close

नेपालमा दर्ता हुने मोबाइल १ करोड ६६ लाख मात्रै

टेकपाना टेकपाना

कात्तिक २०, २०७६ ८:०

नेपालमा दर्ता हुने मोबाइल १ करोड ६६ लाख मात्रै

पछिल्लो साढे तीन वर्षको अवधिमा तीन करोड ३२ लाख मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा हालसम्म एक करोड ६६ लाख मोबाइलको मात्रै आईएमईआई (एक मोबाइलमा दुई आईएमईआई नम्बर हुन्छ) दर्ता भएका हो ।

प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता सुरु गरेको साढे तीन वर्ष पुगेको छ । मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उदेश्यका साथ प्राधिकरणले २०७३ वैशाख १ देखि आईएमईआई नम्बर दर्ता सुरु गरेको थियो । सो अवधिबाट आजसम्म अनलाईन तथा म्यानुअल प्रक्रियाबाट व्यक्तिगत र व्यावसायिक गरी मोबाइलको आईएमईआई गरिएको हो । 

प्राधिकरणका अनुसार आईएमईआई दर्ता प्रक्रिया सुरु गरेको वर्ष अर्थात २०७३ मै कुल ९९ लाख ९८ हजार ८ सय २६ ओटा मोबाइल आईएमईआई दर्ता भएको थियो । त्यसमा ९९ लाख ९४ हजार ९४ हजार सात सय  ६४ आयातकर्ता संस्थाबाट भएको र बाँकी चार हजार ६२ वटा आइएमईआई दर्ता व्यक्तिगत तवरबाट भएको बताइएको छ । 

पहिलो वर्ष अनलाईन प्रणालीको विकास नभएकाले म्यानुअल प्रक्रियाबाट मात्रै दर्ता गर्ने गरिएको थियो । प्राधिकरणले दोस्रो वर्षबाट अनलाईन दर्ता प्रक्रियाको  समेत सुरुवात गरेपनि त्यस वर्ष आईएमईआई दर्ता घटेको देखिन्छ । २०७४ मा वर्ष कुल ९५ लाख ७५ हजार ८ सय मोबाइलको आइएमईआई दर्ता भएकाे थियो ।

जसमा आयातकर्ता तर्फ अनलाइनबाट ६६ हजार दुई सय ८० र म्यानुअल तवरबाट ९५ लाख आठ हजार तीन सय आठ वटा आईएमईआई दर्ता भएका हुन् भने, व्यक्तिगततर्फ १२ सय ४० मात्रै थियो । त्यसमध्ये चार सय ९४ अनलाइन र सात सय ४७ म्यानुअल दर्ता भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गतवर्ष ८९ लाख १४ हजार ५७ वटा आईएमईआई नम्बर दर्ता भएका छन् । त्यसमा अनलाईबाट ८७ लाख ६ हजार एक सय ४३ ओटा र म्यानुअल प्रक्रियामार्फत दुईलाख ७९ हजारमात्र मोबाइलकाे आईएमईआई दर्ता भएको थियो ।

अघिल्लो जेठबाट प्राधिकरणले आईएमईआई दर्ता प्रक्रियालाई पूर्ण रुपमा अनलाइनमा रुपान्तरण गरेको छ। जसको प्रतिफल यो वर्ष म्यानुअलमार्फत मोबाइलको आईएमईआई दर्ता भएको छैन । 

प्राधिकरणमा वैशाखयता ४७ लाख २१ हजारभन्दा बढी मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छ । प्राधिकरणका अनुसार धेरैजसो मोबाइल सेटमा दुईवटा आईएमईआई नम्बर हुन्छ । जसले गर्दा दर्ता भएको आईएमईआई नम्बरभन्दा आधा संख्यामा मोबाइल आयात भएको मान्नुपर्ने हुन्छ । यसले नेपालमा मासिक चार लाखको हाराहारीमा मोबाइल आयात भइरहेको दर्साउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०