close

एआईमा भविष्य खोजिरहेका विश्वबिजेता नेपाली यूवाहरुको सोच

गोपाल साउद गोपाल साउद

असोज ७, २०७६ ९:१५

एआईमा भविष्य खोजिरहेका विश्वबिजेता नेपाली यूवाहरुको सोच

माइक्रोसफ्टले क्याम्पस तहका आईटीका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष ‘स्टुडेन्ट पार्टनर’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफूले विकास गरेका प्रविधिसँगै अन्य प्रविधिको विषयमा समेत विद्यार्थीलाई सिकाउने उद्देश्यका साथ सञ्चालन हुने त्यस्ता गतिविधिमा विभिन्न कलेजमा अध्ययनरत अब्बल विद्यार्थी सहभागी हुन्छन् । साेही कार्यक्रमकै क्रममै दुई वर्ष अगाडि मदन भण्डारी मेमोरियल कलेजमा सिएसआईटी विषयका विद्यार्थी शिशिर श्रेष्ठ, नेपाल इन्जिनियरिङ कलेजकी इडा रिजाल र कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङका मिलन थापाले ‘स्टुडेन्ट पार्टनर’ कार्यक्रममा सहभागी हुने मौका पाए ।

एकवर्षे उक्त कार्यक्रमका दौरान उनीहरु एकअर्कासँग परिचित मात्रै भएनन् भविष्यका योजना पनि सँगसँगै बुन्न थाले । सिक्ने सिकाउने क्रममै उनीहरु माइक्रोसफ्टकै प्रिएक्सिलेटर नामक ३ महिने अर्को कार्यक्रममा पनि सामेल भए । त्यसदौरान उनीहरुले स्टार्टअप थाल्दा कस्ता विषयमा केन्द्रीत हुने, कम्पनी स्थापना कसरी गर्ने, कानूनी प्रक्रिया लगायतका विषयमा जान्ने र सिक्ने मौका पाए । कलेजमा सँगसँगै पढिरहेका अरु साथीहरु पासआउट भएपछि यूरोप, अमेरिका, अस्टेलिया जाने सपना सजाइरहेका भएपनि उनीहरु भने देशमै केही गरेर देखाउने अठोट नै शिशिर, इडा र मिलनलाई सहकार्यको पहिलो आधार थियो ।

यसैबीच उनीहरुले आफ्नो सोँचलाई सोचवेयर नाम दिएर स्टार्टअप कम्पनीको खडा गर्ने निधो गरे । कम्पनीलाई कुनै एउटा क्षेत्रमा केन्द्रीत गर्नु नै पर्ने थियो । त्यसैले उनीहरु कृषिमा केन्द्रीत भएर नयाँ प्रविधिको विकास गर्नतिर कस्सिए । पछिल्लो केही समयदेखि काठमाडौं उपत्यका आसपासमा च्याउखेती फस्टाउँदै थियो । खेतीका लागि बनाइएका टनेलहरुमा तापक्रमको व्यवस्थापन महत्वपुर्ण हुन्छ । स्थानीय च्याउ किसानहरु जाडोमा तापक्रम बढाउन पराल बाल्थे । गर्मीमा तापक्रम चिस्याउन भेन्टिलेशनको प्रयोग गर्थे । यसले किसानको धेरैजसो समय तापक्रम व्यवस्थापनमै सकिन्थो । बजारका लागि बिचौलियाको भर पर्नुपर्ने बाध्यता । यसरी च्याउ कृषकहरु आफ्नो उत्पादनको पुर्ण प्रतिफल लिनबाट बञ्चित भइरहेका थिए ।

विभिन्न टनेलको अवलोकन र अनुसन्धानपछि सोचवेयरका तन्नेरीहरु च्याऊ कृषकहरुलाई सहज हुने गरी च्याऊको अटोमेशन गर्ने प्रविधि विकासमा लागे । भिभिन्न किसिमका डिभाइस राखेर प्रोग्रामिङको काम आफै गरे । त्यसमा रहेका कुनै डिभाइसले स्वचालित रुपमा टनेलको तापक्रम मापन गरेर राख्थ्यो त कुनैले आवश्यक मात्रामा आद्रता कायम राख्ने काम गथ्र्यो । कुलिङ र हिटिङ फ्यानहरु बनाइएको थियो, जसले स्वचालित रुपमा तापक्रमको व्यवस्थापन गर्न सघाउँथ्यो । ललितपुरको लुभूमा रहेको एउटा च्याऊ फार्ममा त्यसको परीक्षण पनि सफल भयो । आफूले विकास गरेको प्रविधिलाई उनीहरुले ‘मस्रुमेशन’नाम समेत दिए ।

