close

आईटीका विद्यार्थीलाई खल्तीमा इन्टर्नशिप र रोजगारी

टेकपाना टेकपाना

कात्तिक २०, २०७६ १८:३६

आईटीका विद्यार्थीलाई खल्तीमा इन्टर्नशिप र रोजगारी

खल्ती डिजिटल वालेटले विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्न लर्ड बुद्ध एजुकेशन फाउन्डेशन (एलबीईएफ) सँग साझेदारी गरेको छ । यो सँगै खल्तीले एलबीईएफमा ई–बिजनेस र आईटी पढेका विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने छ ।

बुधबार हस्ताक्षर भएको समझदारी पत्रमा खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीले खल्तीमा इन्टर्नशिपका लागि आवेदन दिन सक्नेछन् ।

छोटो अवधिको इन्टर्नशिप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीको पढाईमा बाधा नपुग्ने गरी इन्टर्नशिपका लागि अनुकुल वातावरण मिलाउने छ ।

साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टको समयमा बिदाको व्यवस्था समेत गरिने खल्तीले जनाएको छ । त्यस्तै, खल्तीमा कार्यरत स्नातकोत्तर पढ्न चाहने कर्मचारीलाई फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने छ ।

‘यो सहकार्य खल्ती र लर्ड बुद्ध एजुकेशन फाउन्डेशन दुबैका लागि ‘विन विन सिचुएशन’ भएको अपेक्षा गरेका छौं,’ खल्तीका प्रबन्ध निर्देशक मोदीले भने, ‘दुबै संस्थाहरूको साझा उद्देश्य नेपालको आईटी उद्योगको विकास गर्नु हो । यस सहकार्यले हामी दुबै पक्षलाई थप उर्जा तथा हौसला प्रदान गर्नेछ ।’

त्यस्तै, फाउन्डेशनका अध्यक्ष जलानले खल्ती जस्तो प्रतिष्ठित कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य गर्न पाउँदा उत्साहित भएको उल्लेख गरे । फाउन्डेशनले विगत २१ वर्ष देखी सूचना प्रविधिको अध्ययन अध्यापन गराउँदै छ । खल्तीसँगको सहकार्य विद्यार्थीका लागि एकदमै प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला स्थानीय सूचना प्रविधि उद्योगले भने योग्य कर्मचारी नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थी बीच रहेको उक्त खाडल केहि हदसम्म पुर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०