close

१०८ एमपी क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन एमआई सीसी नाईन प्रो मंगलबार सार्वजनिक हुँदै

टेकपाना टेकपाना

कात्तिक १७, २०७६ १९:०

१०८ एमपी क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन एमआई सीसी नाईन प्रो मंगलबार सार्वजनिक हुँदै

साओमीले ५ नोभेम्बरमा १०८ मेगापिक्सेल क्यामेरा भएको पहिलो स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । आउँदो मंगलबार चीनमा र त्यसपछि क्रमशः विश्वव्यापी रुपमा एमआई सीसी नाइन प्रो सार्वजनिक हुने भएको हो । 

यससँगै साओमीको एमआई नाईन प्रो १०८ मेगापिक्सेल क्यामेरामा उपलब्ध विश्वकै पहिलो स्मार्टफोन हुनेछ । हल्लाहरूलाई विश्वास गर्ने हो भने उक्त स्मार्टफोन एमआई नोट टेनको रुपमा विश्वव्यापी रुपमा सार्वजनिक हुनेछ । 

यद्यपी सार्वजनिक हुनु अघि नै साओमीले केही मूख्य विशेषताहरू भने खुलाईसकेकाे छ । टिजरमा उल्लेख भएअनुसार साओमी एमआई नोट टेनमा ५० गुणा जुम भएको पाँच मेगापिक्सेल सेन्सर सहित  १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा सेन्सर, पोट्रेटका लागि १२ मेगापिक्सेल सेन्सर, सुपर म्याक्रो सुटका लागि २ मेगापिक्सेल र अल्ट्रा वाइड एङ्गलको रुपमा २० मेगापिक्सेल सेन्सर प्रयोग गरिएको छ । 

साओमी एमआई नोट टेनमा पर्फरमेन्सका लागि ५,२६० एमएएच क्षमताको शक्तिशाली ब्याट्रीसँगै न्यापड्रागन ७३० जी प्रोसेसर राखिएको बताइएको छ । ३० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने उक्त फोन ३० मिनेटमै ५८ प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । 

साओमी एमआई सीसी नाईन प्रोमा अगाडिपट्टी सिरानीमा वाटर ड्रप नोच भएको ६ दशमलव ४७ इञ्च एमोलेड डिस्प्ले हुनेछ । टिजरमा डुअल कर्भ स्क्रिन रहेकाे समेत खुलाईएको थियो । ३.५ एमएम हेडफोन ज्याक र यूएसबी टाइप-सी सहित आउने यो स्मार्टफोन एन्ड्रोइड टेनमा आधारित एमआईयूआईमा चल्नेछ । 

एमआई सीसी नाईन प्रोको आधिकारिक मूल्य सार्वजनिक भइनसकेको भए पनि चलेका विभिन्न हल्लाअनुसार यो दुई हजार पाँच सय ९९ यूआन अर्थात सालाखाला करीब ४३ हजार रुपैयाँ पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०