close

दशैं-तिहारमा मात्रै १६ लाख मोबाइल आयात, चीनबाट मात्रै १२ लाख

टेकपाना टेकपाना

कात्तिक १७, २०७६ १७:४५

दशैं-तिहारमा मात्रै १६ लाख मोबाइल आयात, चीनबाट मात्रै १२ लाख

दशैं तिहारको बजारलाई लक्षित गर्दै नेपाली बजारमा यो वर्ष करिब १६ लाख भन्दा बढी मोबाइल सेट आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार साउन देखी असोज सम्मको अवधिमा कुल १६ लाख २३ हजार ६ सय ९५ ओटा मोवाइल सेट आयात भएका हुन् ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन सम्म कुनै मोबाइल सेट आयात भएको देखिदैन । तर, पछिल्लो दुई महिना अर्थात भदौ र असोजमा भने १६ लाख २३ हजार भन्दा बढी मोबाइल सेट आयात भएका छन् । दुई महिनाको अवधिमा १६ लाख भन्दा बढी मोबाइल सेट आयात हुनुको प्रमुख कारण दशैं र तिहारको बजार नै हो । दशैं तिहार लागेसँगै मोबाइलको व्यापारमा उल्लेख्य वृद्धि हुने भएकाले दुई महिनको अवधिमा यत्रो संख्यामा मोबाइल भित्रिएको मोबाइल व्यवसायी बताउँछन् ।

ती मोबाइल आयातका लागि सात अर्ब १९ करोड ५ लाख ७५ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको छ । जुन अधिल्लो वर्षको तुलनमा धेरै हो । अधिल्लो वर्ष सोही अवधिमा ६ अर्ब २९ करोड ६२ लाख ९४ हजार रुपैंयामा कुल १३ लाख ६२ हजार तीन सय ३१ ओटा मोबाइल सेट आयात भएका थिए । यो तथ्याङ्कले पछिल्लो सयम नेपालमा मोबाइलको बढ्दो व्यापारलाई पनि दर्शाएको छ ।

आयात हुने मोबाइल मध्ये झन्डै ८० प्रतिशत बजार भने चिनियाँ मोबाइलको छ । चीनबाट मात्रै तीन अर्ब ३३ करोड ८९ लाख मूल्य बराबरका १२ लाख ८७ हजार भन्दा बढी अर्थात कुल आयातको ७९.१२ प्रतिशत मोबाइल दुई महिनाको अवधिमा भित्रिएका छन् । धेरैजसो कम्पनीका मोबाइल फोन चीनमै एसेम्बल आउने भएकाले पनि यस्तो देखिएको व्यवसायीहरू बताउँछन ।

त्यसैगरि भारतबाट तीन लाख १२ हजार मोवाइल सेट आयात भएका छन् । २६ हजार मोबाइल सेट आयात भएको भियतनामाबाट विषेशगरी सामसङका मोबाइल सेट आयात हुने गरेको छ । भियतनाममा सामसङको एसेम्बल प्लान्ट भएकाले त्यो बाटो हुँदै मोबाइल सेट नेपाल आउने गरेका हुन् ।

यति ठूलो मात्रामा मोबाइल आयात भइरहँदा केही देशबाट आयात हुने मोबाइलको संख्या भने अच्चम्म लाग्दाे छ । तीन महिनको अवधिमा स्विजरल्याण्ड, कुवेत, मंगोलिया, तान्जानिया लगायतका पाँच देशबाट भन्सार तिरेर मात्र एक–एक ओटा मोबाइल सेट आयात भएको भन्सार विभागकाे तथ्याङ्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०