close

बिग डेटाबाट विद्युतीय सवारीसाधन प्रवर्धन गर्ने सोनिका बनिन् ‘योङ्ग च्याम्पियन्स अफ द अर्थ’

गोपाल साउद गोपाल साउद

असोज ४, २०७६ ११:४६

बिग डेटाबाट विद्युतीय सवारीसाधन प्रवर्धन गर्ने सोनिका बनिन् ‘योङ्ग च्याम्पियन्स अफ द अर्थ’


नेपाली कम्प्युटर इन्जिनियर सोनिका मानन्धर संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम अन्तरगतको ‘योङ्ग च्याम्पियन्स अफ द अर्थ’ बन्न सफल भएकी छिन् । बिग डाटाको प्रयोग तथा महिला शशक्तिकरण मार्फत विद्युतीय सवारीसाधनलाई प्रभावकारी बनाउन प्रयासरत एलोई टेक्नोलोजिकी सहसंस्थापक मानन्धरले एशिया तथा प्रशान्त क्षेत्रबाट उक्त पुरस्कार पाएकी हुन् । यससँगै मानन्धर योङ्ग च्याम्पियन्स अफ द अर्थ जित्ने पहिलो नेपाली समेत बनेकी छिन् ।


सन् २०१७ बाट सुरु भएको यो पुरस्कारबाट हरेक वर्ष वातावरणीय परिवर्तन सम्बन्धि विश्वभरबाट छानिएका ३० वर्ष मुनिका सात जना यूवा उद्यमीहरू सम्मानित हुनेगरेका छन् । विजेताले आफ्नो उद्यमशिलता विस्तारका लागि राष्ट्रसंघबाट १५ हजार अमेरिकी डलर सिड फण्ड (बिऊ पूँजी) सँगै ९ हजार डलर सञ्चार सहायता प्राप्त गर्नेछन् ।

नेपाली महिलाहरू धेरैजसो अवसरबाट बञ्चित छन् । हाम्रो नेपाली समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका अनेक समस्याहरू छन् । न्युन आय भएकाहरूले वित्तीय पहुँच प्राप्त गर्न सकेका छैनन् । वित्तीय पहुँचकै असहजताका कारण महिला उद्यमीहरूले थालेका व्यवसाय राम्रौसँग फस्टाउन सकिरहेका छैनन् । ‘न्यून ब्याजदर सहितको वित्तीय सुविधाका माध्यमबाट महिला सवारीचालकहरूको आफ्नै स्वामित्वमा विद्युतीय सवारी साधन होस् भन्ने हाम्रो चाहना हो,’ उनी भन्छिन्, ‘बिग डाटाको माध्यमबाट ट्राफिकको प्रवृति संकलन गर्ने र त्यसको माध्यमबाट यातायात व्यवस्थापन तथा सवारीसाधनको सञ्चालनमा सघाउने हाम्रो उद्देश्य छ ।’


काठमाडौं सुरक्षित नै भए पनि महिलाहरूमाथि यौन दुव्र्यवहारका घटनाहरू दिनहुँ भइरहेकै छन् । त्यसले खुला र निडर रुपमा महिलाहरुलाई हिँडडुल गर्न त्यति सहज छैन । अझ अबेर राती बाहिर कतैबाट घर फर्किनुपर्दाको सकस झन् अत्यास लाग्दो छ । अर्कोतर्फ दक्षीण एशियामै काठमाडौंको उपत्यकाको वायू प्रदुषण तीब्र गतिमा बढिरहेको छ । हावाको गुणस्तर दिनप्रतिदिन खस्किँदो छ । यी सबै समस्या एक अर्कासँग अन्तरसम्बन्धित रहेको सोनिकाको बुझाई छ । ‘समाजका हरेक समस्याको समाधानसँग प्रविधि जोडिएको महशुस हुन्छ,’ उनी भन्छिन् ।


ग्रिन इनर्जी मोबिलिटीमार्फत सार्वजनिक सवारीसाधनलाई स्तरीय बनाउन सकिनेमा ऊनी प्रष्ट छिन् । त्यसैले वित्तीय प्रविधि (फिनटेक) र ग्रिन इनर्जी मोबिलिटीलाई महिला शशक्तिकरणसँग जोडेर उनको स्टार्टअप कम्पनीले वित्तीय सुविधाको प्रभावको मापन समेत गरिरहेको छ । महिला सवारीचालकहरूका लागि उनको कम्पनीले क्रेडिट रेटिङको विकल्प सहित सस्तो र सहज वित्तीय सुविधा जुटाइदिने प्रयास थालिको छ ।

पुर्णतः डिजिटल सुविधा भएकाले यसबाट महिला सवारीचालकहरूले आफ्नो आम्दानीको विषयमा जानकारी राख्नसक्छन् । यसरी नै सोनिकाको कम्पनीले महिला उद्यमीहरूलाई सघाउने काम थालेकी छिन् । त्यसैगरी वित्तीय संस्थाहरुले आफ्नो लगानी कहाँ भइरहेको छ भन्ने थाहा पाउन र विश्लेषण गर्न सक्छन् । युवा उद्यमी तुलाधर विद्युतीय सवारी साधनको प्रवर्द्धनबाट काठमाडौं उपत्यकोको वायू तथा वातावरणीय प्रदुषण कम गर्न सकिने स्पष्ट सोचका साथ अगाडि बढेकी छन् । भन्छिन्, ‘जब म भविष्यतर्फ हेर्छु, यहाँका मानिसले स्वच्छ हावाको स्वास लिइरहेको कल्पना गर्छु ।’ सोनिका काठमाडौं उपत्यकाबासी स्वस्थ र खुशी भएको देख्न चाहन्छिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३