close

अमेरिकी प्रतिबन्ध विरुद्ध सघाएको भन्दै कर्मचारीलाई हुवावेको ३३ अर्ब बोनस

टेकपाना टेकपाना

कात्तिक २७, २०७६ १३:३३

अमेरिकी प्रतिबन्ध विरुद्ध सघाएको भन्दै कर्मचारीलाई हुवावेको ३३ अर्ब बोनस

ट्रम्प प्रशासनको प्रतिबन्ध विरुद्ध सघाएको भन्दै विश्वकै ठूलो दूरसञ्चार उपकरण निर्माता हुवावेले आफ्ना कर्मचारीलाई ३२ अर्ब ६० करोड रुपैयाँ बोनस दिने भएको छ । अर्थात हुवावेका कर्मचारीले अक्टोबर महिनाको तलब नियमित पाइरहेको भन्दा दोब्बर पाउनेछन् । 

गत मे मा अमेरिकाले सुरक्षा चुनौति देखिएको भन्दै चिनियाँ कम्पनी हुवावेका स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिष्टम प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आफ्नो देशको महत्वपूर्ण सूचनाको सुराकीको आरोप अमेरिकाले यो कम्पनी माथी लगाएको थियो । यद्यपि हुवावेले सुरुवाती चरणदेखि उक्त आरोपको खन्डन गर्दै आएको छ । 

हाल हुवावेमा एक लाख ९० हजार कर्मचारी कार्यरत छन् । कम्पनीले अमेरिकाको प्रतिबन्धको असर कम गर्न खटिएका अनुसन्धान तथा विकास तर्फका कर्मचारीलाई यस्तो बोनस दिने घोषणा गरेको हो । 

आफ्ना कर्मचारीलाई हुवावेले नगद प्रोत्साहन दिएका पहिलो पटक भने होइन । यद्यपि कम्पनीकै कुनै एउटा समुहलाई यति ठूलो रकम बोनसका रुपमा दिएको भने पहिलो पटक नै हो । उक्त समुहले अमेरिकासँगको निर्भरता हटाउन मात्र सहयोग गरेन कम्पनीको छुट्टै हार्मोनी अपरेटिङ सिष्टम समेत बनाएर प्रतिकारमा उभिन सहयोग पुर्‍याएको थियो । 

कम्पनीको यस बर्षको कारोबार थप राम्रो भएकोले छिटै नै बोनस वितरण गर्न सम्भव भएको कम्पनीको लेखा शाखामा कार्यरत एक कर्मचारीले बताएका छन् । अमेरिकाको प्रतिबन्धका बाबजुद कम्पनीको पहिलो त्रैमासिक आम्दानी २७ प्रतिशतले बढेको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०