close

‘कर्मचारीको झुटो कुराको पछि लागेर मन्त्रीले मलाई टेलिकमबाट निकाले’

गोपाल साउद गोपाल साउद

असोज ९, २०७६ १०:३३

‘कर्मचारीको झुटो कुराको पछि लागेर मन्त्रीले मलाई टेलिकमबाट निकाले’

कोलम्बो प्लान अन्तरगत सरकारी कोटामा चण्डिगढ भारतबाट इलेक्ट्रोनिक्स एण्ड इन्जिनियरिङ पुरा गरेकी कामिनी राजभण्डारीले २०४२ सालमा नेपाल टेलिकम प्रवेश गरिन् । थोरैले मात्र इन्जिनियरिङ विषय पढ्ने त्यसताका जनजाती महिला इन्जिनियर झन् बिरलै हुन्थ्यो । ३० जनाका लागि दरखास्त आव्हान भएकोमा ७ जनाभीत्र पर्दै टेलिकमको जागिर सुरु गरेकी उनी प्रबन्ध निर्देशक बन्नु अघिसम्म आफ्नो जिम्मेवारी कुशलतापुर्वक निभाउने सफल इन्जिनियरमा पर्थिन् ।


सायद त्यसैले होला हरेक तहमा उनले स्तरबृद्धिका लागि लामो समय कुर्नुपरेन । जागिर सुरु गरेको सातौँ वर्षमा आठौँ तहमा बढुवा भएकी उनी त्यसपछिको चार वर्षमा नवौँ तहमा पुगिन् । त्यसपछिको पाँच वर्षमा दशौँ तह हुँदै एघारौँ तहमा पुगेकी उनी नेपाल टेलिकमको प्रमुख कार्यकारीको हैसियतमा प्रबन्ध निर्देशक नै बनिन्स ।


पहिलो महिला प्रबन्धनिर्देशक कामिनी नेतृत्व तहमा पुग्नुमा विगतमा आफूले कम्पनीमा सफलतापुर्वक निभाएको जिम्मेवारीलाई मूख्य आधारको रुपमा उल्लेख गर्न चाहन्छिन् । कसैैलाई भनसुन गराएर कहिल्यै प्रमोशन नलिएको उनी बताउँछिन् । ‘म आफ्नै क्षमताले माथिल्लो तहमा पुगेकी हुँ,’ उनी भन्छिन् ।
टेलिकममा छँदा कम्पनीका महत्वपुर्ण योजनाहरुमा कामिनी प्रत्यक्ष रुपमै संलग्न भइन् । परियोजना, मर्मत हुँदै ७ वर्षसम्म कम्पनीको योजना शाखामा विताएकी उनी प्रबन्ध निर्देशक हुनुपुर्व प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारीमा थिइन् ।


ल्याण्डलाइन प्रविधिलाई डिजिटलमा रुपान्तरण गर्ने कार्यमा उनको महत्वपुर्ण भुमिका रह्यो । तत्कालीन समयमा कम्पनीका ७ लाख टेलिफोन लाइनहरुलाई पुर्ण रुपमा डिजिटलबाट आईपीमा ‘लिपफ्रग’ गर्नुपर्ने थियो । कामिनी योजना शाखाको प्रमुख हुँदा नेपालमा पहिलो पटक आईपी प्रविधिमा नेक्ट जेनेरेशन नेटवर्क–एनजीएन प्रविधि भित्रिएको थियो । ‘मलाई त्यो योजना कार्यान्वयमा ल्याउन झन्डै २ वर्ष लागेको थियो,’ उनी सम्झिन्छिन्, ‘त्यतिखेर योजनामा भएका हामी चार पाँच जनाको एउटै आवाज थियो । बाँकी अरु भने कठीन कार्य भएकाले सम्भव नभएको भन्दै रोक्न खोजिरहेका थिए । तर, हामीले त्यतातर्फ नजाने हो भने भोलीको दिनमा टेलिकम समस्यामा पर्छ भनेर अडान लिएकैले अन्ततः सम्भव भएको थियो ।’


१० वर्ष अघि फाइबर टु होम प्रविधि नेपाल भित्र्याउँने योजन पनि शाखा प्रमुखको रुपमा उनले नै बनाएकी थिइन् । टेलिकमका यस्ता महत्वपुर्ण योजनाहरुमा कामिनीको उल्लेखनीय भुमिका रह्यो । अहिले नेपाल टेलिकमले त्यही एफटीटीएच प्रविधिको इन्टरनेट उच्च प्राथमिकताका साथ विस्तार गरिरहेको छ ।
हुन त कामिनीकै प्राविधिक नेतृत्वमा टेलिकमले नेपालमा फोरजी भित्र्याउन पाँच वर्ष अघि नै एउटा भिजन बनाएको थियो । संयोगवश उनी आफै कम्पनीको प्रबन्ध निर्देशक हुँदा दुई वर्ष अघि नेपालमै पहिलो पटक फोरजी सुरुवात गर्ने मौका पनि पाइन् ।


कम्पनीको प्रबन्ध निर्देशक हुँदा कर्मचारीको कार्यशैली फेर्न समेत उनी शक्रीय भएर लागेकी थिइन् । प्रतिस्प्रर्धी कम्पनीसँग मिलेर कम्पनीको सेवालाई प्रभावित पार्ने प्रबृत्ति टेलिकममा आफूले देखेको उनको भनाई छ । ‘त्यसलाई कम गर्न पनि मैले निकै प्रयास गरेकी थिएँ,’ उनी भन्छिन्, ‘अन्य प्रतिस्प्रर्धी कम्पनी र भेण्डरसँग नजिक रहने र प्रभावित हुने कर्मचारीको पहिचान गर्न थालिसकेका थियौँ । सम्झाई बुझाई गर्दा नमानेको अवस्थामा औपचारिक पत्र नै काट्ने सम्मको चेतावनी दिने मात्रै होइन केहीलाई स्पष्टिकरण नै सोध्ने काम पनि भएको थियो । तिनै मध्येका केही कर्मचारीले मलाई पछिअप्ठ्यारोमा पार्ने काम गरेका थिए ।’

