close

छोटो समयमै अस्ताएको वाइम्याक्स

रन्जन कोइराला रन्जन कोइराला

असोज १, २०७६ २२:१०

छोटो समयमै अस्ताएको वाइम्याक्स

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको वाईम्याक्स सेवा छोटो समयमै अस्ताएको छ । सेवा सुरु भएको सात बर्ष नपुग्दै सेवा बन्द हुने अवस्थामा पुगेको छ । टेलिकमले २०६९ कात्तिक २७ देखि वाइम्याक्स प्रविधिमार्फत गाउँगाउँमा इन्टरनेट सेवा उपलब्ध गराउन थालेको थियो ।

नेपाल टेलिकमले २३ सय ब्यान्डको ३० मेगाहर्ज फ्रिक्वेन्सीमा ताररहित उच्चगतिको इन्टरनेट वाइम्याक्स सेवा सञ्चालन गरिरहेको छ । उक्त सेवा सुरु गरेको सात वर्ष पुग्न अझै केही महिना बाँकी नै छ । तर, टेलिकमले वाइम्याक्स सेवाको विस्तारमा रोक लगाई सकेको छ । टेलिकमका सह–प्रवक्ता कृष्ण प्रसाद भण्डारीका अनुसार टेलिकमले गत केहि बर्ष यताबाट वाईम्याक्स प्रविधिको विस्तारमा रोक लगाएको हो । यो सेवा हाल पहाडका केही जिल्लामा मात्रै सञ्चालनमा रहेका छन् ।

कुनै समय देशका हरेक जिल्लामा यो सेवा पुगी सकेको थियो । भण्डारीका अनुसार २०७३ कात्तिक ७ गते हुम्ला जिल्लामा सेवा विस्तार गरेसँगै सेवा देशका हरेर जिल्लामा पुगेको थियो । सेवा विस्तार भई देशका हरेर जिल्लामा पुगेको एक वर्ष नपुग्दै सेवा विस्तारको काममा टेलिकमले रोक लगाएको थियो । नेपाल टेलिकमकी तत्कालिन प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले २०७३ चैतमै वाइम्याक्सलाई फोरजीले विस्थापित गर्ने बताएकी थिइन् । उनले सन् २०१५ पछि वाइम्याक्सको नयाँ प्रविधि उत्पादन नभएको र विश्वमै पनि कम प्रयोग हुन थालेकाले सेवा महँगो भई विस्थापन गर्न खोजिएको उल्लेख गरेकी थिइन् ।

टेलिकमले गत केहि बर्ष यताबाट वाईम्याक्स प्रविधिको विस्तारमा रोक लगाएको छ। यो सेवा हाल पहाडका केही जिल्लामा मात्रै सञ्चालनमा रहेका छन् ।

त्यो भन्दापनि, वाइम्याक्सको सुरुवातनै ढिलो गुर्न नेपाल टेलिकमको कमजोरी भएको बताउँछन नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक तथा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका विज्ञ आनन्दराज खनाल । ‘जुन समयमा अन्य मुलकमा फोरजी विस्तार भइसकेको अवस्थामा टेलिकमले वाइम्याक्स सेवाको सुरुवात ग¥यो’, खनाल भन्छन, ‘जसले परिणाम त्यसमा नयाँ विकास हुन सम्भावना भएन । साथै फोरजी सेवाको विस्तार पनि सोही फ्रिक्वेन्सीनै प्रयोग हुने भएकाले पनि टेलिकमले वाइम्याक्सको सेवालाई विस्तार गर्न नसक्ने अवस्थामा सिर्जना भएको हो ।’

टेलिकमका सह–प्रवक्ता भण्डारी पनि यो कुरा स्विकार्छन । उनी भन्छन, ‘वाइम्याक्स फोरजी प्रविधिमा आधारित भएकाले त्यसको विकल्पको रुपमा फोरजी विस्तार गर्न लागिएको हो ।’ अन्तर्राष्ट्रिय स्तरमा पनि वाइम्याक्सभन्दा फोरजी एलटीई सेवाको प्रयोग बढी हुने गरेको छ । वाइम्याक्स खर्चिलो भएकाले पनि त्यसलाई विस्थापन गर्ने तयारी भएको हो । जस अनुसार टेलिकमले पछिल्लो समय वाईम्याक्समा कुनै लगानी थप गरेको छैन ।

हाल टेलिकमले वाइम्याक्स सेवा दिइरहेको ब्याण्डविथमार्फत फोरजी विस्तारको काम थालिसकेको छ । कात्तिक महिनाभित्र उक्त ब्याण्डमार्फत देशका २० सहरमा फोरजी सेवा विस्तार गरिसक्ने योजना टेलिकमको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३