close

साढे ३ अर्बको आईटी ल्याब परियोजनामा मन्त्री बाँस्कोटाको ‘आफ्नै हात जगन्नाथ’

गोपाल साउद गोपाल साउद

असोज ३०, २०७६ ७:२६

साढे ३ अर्बको आईटी ल्याब परियोजनामा मन्त्री बाँस्कोटाको ‘आफ्नै हात जगन्नाथ’

कार्यविधि लत्याउँदै ल्याब जति आफ्नै निर्वाचन क्षेत्रमा


नेपाल दूरसञ्चार प्राधिकरणले आफैले तयार पारेको कार्यविधि लत्याउँदै अधिकांश आईटी ल्याब (सूचना प्रविधि प्रयोगशाला) मन्त्रीकै जिल्ला तथा निर्वाचन क्षेत्रका विद्यालयमा पारिएको छ । मनपरी ढङ्गले राज्यकोषको साढे तीन अर्ब रुपैयाँ दोहन गर्ने गरी अगाडि बढाइएको परियोजनाका अधिकांश ल्याब सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको गृह जिल्ला काभ्रेमा ओइर्‍याइएको हो ।

कार्यविधिअनुसार आईटी ल्याबका लागि काभ्रेमा अधिकतम ८ विद्यालय मात्रै छनौट हुने देखिन्छ । तर, प्राधिकरणले भने आफ्नै कार्यविधि विपरीत तालुकदार मन्त्री बास्कोटाको जिल्लाका ९७ ओटा विद्यालय छनौट गरेको छ। सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने उद्देश्य प्राप्तिका लागि भन्दै प्राधिकरणले गत मंसिरमा मन्त्री बाँस्कोटाकै इच्छाअनुसार ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५’ जारी गरेको थियो ।

प्राधिकरणको वार्षिक कार्यक्रम र बजेट कार्यान्वयन गर्ने नाममा मन्त्री बाँस्कोटाले उक्त कार्यविधि बनाउन लगाएका थिए । सोही कार्यविधिलाई नै आधार बनाएर डेढ अर्बमै सम्पन्न हुने आईटी ल्याब परियोजनका लागि प्राधिकरणको कोषबाट अप्रत्याशित रुपमा ३ अर्ब ६० करोड रुपैयाँको लागत अनुमान तयार पारिएको थियो । ९३० सामुदायिक विद्यालयमा २३ हजार कम्प्युटर सहितको आईटी ल्याबहरु राख्न म्याक्स इन्टरनेशनल जेभीसँग करीब साढे तीन अर्ब रुपैयाँमा भएको परियोजनाको ठेक्का सम्झौता नै मिलेमतोमा भएको खुलासा टेकपानाले यसअघि नै गरिसकेको छ । । ( टेकपानाले गरेको उक्त खोजमुलक समाचारका लागि यहाँ क्लिक गर्नुहोस्) ।

आफ्नो योजना प्राधिकरणको वार्षिक कार्यक्रममा घुसाउन लगाएर मन्त्री बाँस्कोटाले उक्त कार्यविधि बनाउन लगाएका थिए । सोही कार्यविधिलाई नै आधार बनाएर डेढ अर्बमै सम्पन्न हुने आईटी ल्याब परियोजनाका लागि प्राधिकरणको कोषबाट अप्रत्याशित रुपमा ३ अर्ब ६० करोड रुपैयाँको लागत अनुमान तयार पारिएको थियो ।

६० लाखभन्दा बढीको मालसामान खरिदमा अनिवार्य रुपमा विद्युतीय खरिद अर्थात ‘ई–बिड’ गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि प्राधिकरणले उक्त सार्वजनिक खरिद प्रक्रया समेत मिचेर बोलपत्र आव्हान गरेको खुलासा समेत टेकपानाले यस अघि नै गरिसकेकाे छ । (उक्त समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् )

प्राधिकरणले तयार पारेको कार्यविधिको परिच्छेद ३ मा सूचना प्रविधि प्रयोगशालाका लागि विद्यालय छनौट सम्बन्धि छुट्टै व्यवस्था गरिएको छ । सोही परिच्छेद अन्तरगत दफा ९ को उपदफा ‘झ’मा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्लाहरु तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी र सुनसरीलाई प्राथमिकतामा राख्दै ती जिल्लामा प्रति निर्वाचन क्षेत्र (प्रतिनिधिसभा) ६ वटा र अन्य जिल्लाहरुको हकमा प्रति निर्वाचन क्षेत्र ४ वटाका दरले सामुदायिक विद्यालयहरु छनौट गर्नुपर्ने उल्लेख छ ।

