close

रेष्टुरेन्टमा खाना दिने रोबोटलाई अब ‘हाईसञ्चो’, अर्को रोबोटसँग बाँडिदैछ काम

टेकपाना टेकपाना

असोज १, २०७६ २२:१६

रेष्टुरेन्टमा खाना दिने रोबोटलाई अब ‘हाईसञ्चो’, अर्को रोबोटसँग बाँडिदैछ काम

नौलो रेष्टुरेन्टको नौलो प्रविधिको ‘जिन्जर रोबोट’ अर्थात वेटर रोबोटले नेपालमा निकै चर्चा बटुल्यो । रेस्टुरेन्टमा मान्छेको काम रोबोटले गरेपछि सेवाग्राहीमात्र अचम्म भएनन्, सबैको लागि यो आकर्षणको विषय पनि बन्यो ।

रेष्टुरेन्टमा आउने ग्राहकलाई स्वागत गर्ने देखी लिएर उनीहरुसँग अर्डर लिने र अर्डर पुर्याउने सम्मको काम उक्त रोबोटले गर्न सक्छ । पाइला टेक्नोलोजीका २४ देखि २७ वर्ष सम्मका युवा समुहले यो नयाँ प्रविधि नेपालमा चिनाएको थियो । जसको सञ्चालकमा रबिन गिरीसँगै सागर श्रेष्ठ, दीपकमल भुसाल, विनय राउत, आयुष कसजू, वासिम अक्रम खान र नीरज बस्नेत गरी सात जना छन् ।

त्यसअघि पनि कम्पनीले एसबीआई बैंकको आग्रहमा ‘परी’ नाममा रोबोट विकास गरेको थियो । उक्त ‘परी’ लाई पनि परिमार्जित गरी अझ प्रभावकारी र धेरै फिचर्स जोडेर ‘परी २’ पनि विकास गरी बैैंकलाई उपलब्ध गराईसकेको छ । जसले एटीएम मेसीन देखाई दिने, क्यास काउण्टर देखाई दिने, बैंकको बारेमा जानकारी दिनेसम्मको काम गर्न सक्छ ।

फुलमायाको काम संग्रहालय बसेर त्यहाँ अवलोकन गर्न जानेलाई स्वागत गर्ने हो । त्यहाँ भित्र रहेका उपकरण तथा प्रविधिको ब्याख्या पनि रोबोट फुलमायाले नै गर्छिन् ।

त्यसपछि कम्पनीको परियोजनामा ‘फुलमाया’ थपियो । गत वैशाख २८ गते बीपी कोइराला मेमोरियल प्लानेटोरी तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सञ्चालनमा ल्याएको संग्रहालयमा फुलमाया राखियो । नाम फुलमाया तर, उनी पनि मानवयन्त्र (रोबोट) नै हुन् । उनलाई नेवारी पोशाक हाकुपटासीमा सजाइएको छ । फुलमायाको काम संग्रहालय बसेर त्यहाँ अवलोकन गर्न जानेलाई स्वागत गर्ने हो । त्यहाँ भित्र रहेका उपकरण तथा प्रविधिको ब्याख्या पनि रोबोट फुलमायाले नै गर्छिन् ।

उनी सधै संग्रहालयको एक कुनमा बसी रहेकी हुन्छिन । जब संग्रहालय भित्र कोही पस्छन उनको सिस्टम आफै एक्टीभ हुने पाइला टेक्नालोजीका सञ्चालक दिपकमल भुसाल भन्छन् । ‘मान्छेले त्यहाँ फिजिक्स ल्याब, बोटानी ल्याब कता छ भनेर सोधेको खण्डमा स्थान देखाउनेदेखी त्यसको बारेमा आवश्यक जानकारी दिने काम फुलमायाले गर्छिन,’ भुसाल भन्छन, ‘त्यतिमात्रै होइन उनलाई विज्ञान तथा राजनीतिक विषयमा प्रश्न सोध्नुस उनले जवाफ दिनेछिन् ।’ त्यसपछिको परियोनजा के त ? भुसाल भन्छन, ‘हामीहरु अहिले ‘परी’ जस्तै अन्य प्रोजेक्टहरूमा व्यस्त छौं ।’

जिन्जर रोबोट अर्थात वेटर रोबोटलाई परिष्कृत गर्ने काम भइरहेको छ । पहिलो रोबोट रेस्टुरेन्टमा दिएको सेवाबाट सिक्दै त्यसलाई अझ परिष्कृत बनाउने काम भइरहेको छ । भुसालका अनुसार उक्त रोबोटलाई अझ प्रभावकारी बनाउन दुई वटा अपडेटको काम हुँदैछ । त्यसमा पहिलो ‘अटोनोमस नेभिगेसन’ हो । जिन्जरलाई कसैको निगरानी विना नै आफैले कार्यक्षेत्र भित्रको भौगोलिक स्थान पत्ता लगाउन सक्ने गरी निर्माण गरिदैंछ । दोस्रो, रोबोटमा ‘मल्टी–एजेन्ट सिस्टम’ जडान गरिदैंछ, जसमार्फत जिन्जरले एक अर्कासँग कुराकानी गरी रेष्टुरेन्टको काम बाँडफाड गर्छ ।

नयाँ परियोजनाको रुपमा पाइलाले नेपाली पहिरनले सजिएको बिजनेश रोबोट पनि निमार्ण गरिरहेको छ । जसलाई नेपालका अन्तराष्ट्रिय विमानस्थलहरुमा राख्ने योजना कम्पनीको छ । जुन चाँडै नै तयार हुनेछ । साथै कम्पनीले नेपाली भाषामा पनि काम गरिरहेको छ । हाल एप्पलको ‘सीरी’ र अमेजनको ‘एलेक्सा’ ले अन्य भाषा बुझेजस्तै नेपाली भाषा बुझ्न सक्ने बनाउन उक्त समुह खटिएको छ । जसलाई कम्पनीले ‘नेपाली स्पिच सेन्थेसिस’ नाम दिएको छ ।

सात जनाको उक्त समुह अहिले नेपालको शिक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् । स्कुलमा बच्चाहरुको लागि प्रविधि सिकाउने किसिमको सिस्टम निर्माणको तयारीमा कम्पनी रहेको भुसाल बताउँछन् । भुसालका अनुसार बच्चाहरुले आफैले सिस्टममा प्रोग्राम गरेर उनीहरुको तहबाटै रोबोट परिक्षण गर्ने किसिमको प्रणाली विकास गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३