close

नेपालमै बन्ने भयो अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा केन्द्र

टेकपाना टेकपाना

कात्तिक १८, २०७६ १७:२७

नेपालमै बन्ने भयो अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा केन्द्र

सरकाले अन्तराष्ट्रिय स्तरको साईबर सुरक्षा सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिको आइतबार बसेको बैंठकले उक्त निर्णय गरेको हो ।

बैठकले हाल सञ्चालनमा रहेको राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको एनसर्ट सञ्चालन केन्द्र बनाउन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिने निर्णय गरेको हो । त्यसका लागि केन्द्रलाई अन्तर विश्लेषण सहितको अवधारणापत्र तयार गर्न भनिएको छ ।

समितिका संयोजक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत सूचना प्रविधि आकस्मिक सहायता समूह गठन गर्ने प्रयोजका लागि क्षेत्र पहिचान गर्न राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूहलाई निर्देशन दिएको छ । त्यस्तै एशिया प्यासिफिक सर्ट लगायत अन्य क्षेत्रीय तथा अन्तराष्ट्रिय संस्थामा रहेको सदस्यतालाई अन्तर्राष्ट्रियस्तरमा पहिचानमा ल्याउने निर्णय समेत भएको छ ।

बैंकठले प्रत्येक निकायले साईबर सुरक्षा नीति तथा कार्यनीति बनाउने सम्बन्धमा मन्त्रालयले टेम्प्लेट बनाउने, साइबर सेक्युरीटी सम्बन्धमा आवश्यक सहयोग कक्ष स्थापना गर्नका लागि अवधारणापत्र तयार गर्ने निर्णय गरिएको समितिले जनाएको छ । त्यस्तै साइबर फरेन्सिक केन्द्र सम्बन्धी अवधारणापत्र तयार गर्ने तथा साइबर सुरक्षा सम्बन्धमा नीति निर्माता तथा कार्यान्वयनकर्तालाई अभिमुखीकरण गर्न नेपाल दूरसंचार प्राधिकरण, सूचना प्रविधि विभाग लगायतका निकायसँग समन्वय गरी तालिम गोष्ठी आदि कार्यक्रम सञ्चालन गरिने छ ।

समितिले विषयगत क्षेत्रमा साइबर सुरक्षाका लागि तयार भएको आवधारणा बमोजिम हाललाई वित्तीय तथा दूरसञ्चार गरी दुई क्षेत्रमा साइबर सुरक्षा सिमुलेशन एण्ड रिसर्च ल्याब स्थापना गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने भएको छ । यसैगरी सरकारी निकायले एक जना कर्मचारीलाई साइबर सुरक्षा सँग सम्बन्धित विषयमा सम्पर्क अधिकृतको रुपमा तोक्न मन्त्रालयलाई पत्राचार गरिनेछ ।

त्यस्तै, सरकारी एकीकृत डाटा केन्द्रमा रहेका सूचना प्रविधि प्रणाली तथा तथ्यांकहरू नियमित रूपमा डिजास्टर रिकभरी केन्द्रमामा समेत भण्डारण गरिने छ । त्यसका लागि हेटौँडामा रहेको डिजास्टर रिकभरी केन्द्रको क्षमता विस्तार गर्न राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिने निर्णय समितिले गरेको छ । साथै समितिले सूचना प्रविधि विभागलाई नेपाल सरकारले निर्माण तथा खरिद गर्ने विद्युतीय प्रणाली सम्बन्धी उपकरण तथा सफ्टवेयरहरूको मापदण्ड बनाइ लागू गराउन निर्देशन दिएको छ ।

राष्ट्रिय साईबर सुरक्षा अनुगमन केन्द्रले सरकारी एकीकृत डाटा सेन्टरको गेटवे राउटर नेपाल सरकारको आधिकारिक डीएनएस सर्भर, फायरवाल एप्लायन्स, नेपाल सरकारको आधिकारिक मेल सर्भर, अनाधिकृत कार्य, सोस आईपी एडरेस, प्रोटोकल रिक्वेस्ट र सरकारी एकीकृत डाटा केन्द्रमा होष्ट भएका मध्ये धेरै रिक्वेस्ट प्राप्त हुने विद्युतीय सेवाहरुलाई अनुगमन गर्दै आएको छ ।

साथै केन्द्रले सरकारी एकीकृत डाटा केन्द्रमा होष्ट भएका विद्युतीय सेवाहरूमा सुरक्षा चुनाैतीसँग सम्बन्धित निकायलाई तत्कालै सूचित गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०