close

टेलिकमको भ्वाइस कल अब एचडीमा

टेकपाना टेकपाना

असोज १३, २०७६ १५:५७

टेलिकमको भ्वाइस कल अब एचडीमा

नेपाल टेलिकमले बुधबारदेखि देशभरका दुई दर्जन बढी सहरबाट एक साथ फोरजी सेवा सुरु गर्दैछ । फोरजी सेवा सुरु गरे लगत्तै कम्पनीले एचडी भ्वाइस कलको समेत सुविधा (भ्वाइस ओभर एलटीई-भीओएलटीई) दिने भएको हो ।

टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार फाेरजी सेवा सुरु भएकाे एक महिनासम्ममा भीओएलटीई सेवा सुरु गर्ने कम्पनीको तयारी छ । “अहिले फोरजीसँगै भीओएलटीको समेत परीक्षणको काम भइरहेको छ,” उनले भने, “बुधबारदेखि फोरजी सुरु हुने सहरमा तिहार लगत्तैदेखि भीओएलटीई सुविधा समेत दिने योजनाका साथ काम भइरहेकाे छ ।”

भाइबर, ह्वाट्सएप, म्यासेन्जर लगायतका ओटीटी सेवाहरुले इन्टरनेटमा आधारित भ्वाइस तथा भिडियो सेवा दिइरहेका छन् । त्यस्ता सेवाले गुम्दै गएको कम्पनीको आम्दानी भीओएलटीईले भरथेग समेत गर्ने कम्पनीको विश्वास छ ।

अहिलेको डाटा चलाउँदा मात्रै डिभाइस इन्टरनेटमा कनेक्ट हुन्छ । तर, अबको टेलिकमको फोरजीमा भने रहबखत मोबाइल डिभाइस इन्टरनेटमा कनेक्ट भइरहनेछ । तर, फोरजीमा आधारित भिओएलटीई प्रविधिमा भने निश्चित गुणस्तर (क्रिस्टल क्लियर) नभएसम्म कल नै गर्न सकिँदैन ।

विगत दुई वर्षदेखि काठमाण्डौं र पोखरामा चलिरहेकाे टेलिकमको फोरजीमा डाटा मात्रै चल्नेगरेकाे छ भने भ्वाइस कलका लागि थ्रीजीमै फलब्याक हुनेगर्छ । तर अब भिओएलटीईमा भने भ्वाइस कल समेत फोरजीमै चल्नेछ । यसको मतलव अब भ्वाइस कल समेत फोरजी इन्टरनेटमै हुनेछ । भिओएलटीईमा हालको थ्रीजीको तुलनामा गुणात्मक रुपमा नै उच्च गुणस्तरमा अर्थात प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।

अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भिओएलटीइमा त्यो भन्दा निकै सस्तोमा सेवा उपभोग गर्न सकिने बताइएको छ । यद्यपी भीओएलटीईको ट्यारिफ भने तय हुन बाँकी नै रहेकाे सहप्रवक्ता भण्डारीले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३