close

टेलिकमको फोरजीको स्पिड २४७ एमबीपीएस !

गोपाल साउद गोपाल साउद

असोज १५, २०७६ १२:३६

टेलिकमको फोरजीको स्पिड २४७ एमबीपीएस !

नेपाल टेलिकमले आजदेखि सुरु गर्ने फोरजी नेपालकै तीब्र गतिको फोरजी इन्टरनेट हुने भएको छ । परीक्षणका क्रममा टेलिकमको फोरजी इन्टरनेटको अधिकतम गति २४७ एमबीपीएससम्म देखिएको हो ।

क्यारियर एग्रिगेशनका क्रममा परीक्षण गर्दा उक्त आइडिइल स्पिड देखिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘यो एउटा साइटमा एउटा ह्याण्डसेट चलाउँदाकाे अवस्थामा देखिएको स्पिड हो,’ उनले भने, ‘सञ्चालनका क्रममा प्रयोगकर्ताले भने एक सय एमबीपीएस देखि एक सय ३० एमबीपीएस सम्मको गतिमा मोबाइल इन्टरनेट चलाउन सक्नेछन् ।

हाल एनसेलको फोरजीको गति अधिकतम ४० एमबीपीएस र स्मार्ट टेलिकमको फोरजीको अधिकतम गति ७५ एमबीपीएस मात्र छ ।

भर्खरै विस्तार भएको फोरजी नेटवर्कको अप्टिमाइजेशनमा टेलिकमको प्राविधक टिम निरन्तर खटिएको छ । सोमबार २४५ एमबीपीएस अधिकतम गति रहेको नेटवर्कमा मंगलबार थप दुई एमबीपीएस बढेको टेलिकम सहप्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सातै प्रदेशका मूख्यमन्त्रीलाई भिडियो कल गरेर टेलिकमको फोरजीको उद्घाटन गर्दैछन् । यससँगै ३२ जिल्लाका ५० भन्दा बढी शहरमा टलिकमको फोरजी सुरु हुनेछ ।

नेपाल टेलिकमले १७ पुस २०७३ मा नेपालमै पहिलो पटक काठमाडौं र पोखराबाट फोरजी सेवाको शुरुवात गरेको थियो । काठमाडौं र पोखरामा हाल टेलिकमको फोरजीको स्पिड अधिकतम ३५ एमबीपीएस रहेको छ ।

सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २० माघ २०७५ मा कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईसँग कम्पनीले सम्झौता गरेको थियो ।

कम्पनीले आगामी माघसम्ममा देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ तीब्रताका साथ काम काम भइरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३