close

गुगल पिक्सेल ४ र पिक्सेल एक्सएल नेपाल नआउने, यस्तो छ कारण

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ ११:५५

गुगल पिक्सेल ४ र पिक्सेल एक्सएल नेपाल नआउने, यस्तो छ कारण

गुगलले अन्तर्राष्ट्रिय बजारमा भर्खरै केही साता अघि मात्र सार्वजनिक गरेको पिक्सेल ४ र पिक्सेल एक्सएल स्मार्टफोन नेपालमा नआउने भएका छन् । गुगलको नयाँ पिक्सेल स्मार्टफोनमा समावेश राडार सेन्सर चल्न आवश्यक फ्रिक्वेन्सी व्यवसायिक प्रयोजनका लागि खुला नभइसकेकाले उक्त स्मार्टफोन तत्काल नेपाल नआउने देखिएको हो ।

पिक्सेल स्मार्टफोनमा राखिएको राडारमा आधारित मोसन सेन्सिङ चिप ६० गिगाहर्ज फ्रिक्वेन्सी ब्याण्डमा आधारित छ । जब कि नेपालमा यो ब्याण्डको फ्रिक्वेन्सी व्यवसायिक प्रयोजनका लागि खुला भइसकेको छैन ।

यद्यपी अमेरिकामा भने सन् २०१९ को सुरुताका मात्रै गुगलले उक्त फ्रक्वेन्सी ब्याण्ड व्यवसायिक रुपमा प्रयोग गर्नेगरी स्वीकृति पाएको थियो । नेपालमा मात्र नभएर स्मार्टफोनको विश्वकै दोश्रो ठूलो बजारको रुपमा रहेको भारतमा समेत नयाँ पक्सेल फोनहरु आउने छैनन् ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपालमा ५९ देखि ६२ गिगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी माइक्राेवेभका लागि छुट्याइएको छ । गुगलका तर्फबाट मोसन सेन्सिङका लागि आवश्यक फ्रक्वेन्सीका सन्दर्भमा कुनै प्रयास समेत नभएको बताइएको छ ।

के हो राडार सेन्सर ?

नयाँ पिक्सेल स्मार्टफोनमा समावेश राडार सेन्सरले कयाैँ मानवीय अन्तरक्रियालाई सहयोग पुर्‍याउने बताइएको छ । उदाहरणका लागि पिक्सेल ४ मा हालसम्मकै सबैभन्दा तीब्र र सुरक्षित फेस अनलक फिचर समावेश छ । यतिसम्म कि तपाईंले फोन हातमा लिए लगत्तै यसले अनलकको प्रकिया थालिसक्छ । 

मोसन सेन्सरले स्मार्टफोन नजिक पुग्नेवित्तिकै क्यामेरालाई तयारी हालतमा राखिसक्छ ता कि तपाईले स्क्रिनमा छुनै पर्दैन । यस अलावा इसाराकै भरमा राडार सेन्सरले कल ‘रिजेक्ट’ गर्ने लगायतका अन्य एप्लिकेशनलाई समेत मद्दत गर्ने दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३