close

यस्तो छ नेपालमै हजारौँ एआई इन्जिनियर तयार पार्ने समीर मास्केको योजना

टेकपाना टेकपाना

असोज २७, २०७६ ८:०

यस्तो छ नेपालमै हजारौँ एआई इन्जिनियर तयार पार्ने समीर मास्केको योजना

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वौद्धिकताको क्षेत्रका अनुसन्धानकर्ता वैज्ञानिक समीर मास्केले नेपालमै हजारौँ एआई इन्जिनियर तयार पार्ने योजना सार्वजनिक गरेका छन् । एआईमा दक्ष तथा विश्वस्तरीय प्रतिभा तयार पार्न मास्केले ‘एआई शिक्षा फर नेपाल’ अर्थात नेपालका लागि कृतिम बौद्धिकता सम्बन्धि शिक्षा अभियान (क्याम्पेन) नै थालेका छन् ।

एआई शिक्षासँगै शीप समेत सिकाएर प्रतिभाहरु तयार पार्ने उनको योजना छ । क्याम्पेनअन्तरगत नेपालभर हरेक प्रदेशमा एआई सेन्टरहरु स्थापना गरिनेछ । जसमा एआई पढाउने उपयुक्त किसिमको वातावरण सहित राम्रो सिकाई अनुभव दिन सक्ने शैक्षिक संस्थासँग एआई सेन्टर स्थापनमा सहकार्य गर्ने उनको योजना छ ।

कतिपय स्थानमा अमेरिकामा स्थापना भएको मास्केकै कम्पनी फ्यूज मेसिनले नै त्यस्ता एआई सेन्टरहरु खोल्दैछ भने केही स्थानका लागि साझेदारीको अवधारणा तयार पारिएको छ । जसअनुसार एआई पढाउन इच्छुक कलेज, इन्जिनियरिङ संस्थान र विश्वविद्यालयहरुले फ्युज मेसिनसँग सहकार्यका लागि हातेमालो गर्न सक्नेछन् ।

क्याम्पेनअन्तरगत गुणस्तरीय एआई शिक्षा प्रदान गर्नका लागि फ्युज मेसिनले आवश्यक सामग्री, भिडियो, मूल्याङ्कन पद्दती तथा उपकरण, डिस्कसन फोरम, सफ्टवेयर सहितको छुट्टै प्रारुप नै तयार पारेको छ ।
यसरी स्थापना हुने एआई सेन्टरहरुमा सफ्टवेयरकै सहायताबाट विद्यार्थीहरुलाई पढाइनेछ ।

‘अबको चार पाँच वर्षमा हजारौँ विद्यार्थीहरुले नेपालमै विश्वस्तरीय उच्च गुणस्तरको एआई शिक्षा पढ्न पाउन् भन्ने हाम्रो प्रयत्न हो,’ डा. मास्केले भने, ‘यो निकै ठूलो अभियान हो । एउटा कम्पनीले मात्रै यसलाई सफल बनाउन सक्दैन । त्यसैले हामीले थुप्रै साझेदारहरु र सरकारको साथ खोजिरहेका छौँ ।’

अभियानबाट दशौँ हजार एआई इन्जिनियर तयार पार्न सकिने साेँच मास्केकाे छ । यसबाट नेपाललाई विश्वमै एआई प्रतिभाकाे थलोकाे रुपमा चिनाउने उनको धाेकाे समेत छ ।

आफ्नो अभियानमा सरकारले समेत साथ दिनेमा मास्के विश्वस्त छन् । ‘हाम्रो यो क्याम्पेनमा सरकारी तवरबाट पनि रुची देखाइएको छ,’ उनले भने, ‘हामीले मूख्यतः सरकारबाट संकलित तथ्याङ्कमा विद्यार्थीको पहुँच कायम गराउने सवालमा साथ खोजेका हौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३