कार्यविधि अनुसार दुई ओटा निर्वाचन क्षेत्र रहेको सञ्चारमन्त्री बाँस्कोटाको जिल्लामा आठ ओटा आईटी ल्याब राख्नका लागि विद्यालयहरु छनौट हुनुपर्ने हो । तर, पहिलो प्राथमिकतामा राखिएका जिल्लाको कोटा समेत कटौती गर्दै कार्यविधिले दोश्रो प्राथमिकतामा पारेको काभ्रेमा मापदण्डभन्दा करीब १२ गुणा बढी विद्यालयहरु छनौट गरिएको छ ।

परियोजना अन्तर्गत प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा १० देखि २४ ओटासम्म कम्प्युटर, दुई हार्ड डिस्क, प्रोजेक्टर, मल्टिफङ्सनल प्रिन्टर, साउन्ड सिस्टम, यूपीएस, चार थान ब्याट्री र नेटवर्किङ तथा इन्टरनेट सहितको आईटी ल्याब स्थापना गर्न लागिएको छ । यसका लागि दूरसञ्चार प्राधिकरणले ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान सहित २ जेठ २०७५ मा टेन्डर आह्वान गरेको थियो । 

कार्यविधि र मन्त्रालयको सिफारिसकै आधारमा आईटी ल्याब स्थापनाका लागि विद्यालयको छनौट गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको दाबी छ । ‘सुरुमा ७९२ विद्यालयमा आईटी ल्याब स्थापना गर्ने योजना थियो,’ उनले भने, ‘पछि आएर मन्त्रालयको नीतिगत निर्णयबाट २ सय ८ विद्यालय थप गर्दै एक हजार विद्यालयमा आईटी ल्याब स्थापना गर्ने गरी परियोजना अगाडि बढाइएको छ । त्यसैले पनि कार्यविधिले निर्धारण गरेको संख्या भन्दा बढी विद्यालयहरु आईटी ल्याबका लागि छानिएका हुनसक्छन्।’

तर, अर्यालको दाबीलाई विश्वास गर्ने आधार भने छैन । थप स्थापना गर्ने भनिएका दुई सय आठ आईटी ल्याब ७७ जिल्लामा विभाजन गर्दा एउटा जिल्लालाई दामासाही हिसावले बढीमा ३ ओटा मात्रै थपिनुपर्ने हो । यस्तो अवस्थामा काभ्रे जिल्लामा थप हुँदाकाे अवस्थामा समेत ११ ओटा आईटी ल्याब मात्र बनाउन सकिने देखिन्छ ।

त्यसाे त प्राधिकरणले ९३० बाहेक थप हुने भनिएका आईटी ल्याबको विषयमा आधिकारिक रुपमा कुनै सूचना समेत सार्वजनिक गरेकाे छैन । न त अर्को टेन्डर प्रक्रिया नै सुरु भएको छ । ‘आफ्नै हात जगन्नाथ’को शैलीमा आफ्नो गाउँपालिकामै १२ ओटा आईटी ल्याब राख्न लगाएका गोकूल बाँस्कोटाले डोल्पामा न्युनतम आईटी ल्याब राख्नेतर्फ समेत ध्यान दिएका छैनन् । कार्यविधिअनुसार एक निर्वाचन क्षेत्र रहेको डोल्पामा न्युनतम ६ ओटा सामुदायिक विद्यालय आईटी ल्याबका लागि छानिनुपर्नेमा जम्मा चार ओटाको नाम मात्र सूचीमा समावेश गरिएको छ ।

गत २१ चैतमा सात सय ९२ विद्यालय छनौट गरी सूची प्रकाशन गरेको प्राधिकरणले २५ भदौमा एक सय २३ विद्यालय थप गरिएको जानकारी सार्वजनिक गरेको थियो । पहिलो पटकको सूचीमा मन्त्री बाँस्कोटाको जिल्ला काभ्रेमा आठ विद्यालय छनौट गरिसकेको प्राधिकरणले दोश्रो पटकको सूचीमा काभ्रेकै थप ८९ विद्यालय छानेको हो ।

जसमा मण्डनदेउपुर र बनेपामा समान १२, पाँचखालमा र भुम्लुमा १०/१० चौरिदेउरालीमा आठ, तेमालमा ७, नमोबुद्ध, धुलिखेल र खानीखोलामा ६/६, राेशी, पनौति, महाभारतमा र बेथानचाेकमा समान ५/५ आईटी ल्याब बनाइने प्राधिकरणले जनाएको छ । स्मरण रहोस्, भुम्लु, मन्डनदेउपुर, पाँचखाल, धुलिखेल, बनेपा, पनाैती र बेथानचोक मन्त्री बाँस्काेटाकाे निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका स्थानीय तहहरु हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३