close

कम्पनीको नाफा बढाउला त टेलिकमको फोरजीले ?

रन्जन कोइराला रन्जन कोइराला

असोज १६, २०७६ ११:१६

कम्पनीको नाफा बढाउला त टेलिकमको फोरजीले ?

नेपाल टेलिकमले आउँदो माघ मसान्तसम्म देशभर सेवा विस्तार गर्ने उद्देश्यका साथ हिजोदेखि ३२ जिल्लाका प्रमुख शहरमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं र पोखरामा सिमित टेलिकमको फोरजी सेवा ३२ जिल्लाका ५९ सहरमा पुगेको छ ।

फोरजी सेवा उपलब्ध भएसँगै उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा गरिएको छ ।

भ्वाइसको आम्दानी रुपैंयामा हुन्छ भने डेटाको आम्दानी पैसामा हुन्छ । त्यसैले रुपैंयामा भइरहेको आम्दानी पैसाबाट परिपुर्ती गर्न समय लाग्नसक्छ । जति फोरजीका ग्राहक बढ्दै जान्छन त्यतिनै डेटाको खपत बढ्दै जाने हो र त्यसबाट हुने आम्दानी पनि बढ्दै जाने हो ।

नवीनतम प्रविध र गुणस्तरीय सेवा प्रवाहमा मात्रै नभएर फोरजीले टेलिकमको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्न सक्छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य भन्छिन, ‘पछिल्लो समय टेलिकमले भ्वाइसमार्फत हुने आम्दानी ठुलोमात्रामा गुमाई रहेको छ । जुन रुपमा टेलिकमले हाल भ्वाईसमा आम्दानी गुमाइ रहेको छ त्यसको दाँजोमा भने फोरजीमार्फत आम्दानी गर्न समय लाग्नसक्छ ।’

फोरजी विस्तार टेलिकमका लागि सबैभन्दा ठुलो आम्दानीको श्रोत सावित हुने उनी बताउँछिन् । वैद्यका अनुसार भ्वाइसको आम्दानी रुपैंयामा हुन्छ भने डेटाको आम्दानी पैसामा हुन्छ । त्यसैले रुपैंयामा भइरहेको आम्दानी पैसाबाट परिपुर्ती गर्न समय लाग्नसक्छ । जति फोरजीका ग्राहक बढ्दै जान्छन त्यतिनै डेटाको खपत बढ्दै जाने र त्यसबाट हुने आम्दानी पनि बढ्दै जान्छ । त्यसैले आम्दानीका लागि पहुँचसँगै प्रयोग पनि आवश्यक हुने वैद्यको भनाई छ ।

गएको आर्थिक वर्षा २०७५/७६ मा टेलिकमले १५ अर्ब २५ करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो । टेलिकमको उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४८.६१ प्रतिशतले कम हो । टेलिकमको वित्तीय प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब ७ अर्ब २७ करोड रुपैयाँले घटेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा कुल २१ अर्ब ९२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसरी सरकारी स्वामित्वमा रहेको टेलिकमले गत आर्थिक वर्षमा १० अर्ब २० करोड खुद नाफा कमाएको देखिन्छ । जुन अघिल्लो वर्ष कम्पनीको नाफा भन्दा कम हो । अघिल्लो वर्ष कम्पनीको खुद नाफा १७ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यसरी टेलिकमको आम्दानी घट्नुमा भ्वाइस कलको प्रयोगमा आएको कमीलाई मूख्य कारणको रुपमा लिईएको छ ।

मुलुकमा इन्टरनेटकाे प्रयोग बढेसँगै भ्वाइसका ग्राहक भाइबर, म्यासेन्जर, ह्वाट्सएप, इमो लगायतका ओटीटी सेवाप्रदायकतर्फ आकर्षित भएका छन् । इन्टरनेटमा यी सेवा निशूल्क प्रयोग गर्न सकिने भएपछि दूरसञ्चार कम्पनीहरु भ्वाइसकल तर्फको ठूलो आम्दानीको श्रोत गुमाउन पुगेका छन् । त्यसो त यो नेपाल टेलिकमको मात्रै चुनौतिको विषय नभएर विश्वव्यापी रुपमा रहेका दूरसञ्चार सेवाप्रदायककै टाउको दुखाइको विषय हो । भ्वाइस तर्फको आम्दानीमा ठूलो गिरावट आएपछि दूरसञ्चार कम्पनीहरु फोरजी तथा फाइभजी जस्ता तीब्र गतिको वायरलेस इन्टरनेटबाट त्यसको परिपुर्ति गर्न सकिने विकल्पमा जुटेका छन् ।

प्रवक्ता वैद्य पनि ओटीटी सेवाको प्रयोग बढेकै कारण नाफामा कमी आएको बताउँछिन् । ‘ओटीटीले टेलिकमको कुल आम्दानीको २० प्रतिशतसम्म प्रभाव पारेको छ,’ उनी भन्छिन्, ‘यस्तो प्रभाव नेपालमा मात्रै नभएर विश्व दूरसञ्चार क्षेत्रमै परिरहेको छ ।’ दूरसञ्चारको विश्व बजारमा ओटीटी सेवाहरुले ३० प्रतिशतभन्दा बढी आम्दानी गुमेको बताइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३