close

बुधबारदेखि ३२ जिल्लामा टेलिकमको फोरजी सुरु हुँदै, डेढ जीबीसम्म डाटा बोनस

टेकपाना टेकपाना

असोज १४, २०७६ २०:४९

बुधबारदेखि ३२ जिल्लामा टेलिकमको फोरजी सुरु हुँदै, डेढ जीबीसम्म डाटा बोनस

फोरजी–एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको नेपाल टेलिकमले बुधबारदेखि सेवाको औपचारिक सुरुवात गर्ने भएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत औपचारिक शुरुवात गर्ने कार्यक्रम तय गरिएको छ ।

हाल यो सेवा सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको कम्पनीले जनाएको छ । फोरजी सेवाको सुरुवातसँगै उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने बताइको छ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा टेलिकमले गरेको छ ।

कम्पनीका अनुसार विस्तारित फोरजी तथा एलटीई सेवा एलटीई एड्भान्स प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ । हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी–एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुनेछ ।

नेपाल टेलिकमले १७ पुस २०७३ मा नेपालमै पहिलो पटक काठमाडौं र पोखराबाट फोरजी÷एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २० माघ २०७५ मा तीन वटा सम्झौता गरेको थियो । जसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले ठेक्का पाएका थिए ।

कम्पनीले आगामी माघसम्ममा देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । सोही लक्षअनुसार नै तदारुकताका साथ सेवा पुर्वाधार विस्तार भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ ।

फोरजी सुरुवातको अवसरमा डेढ जीबीसम्म डाटा

कम्पनीले सातै प्रदेशमा फोरजी÷एलटीई सेवाको सुरुवातको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज समेत प्रदान गर्ने निर्णय गरेको छ । जसअनुसार यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिनेछ ।

यसअघि जम्मा २५ रुपैयाँमा दुई सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा दुई सय एमबी थप गरी जम्मा चार सय एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ ।

यसैगरी एक सय रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको पाँच सय एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप पाँच सय एमबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग सात दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने दुई सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्ताले सोही मूल्यमा ३ जिबी डाटा पाउनेछन् । यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३