close

४५ हजार एन्ड्रोइड मोबाइलमा हटाउनै नसकिने भाइरस, आफू जोगिन सावधान रहनुस्

टेकपाना टेकपाना

कात्तिक १६, २०७६ १६:५०

४५ हजार एन्ड्रोइड मोबाइलमा हटाउनै नसकिने भाइरस, आफू जोगिन सावधान रहनुस्

हटाउदा समेत आफै रिइन्स्टल हुने नयाँ एन्डोइड भाइरस (मालवेयर) बाट ४५ हजार एन्ड्रोइड मोबाइलहरू संक्रमित भएको पाइएको छ । साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने कम्पनी साइमनटेकले सार्वजनिक गरेको तथ्यले पछिल्लो ६ महिनामा यो भाइरस डरलाग्दो रुपमा फैलिएको देखाएको हो । 

गत मे महिनामा मालवेयरबाइट्सले समेत यस्तै समान किसिमको खुलासा गरेको थियो । एक्सहेल्पर नामक ट्रोजन (भाइरस सफ्टवेयर) का कारण प्रभावित हुनेहरूमा धेरैजसो भारत, अमेरिका र रुसका  प्रयोगकर्ताहरू रहेका छन् । 

प्रयोगकर्ता स्वयमले अनइन्स्टल गर्दा वा फोन नै फ्याक्ट्री रिसेट गर्दा समेत यो भाइरस लगातार रुपमा डाउनलोड हुनेगरेकाे छ । स्क्रिनमा एप आइकन तथा सर्टकट आइकन समेत नदेखिने गरी एक्सहेल्पर  पृष्टभुमिमा चुपचाप चलिरहेकाे हुन्छ । संक्रमित मोबाइलको सेटिङमा रहेकाे एप इन्फो खण्डमा मात्रै यसको संकेत देखिने गरेको छ ।

यसले गर्दा डिभाइसमा पावर सप्लाई कनेक्टिङ तथा डिस्कनेक्टिङ गर्ने, रिबुटिङ गर्ने, कुनै एपलाई इन्स्टल तथा अनइन्स्टल गर्ने लगायतका समस्याहरू देखा पर्ने गरेका छन् । ‘अ सर्ज इन डिटेक्सन’ नामक साइमनटेकको अनुसन्धानले यो जोखिमपुर्ण एन्डोइड भाइरसले प्रयोगकर्ताहरूबाट समेत आफूलाई लुकाउने गरेकाे, अन्य जोखिमयुक्त एपहरूलाई डाउनलोड गरिदिने र त्यसबाट विज्ञापन देखाउनेगरेको तथ्य समेत बाहिर ल्याएको छ । 

पछिल्लो एक महिनामा मात्रै प्रत्येक दिन औषत एक सय ३१ डिभाइस संक्रमित भएको तथा नियमित रुपमा गरी महिनाभरमा दुई हजार चार सय मोबाइल डभाइस प्रभावित भएकाे जनाइएको छ । मालवेयरबाइटको खुलासाका क्रममा ३३ हजार फोन प्रभावित रहेकोमा त्यसयताकाे दुई महिनामा थप तीब्र रुपमा भाइरसबाट संक्रमण फलिएको छ । 

भाइरसको उदय नै रहश्यमी

एक्सहेल्परसँग जोडिएको हानिकारक भाइरसको वास्तविक उदयकाे सन्दर्भमा एकदमै शक्रियताका साथ अनुसन्धानहरू भइरहेका छन् । साइमनटेकले प्रयोगकर्ताहरूले अज्ञात श्रोतहरूबाट जोखिम युक्त एप डाउन गर्ने क्रममा भाइरस संक्रमित भएको हुनसक्ने शंका व्यक्त गरेको छ । अर्को तर्फ मालवेयर बाइट्सका अनुसन्धानकर्ताहरू भने संदिग्ध किसिमका गेम वेबसाइटबाट भाइरस फैलिएको हुनसक्ने बताएका छन् । 

यस्ता भाइरस आक्रमणबाट यसरी बच्नुहोस् 

यस किसिमका भाइरसबाट आफ्नो मोबाइललाई जोगाउन तपाईको डिभाइस र एपहरूलाई ‘अप-टु-डेट’ राख्ने गर्नुस् । गुगल प्लेस्टोरबाट मात्र एपहरू डाउनलोड गर्नेगर्नुस् । अनि अर्को कुरा वेबसाइटहरू भिजिट गर्दा एकदमै सावधानी अपनाउने गर्नुस् । यती सावधानी मात्रै अपनाउनुभयो भने तपाई धेरैहदसम्म यस्ता एन्ड्रोइड भाइरसबाट बच्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३