इन्जिनियरको रुपमा टेलिकममा सफल कामिनी प्रबन्ध निर्देशकको रुपमा कम्पनीको नेतृत्वमा पुगेपछि भने विवादित बनिन् । ग्रामीण दूरसञ्चार विकास कोषको अप्टिकल फाइबर परियोजनामा ढिलाई देखि फोरजी परियोजनामा अनियमितता गरेको सम्मका आरोप उनलाई लागे ।

नेपाल टेलिकममा खुल्ला प्रतिस्प्रर्धाबाट प्रबन्ध निर्देशक बनेकी उनलाई पदीय जिम्मेवारी पुरा गर्न नसकेको भन्दै सरकारले स्पष्टिकरण सोध्यो । जवाफमा तालुकदार मन्त्री गोकूल बास्कोटालाई ६० पानाको जवाफ बझुाईन् ।


आफूले कुनै पनि कुरा नलुकाई कम्पनीको अवस्था जस्ताको त्यस्तै मन्त्रिलाई जानकारी गराएको र त्यसमा कुनै ढाँटछल नगरेको कामिनीले स्पष्ट पारिन् । उनीमाथि फोरजी परियोजनामाथिको ढिलाई गरेको, मध्यपहाडी लोकमार्गको अप्टिकल फाइबर विस्तार परियोजनाको टेण्डर समयमै गर्न नसकेको, दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्न नसकेको लगायतका आरोपहरु थिए ।


आफूलाई अपमानित किसिमबाट कम्पनीबाट बर्खास्त गरिएको र आफू निर्दोश रहेको उनको गुनासो र दाबी दुबै अझै कायम छ । ‘बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म अफिसकै काममा हुन्थेँ । २ वर्षमा बढीमा दुई दिन मात्रै विदा बसेर कम्पनीका लागि काम गरेँ । कम्पनीका लागि केही गरुँ भन्ने उद्देश्यले म लागिरहेकी थिएँ।,’ उनी भन्छिन्, ‘काम गर्दागर्दै स्पष्टिकरण सोधिए पनि मैले सकारात्मक रुपमा नै त्यसको जवाफ दिएकी थिएँ ।’


पहिलो स्पष्टिकरणपछि २ महिनामा थप प्रगति सहित जवाफ दिन कामिनीलाई भनिएको थियो । तर, तर पछिल्लो स्पष्टिकरणकै चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई ३ वर्षे कार्यकालमा १ वर्ष बाँकी छँदाकै अवस्थामा बर्खास्त गर्‍यो । कम्पनी भित्रैबाट भएको षड्यन्त्रका कारण आफू बर्खास्तीमा परेको ठहर उनले गरेकी छिन् । ‘मलाई कम्पनीकै उपप्रबन्धक, केही पूर्वप्रबन्ध निर्देशकहरुले दुई वर्षसम्म घेराबन्दीमा पारे,’ कामिनी भन्छिन्, ‘मलाई प्रबन्धनिर्देशक बाट हटाएर आफू त्यो पदमा पुग्ने उहाँहरुको लक्ष थियो ।’

‘यो सबै शक्ति र राजनीतिको खेल हो । मैले शक्तिको प्रयोग गर्न नसकेकै कारणले मैले न्याय पाइनँ ।’


आफ्ना बिरुद्ध फेसबुकमा जथाभावी लख्ने, मिडियाबाजी गर्ने, अनेकथरी लेख्नलगाएर घरमै पत्रिका फाल्न लगाउने सम्मका गतिविधिले हैरानी खेप्नुपरेको त्यसताकाको उनको अनुभव छ । ‘कालो सर्पको बिचमा मैले कम्पनी चलाउनुपर्‍यो । कालो नाग भन्नुपर्छ उहाँहरुलाई त’ आक्रोशित मुद्रामा देखिएकी उनले भनिन्, ‘कुनै दिन म तिनीहरुको नाम पनि भन्न सक्छु । म कसैको चाकडी गरेर, कसैको खुट्टा ढोगेर कम्पनीमा आएकी होइन ।’


मन्त्रीलाई नचाहिने कुरा लगाइदिएर आफ्नै बदाम गरेको र त्यसै आधारमा मन्त्रिले बर्खास्तको निर्णय गराएको कामिनीको आरोप छ । ‘आफूले गरेको नराम्रो काममा समेत मेरो नाम जोडेर माथिसम्म पुर्‍याएर राजनीति गरे,’ उनी प्रश्न गर्छिन्, ‘यदी मैले फोरजीमा नराम्रो गरेको भए आज उहाँहरुले त्यसलाई किन अगाडि बढाउनुभयो ? यसैबाट थाहा हुन्छ, त्यसमा मेरो कुनै कमजोरी थिएन ।’

अदालत जाँदा समेत आफूले न्याय नपाएको उनको गुनासो छ । भन्छिन्, ‘यो सबै शक्ति र राजनीतिको खेल हो । मैले शक्तिको प्रयोग गर्न नसकेकै कारणले मैले न्याय पाइनँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३