नास्ट एसोसिट फेलो’ प्रदान गरिने श्रेष्ठले बताए ।


अन्य मुलुकमा भएका मात्र नभएर त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका विश्वविद्यालयका प्राध्यापकहरुलाई विज्ञान प्रविधिसँग सम्बन्धित अनुसन्धानका लागि नास्टसँग जोडेर अघि बढ्ने योजना नास्टले बनाएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यसअघिका वर्षहरुमा पनि नास्टले ‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ भन्ने कार्यक्रम ल्याएको थियो । त्यसैलाई परिमार्जित गरेर यो वर्षबाट ‘ब्रेन पुलिङ्’ कार्यक्रम सञ्चालन गरिएको हो ।


फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल भन्ने यसअघिको कार्यक्रममा जम्मा ८ जनाले फारम भरेकोमा जम्मा दुई जना मात्र नेपाल फर्किएका थिए । फर्किएका आफैपनि सन्तुष्ट हुन सकेनन् भने नास्टपनि उनीहरुबाट सन्तुष्ट हुन सकेको थिएन । त्यसैले यसलाई परिमार्जित गरि यो वर्षबाट ब्रेन पुलिङ् सुरु गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३