close

करीब २ खर्ब रुपैयाँ खर्च गरी ६ महिनामै फोरजी सुरु गर्दै बीएसएनएल

टेकपाना टेकपाना

कात्तिक २३, २०७६ १७:०

करीब २ खर्ब रुपैयाँ खर्च गरी ६ महिनामै फोरजी सुरु गर्दै बीएसएनएल

भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) ले अबको ६ महिनामा फोरजी सेवा विस्तार गर्ने भएको छ । सरकारी लगानीमा सञ्चालमा रहेको उक्त कम्पनी पछिल्लो समय समस्याबाट गुज्रिरहेको छ ।

भारतीय बजारमा जिओ लगायतका ठूला निजी कम्पनीले दबदबा सिर्जना गरिरहँदा बीएसएनएल भने आर्थिक समस्यामा परेको थियो । यसै बिच अघिल्लो महिना भारतको मन्त्रिपरिषदले बीएसएनएलका लागि एउटा ठुलो निर्णय लियो । उक्त निर्णय कम्पनीका लागि आजसम्मकै ठुलो उपलब्धी हुनसक्ने उल्लेख गरिएको थियो ।

 भारतको मन्त्रिपरिषदले बीएसएनएलमा कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकासको सुविधा प्रदान गर्‍यो । तलबको आर्थिक भार कटौतीका लागि  गरिएको त्यो निर्णयसँगै कम्पनीले अबको ६ महिनामा फोरजी विस्तार गर्ने निर्णय लिएको छ ।

त्यसका लागि बिएसएनएलले एक खर्ब २० अर्ब भारतीय रुपैंया भन्दाबढी अर्थात करीब २ खर्ब रुपैयाँ लगानी गर्ने कम्पनीका अध्यक्ष प्रवीनकुमार पुरवारले बताएका छन् । ‘फोरजी विस्तारका लागि ६ महिना समय लाग्छ,’ पुरवारले भनेका छन्, ‘हामी हाल प्रयोगमा रहेका पूर्वाधारलाई स्तराेन्नती गर्दै त्यसैमार्फत फोरजी सेवा विस्तार गर्दैछौं ।’ 

कुन ठाउँबाट यसको सुरुवात गर्ने भन्ने विषयमा भने कम्पनीले अहिले अध्ययन गरिरहेको छ । त्यसका लागि आगामी २४ महिनामा एक खर्ब २० अर्ब रुपैंया भारु लगानी गर्ने योजना रहेको पुरवार बताउँछन् ।

पुरवारका अनुसार अहिलेसम्म सरकाले ल्याएको स्वच्छिक अवकास योजना मार्फत हालसम्म ३६ सय जना कर्मचारी बाहिरिएका छन् । यो योजनामार्फत ७० देखी ८० हजार कर्मचारी बाहिरिने अपेक्षा गरिएको छ । माथिल्लो तहका ३ हजार कर्मचारी पनि यसै योजनामार्फत बाहिरिने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०