close

डिजिटल नेपाल बनाउने फ्रेमवर्क स्वीकृत, यस्ता छन् प्राथमिकताका क्षेत्र

टेकपाना टेकपाना

कात्तिक ९, २०७६ ९:४२

डिजिटल नेपाल बनाउने फ्रेमवर्क  स्वीकृत, यस्ता छन् प्राथमिकताका क्षेत्र

मन्त्रिपरिषद्‍ले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैंठकले उक्त फ्रेमवर्क पारित गरेको हो ।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने, आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यका साथ फ्रेमवर्क तयार पारिएको छ ।

प्रविधिको प्रयोगबाट उत्पादन लागत कम गर्ने उद्देश्य सहित सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै प्रकारका सेवा तथा कारोबार विद्युतीय माध्यमबाट सञ्चालन गर्ने व्यवस्था सहितका योजना डिजिटल नेपाल फ्रेमवर्कले समेटेको छ ।

स्वीकृत फ्रेमवर्कले तथ्यांकको उत्पादन, प्रशोधन र वितरणको लागत कम गरी पहुँच सुनिश्चित गर्ने, सुशासन, विकास र समृद्धी हासिल गर्न नीतिगत तथा प्रणालीगत स्थिरता प्राप्तीका लागि योगदान पुर्‍याउने विश्वास सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्त गरे ।

सरकार राष्ट्रिय विकास र समृद्धिमा केन्द्रीत भई सन् २०२२ सम्ममा विकासशील राष्ट्र तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्यका साथ अघि बढेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पुरा गर्न पनि यसले महत्वपूर्ण योगदा पुर्‍याउने तिवारी बताउँछन ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार डिजिटल नेपाल फ्रेमवर्कले पर्यटन क्षेत्रको विकास गर्न क्षमता निर्माण, जल, यातायात, ऊर्जा क्षेत्र र सूचना प्रविधि पूर्वाधार निर्माणमा तीव्र जोड, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि लगायतका विषयलाई समेटेको छ ।

साथै, प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था, चरम गरिबी, निरक्षरता र बेरोजगारीको अन्त्य र युवा प्रतिभाको विदेश पलायनमा उल्लेख्य कमी ल्याउने विषय समेत फ्रेमवर्कभित्र परेका छन् ।

फ्रेमवर्कको मूल उद्देश्य सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोबारलाई बिद्युतीय माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्नु हो । जसमार्फत मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह, समाज तथा अर्थतन्त्रका बृहत्तर आयामहरुको रुपान्तरण, ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रका आधारहरुको सवलीकरण हुने, आम नागरिकलाई सरल र सहज रुपमा सार्वजनिक सेवा प्राप्त हुने र दिगो विकासका लक्ष्यहरु हासिल गर्न सकिने तिवारी बताउँछन् ।

त्यसैले डिजिटल नेपाल फ्रेमवर्कमा डिजिटल फाउन्डेशन, कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार गरी ८ वटा प्रमुख क्षेत्रहरु छनौट गरिएका छन् । उक्त फ्रेमवर्कले ८ वटै क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ अग्रसर गराउने उद्देश्यका साथ ८० वटा डिजिटल पहलहरु सहितको कार्ययोजना रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३