close

दूरसञ्चार विकास कोषमा २ अर्ब थपियो, एनसेलको मात्र १ अर्ब १० करोड

टेकपाना टेकपाना

कात्तिक ५, २०७६ १५:३६

दूरसञ्चार विकास कोषमा २ अर्ब थपियो, एनसेलको मात्र १ अर्ब १० करोड

नेपाल दूरसञ्चार प्राधिकरण मातहत रहेको ग्रामीण दूरसञ्चार विकास कोषमा करीब २ अर्ब रुपैयाँ थप भएको छ । दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले गत आर्थिक वर्ष २०७५/०७६ को कोष वापतको रकम जम्मा गरेका हुन् ।

दूरसञ्चार ऐन अनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चार पूर्वाधार निर्माण र सेवा विस्तारका लागि हरेक सेवा प्रदायकले आफ्नो वार्षिक कूल आम्दानीको दुई प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कोष वापतको रकम बुझाइसक्नुपर्ने व्यवस्था अनुसार ६९ ओटा सेवा प्रदायकले कूल १ अर्ब ९५ लाख रुपैयाँ जम्मा गरेका हुन् ।

अन्य कम्पनीले निर्धारित अवधिमै बुझाएको भए पनि इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले भने मंगलबार मात्रै रकम जम्मा गरेको प्राधिकरणले जनाएको छ ।

करोड माथि बुझाउने ६ कम्पनी


कोषमा सबैभन्दा बढी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले जम्मा गरेको छ । उसले एक्लैले मात्रै १ अर्ब १० करोड ६१ लख ५१ हजार रुपैयाँ जम्मा गरेको छ । दोश्रोमा सबैभन्दा बढी रकम बुझाउनेमा भने नेपाल टेलिकम रहेको छ । उसले ७० करोड रुपैयाँ कोषमा जम्मा गरेको छ ।

त्यसपछि कोषमा धेरै रकम जम्मा गर्ने अन्य कम्पनीहरुमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु रहेका छन् । जसमा क्रमशः वल्र्डलिङ्कले ५ करोड ५० लाख र सुबिसुले २ करोड ६८ लाख रुपैयाँ बुझाएका छन् । जब कि तेश्रो ठूलो दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमले १ करोड ४१ लाख ८३ हजार रुपैयाँ मात्र बुझाएको छ ।

अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले १ करोड २७ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । बाँकी अन्य कम्पनीहरुले भने एक करोड रुपैयाँभन्दा मुनीको रकम बुझाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३