‘मस्रुमेशनलाई व्यवसायिक स्तरमा लैजान नसकेपनि कम्पनी खोलेर सूचना प्रविधिको विकासमै लाग्ने प्रण हामीले गरिसकेका थियौँ,’ शिशिर भन्छन् । ‘कम्पनी स्थापना गरिसकेपछि कार्यालय खर्च धान्ने चुनौति पनि थपियो । त्यसका लागि सोचवेयरले वेब डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेशन डेभलपमेन्ट, भिभिन्न आइओटी सम्बन्धि तालिम लगायतका ‘क्लाइन्ट प्रोजेक्ट’ पनि सँगसँगै चलाइरहेको छ । विभिन्न ठाउँमा त्यसको शोकेश पनि भयो । तर दुर्भाग्यको कुरा मस्रुमेशनको काम प्रोटोटाइप लेभलभन्दा माथि लैजान भने उनिहरुले सकेनन् । लगानी अभावमा त्यसलाई व्यवसायिक रुपमा विकास गर्न नसकिएको शिशिरको ठम्याइ छ ।

माइक्रोसफ्टले हरेक वर्ष विश्वकै ठूलो भध्येको एउटा सफ्टवेयर प्रतियोगिताको आयोजना पनि गर्नेगर्छ । २०१७ मा माइक्रोसफ्ट इम्याजिन कप नामक उक्त प्रतियोगितामा सोचवेयरको यात्रा नेशनल फाइनलस्टिको टप फाइभसम्म मात्रै सीमित हुन पुग्यो । सोचवेयरले पुनः २०१८ को प्रतियोगितामा पनि भाग लियो । आफ्नो पूर्ववत अवधारणमा एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि पनि मिसाए । जसले कुनै बिरुवाको पातको फोटोकै आधारमा रोग पत्ता लगाउन सक्छ ।

त्यसपछि भने सोचवेयरले नेपालको बिजेता हुँदै एशियन प्यासिफिक रिजनको फाइनको यात्रा पनि तय गर्‍यो । मलेसियामा आयोजित उक्त प्रतियोगितामा विभिन्न नौ देशबाट १५ टिम सहभागी थिए । उक्त प्रतियोगितामा सोचवेयरले सातौँ स्थानमा चित्त बुझाउनुपर्‍यो । सजिलो के भइदियो भने उत्कृष्ट सात टिम अमेरिकामा हुने विश्व फाइनलमा सहभागी समेत हुन पाउने भए । त्यसपछि अमेरिकामा हुने प्रतियोगिता आउन केवल ३ महिना मात्र बाँकी थियो । उक्त समयको सदुपयोग गर्दै आफ्नो प्रोजेक्टलाई सोचवेयरको टिमले थप परिष्कृत परिमार्जन गर्दै गयो ।


अन्ततः २०१८ को जुलाइमा अमेरिका जाने समय पनि आयो । प्रतियोगितामा ३३ देशबाट ४९ टिमले प्रतिस्प्रर्धा गर्दै थिए । उक्त प्रतियोगितामा सोचवेयर विश्वभरकै एआई विजेता बन्न सफल भयो । मस्रुमेशनमा निराश सोचवेयरको तन्नेरी टिमको यही उपाधीबाट उत्साह भरियो । यसबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय पहिचान मात्र बनेको छैन, एउटा प्रयास अपुरो अपुरो हुँदैमा हार खानुपर्दैन भन्ने उदाहरण स्थापित गर्न समेत सफल भए ।

विकासकै क्रममा रहेको यो परियोजना प्रतिस्प्रर्धाकै समयदेखि प्लेस्टोरमा बेटा फेजमा उपलब्ध छ ।‘ई–एग्रोभेट’ नामक यो एपको औपचारिक सुरुवात हुन भने अझै बाँकी नै छ ।अहिलेको अवस्थामा एपले मकै, आलू र टमाटरको पातबाट रोग पत्ता लगाउने काम थालिसकेको छ । रोग पत्ता लगाउने मात्रै होइन, त्यसको उपचारका लागि सुझाउने काम समेत यसले गर्छ । नजिक पायक पर्ने स्थानमा रहेको एग्रोभेटको जानकारी पनि एपले नै दिन्छ । यसलाई थप सृदृढ र परिस्कृत गर्ने कार्यमा सोचवेयरको टिम लागिपरेको छ ।

एआईलाई वास्तविक रोगको कारण पत्ता लगाउन बिरुवाका हजारौँ फोटो आवश्यक पर्छ । जतिधेरै मात्रामा रोग लागेको बिरुवाको पातको फोटो विश्लेषण गर्न सकियो एपले त्यति नै वास्तविक कारण पहिचान गर्न सक्छ । मानौँ मकैमा कुनै रोग लागेको छ भने त्यसको पातको हजारौँ फोटोको तथ्याङ्क आवश्यक हुन्छ । यसैका आधारमा मेसिनले रोगको ‘प्याटर्न रिकग्निशन’ गर्छ । कुन रोग लागेको हो पत्ता लगाउँछ ।

