close

अब १० रुपैयाँमा १२ घण्टा माेबाइल इन्टरनेट

टेकपाना टेकपाना

असोज ३०, २०७६ १७:४३

अब १० रुपैयाँमा १२ घण्टा माेबाइल इन्टरनेट


नेपाल टेलिकमले अटम अफर सार्वजनकि गरेको छ । यसअघि उपलब्ध डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी टेलिकमले आकर्षक नयाँ अफर ल्याएको हो ।

जसमा डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म मोवाइल इन्टरनेट प्रयोग गर्न सकिने भएको छ । त्यसमा ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कम्पनीकै नेटवर्कमा सय मिनेट भ्वाइस कल गर्न सकिने छ ।

त्यस्तै एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । यसअनुसार पहिलेको एक हजार दुई सय रुपैयाँको प्याकलाई एक हजार, तीन हजार चार सयको प्याकलाई तीन हजार, ६ हजार चार सयको प्याकलाई पाँच हजार पाँच सय र १२ हजार तीन सयको प्याकलाई अब १० हजार पाँच सय रुपैयाँ मात्र पर्ने भएको छ ।

साथै पहिलेदेखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, एक जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याकलाई निरन्तरता दिइएको छ ।

पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई पनि टेलिकमले निरन्तरता दिएको छ ।

त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधालाई पनि निरन्तरता दिइएको छ । उल्लेखित अफर आज (२०७६ असोज ३० गते) देखि ९० दिनसम्म लिन सकिने छ । प्याकेज लिनको लागि ग्राहकले *१४१५# डायल गर्नु पर्छ । अथवा कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि लिन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३