close

प्रदेश १ मा इन्टरनेट विस्तार गर्न ४७ करोडको ठेक्का

टेकपाना टेकपाना

असोज १७, २०७६ ८:२०

प्रदेश १ मा इन्टरनेट विस्तार गर्न ४७ करोडको ठेक्का


नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश १ मा ब्रोडब्याण्ड इन्टरनेट विस्तारका लागि एक इन्टरनेट सेवा प्रदायक कम्पनीसँग सम्झौता गर्ने भएको छ । ४६ करोड ९९ लाख ८२ हजार रुपैयाँमा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा इन्टरनेट विस्तारका लागि टेकमाइन्डस् नेटवर्क प्रालीलाई प्राधिकरणले बुधबार सम्झौताका लागि बोलाएको हो ।

नियमित रुपमा प्रक्रिया अगाडि बढेको खण्डमा अबको तीन साताभीत्रमा कम्पनीसँग सम्झौता सम्पन्न भइसक्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । कार्यक्रम अनुसार ती जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, स्वास्थ्यकेन्द्र तथा स्वास्थ्यचौकीहरु र माद्यमिक तथा उच्च माद्यमिक सार्वजनिक शैक्षिक संस्थाहरुमा उच्च गतिको इन्टरनेट पुर्‍याउनुपर्नेछ ।

प्राधिकरणको योजनाअनुसार प्रदेश १ का पाँच जिल्लामा अप्टिकल फाइबर प्रविधिमार्फत तीब्र गतिको इन्टरनेट पुर्‍याइनेछ । गत ३० जेठमा प्रकाशित टेण्डरका आधारमा १२ साउनसम्म प्राप्त बोलपत्र निवेदनमध्ये न्यून रकम अनुदान माग गर्ने चितवनको टेकमाइन्ड्सलाई प्राधिकरणले परियोजनाका लागि छनौट गरिएको प्राधिकरणले जनाएको छ । कम्पनीले सम्झौताको एक वर्षमा प्रदेश १ का पाँच जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार सक्नुपर्नेछ ।

प्राधिकरणले आफू मातहतको ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट देशभर ब्रोडब्याण्ड विस्तारका विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको वार्षिक कूल आम्दानीको २ प्रतिशत रकमबाट उक्त कोषको स्थापना गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३