तथ्याङ्क अभावमा हामीले चाहेर पनि प्रभावकारी रुपमा काम गर्न पाइरहेका छैनौँ


शिशिर श्रेष्ठ,
सहसंस्थापक, सोचवेयर

फोटो तथ्याङ्कको अभावमा एपलाई थप सुदृढ र परिस्कृत गर्न निकै नै चुनौतिपुर्ण रहेको शिशिर बताउँछन् । ‘हामी तथ्याङ्क खोज्दै नार्क (नेपाल कृषि अनुसन्धान परीषद) मा पनि पुगेका थियौँ,’ उनी भन्छन्, ‘उहाँहरुसँग लिखित जानकारी मात्रै छ । फोटोमा तथ्याङ्क पाउन सकिरहेका छैनौँ । यसले गर्दा हामीले चाहेर पनि प्रभावकारी रुपमा काम गर्न पाइरहेका छैनौँ ।’ तैपनि सोचवेयरका युवाहरु थाकेका भने छैनन् । उनीहरु तथ्याङ्कका अन्य विकल्पको खाजीमा छन् । विभिन्न कृषि क्याम्पसका विद्यार्थीहरुले अध्ययनका क्रममा खिचेका फोटोहरु जम्मा पारेर तथ्याङ्क पुर्ति गर्नेतर्फ उनीहरु लागिरहेका छन् ।

मकै, आलू, टमाटर, धान, गहुँ जस्ता मूख्य बालीहरुमा केन्द्रीत भएर चाँडै नै एपको औपचारिक थालनी गर्ने तयारी भइरहेको सोचवेयरकी अर्की सहसंस्थापक इडा बताउँछिन् । ‘यकीनरुपमा भन्न नसकेपनि अबको ६/७ महिनामा एपलाई औपचारिक रुपमा लञ्च गर्ने भन्ने योजनामा छौँ ,’ उनी भन्छिन् ।

अबको ६/७ महिनामा ई-एग्रोभेटलाई औपचारिक रुपमा लञ्च गर्ने भन्ने योजनामा छौँ


इडा रिजाल
सहसंस्थापक, सोचवेयर

नेपाल जस्तो मुलुकमा प्रविधिको विकास मात्रै होइन त्यसको प्रयोग बढाउनु पनि हर कोही डेभलपरका लागि चुनौतिको विषय हो । झन् किसानका लागि एप बनाएर मात्रै पुग्दैन, त्यसलाई कसरी चलाउने भनेर सिकाउनुपर्ने अर्को समस्या पनि छ ।

लगानीको अभाव धेरैजसो स्टार्टअपका लागि मूख्य समस्याको विषय हो । बैंकिङ ऋण पाउन समेत कठीन छ । माइक्रोसफ्टको इम्याजिन कप विजेता हुँदा सोचवेयरले १५ हजार अमेरिकी डलर पुरस्कार समेत प्राप्त गरेको थियो । सोचवेयरका तन्नेरीले पुरस्कारकै रकम लगानी गरेर कम्पनी स्थापना गरेका हुन् । हाल ई एग्रोभेटमा केन्द्रीत हुनुपरे पनि भविष्यमा मस्रुमेशनलाई समेत व्यवसायिक रुपमा अगाडि बढाउने योजना रहेको इडा बताउँछिन् ।

भर्खरकै तन्नेरी भए पनि उनीहरुलाई समयको उतारचढावको ख्याल राम्रै छ । त्यसैले धेर्यता नगुमाई कम्पनीलाई अगाडि बढाउन डटिरहेका छन् । माइक्रोसफ्टकै कार्यक्रमका दौरान चिनेजानेकाहरुले आडभरोसा र हौसला दिइरहेका छन् । दुई वर्ष अघि ३ जनाबाट सुरु भएको सोचवेयरले अहिले ७ जनालाई रोजगारी दिइरहेको छ ।

निकट भविष्यमा इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरुका लागि एआई र आइओटी ल्याब खोल्ने सोचवेयरका तन्नेरीको योजना पनि छ । आईटी तथा इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुले शैद्धान्तिक ज्ञान मात्रै सिकिरहेका हुन्छन् । प्रयोगात्मक सिकाई भने दुर्लभ जस्तै छ । इन्जिनियरिङ पासआउट भएका धेरैजसो विद्यार्थीलाई पनि सामान्य सेन्सरको विषयमा प्रयोगात्मक ज्ञान नहुने यथार्थता सोचवेयरका तन्नेरीले राम्रैसँग देखे/बुझेकै छन् । यस्तै किसिमका विद्यार्थीलाई आइओटी र एआईको विषयमा प्रयोगात्मक ज्ञान सिकाउने र मुलुकका लागि आवश्यक जनशक्ति तयार पार्ने उनीहरुको सपना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३