close

नेपालको सीमा विवादः जमिनमा भारत र अन्तरिक्षमा लाओससँग

रन्जन कोइराला रन्जन कोइराला

कात्तिक २७, २०७६ १७:५३

नेपालको सीमा विवादः जमिनमा भारत र अन्तरिक्षमा लाओससँग

पछिल्लो समय भारतले कालापानी र लिपुलेकको नेपाली भूमी आफ्नो नक्सामा राखेपछि दुई देशबीचको विवाद उत्कर्षमा छ । नेपालको सीमा विवाद जमिनको सीमानामा मात्रै सीमित नभएर अन्तरिक्षको सीमानामा समेत देखिएको छ । अन्तरिक्षमा स्याटेलाइटका लागि आफुलाई छुट्याइएको स्थानको विषयमा नेपाल समयमै अग्रसर नहुँदा समस्या देखिएको हो ।

स्याटेलाइट राख्ने स्थान (अर्बिटल स्लट) लाई लिएर केही समय यता नेपाल र ला‌ओसबीच विवाद कायम छ । नेपालले आफ्नै स्याटेलाइट राख्ने भन्दै फ्रान्सको थालस एलेनिया स्पेस नामक कम्पनीसँग गत फागुनमै समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि स्याटेलाइट राख्न अन्तरिक्षमा नेपालले पाएको अर्बिटल स्लटमा दुईदेशबिच विवाद देखिएको हो ।  

लाओससँगको अर्बिटल स्लटको विवाद समाधान नहुँदा नेपालको आफ्नै स्याटेलाइट राख्ने योजना पर धकेलिने जोखिम बढेको छ । लाओसले भने अहिले स्याटेलाईट लञ्च गर्ने अन्तिम तयारीमा रहेको छ ।

स्याटेलाइट लञ्चको तयारीमा रहेको लाओसको स्लट र नेपाललाई अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन-आईटीयुले उपलब्ध गराएको स्लट एकअर्कासँग निकै नजिक छन् । सन् १९८४ मै आईटीयूले नेपालका लागि पूर्वी देशान्तरमा दुईवटा पोजिसनका स्लट उपलब्ध गराएको थियो । जसमा १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयररिङ ब्यान्डअन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्ड उपलब्ध गराएको छ । 

अर्को ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्डमा रहेको छ । त्यही स्लट नजिकै लाओसको समेत स्लट रहेको छ । यस्तो अवस्थामा केही प्राविधिक विषय तथा प्यारामिटर मिलाउनु पर्ने हुन्छ । त्यसआधारमा स्याटेलाइटले समेट्ने क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ । अन्यथा नेपालले राख्न लागेको स्याटालाईटमा असर पर्ने बताइएको छ । त्यसका लागि लाओससँगको समन्वय यतिबेला नेपाललाई आवश्यक छ ।

तर, अझै पनि यो विषयमा कुनै ठोस टुंगो लाग्न सकेको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अघिल्लो साता वैदेशिक भ्रमणमा थिए । त्यसैक्रममा आईटीयुका महासचिवलाई भेटेर लाओस र नेपालबिच देखिएको समस्या समाधनको लागि आग्रह गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

सोही भ्रमणको क्रममा स्याटालाईट सर्वोच्च शिखर सगरमाथाको नाममा राख्ने निर्णय भएको थियो । त्यसको जानकारी आईटीयूले आफ्ना सदस्य राष्ट्रहरूलाई जानकारी समेत गराइसकेको छ । 

विवाद समाधानका लागि लाओससँग समेत समन्वय भइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको भनाई छ । ‘तर, निचोड भने आइसकेको छैन,’ उनले भने, ‘अहिलेको हाम्रो मूख्य चाँसोको विषय भएकाले  लाओसलाई पत्राचार गरेका छौँ ।’

लाओसको स्लट नेपालको भन्दा पछि मात्र फाइलिङ भएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् । ‘स्लट फाइलिङ गर्ने बेलामा लाओसले नेपालसँग समन्वयको प्रयास गरेको थियो । तर, त्यसताका हामीले उतिसाह्रो चाँसो दिएनौँ,’ उनले भने, ‘तर, अहिले हामीलाई नै समस्या परेपछि समन्वयका लागि गएका थियौँ ।’ पछिल्लो समय मन्त्रालय, प्राधिकरण र आईटीयुको तर्फबाट विवाद समस्या समाधानकाे प्रयास भइरहेको अर्यालले बताए । 

३० महिनाभित्र आफ्नै स्याटेलाइट राख्ने उद्देश्यका साथ फ्रान्ससँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । तर अर्बिटल स्लटको विवाद समाधान हुन नसकेपछि नेपालको स्याटेलाइट राख्ने योजना पर धकेलिन सक्ने संभावना बढेको छ । 

‘यसमा अब हामी धेरै अलमलिन चाहन्नौँ,’  यसअघि टेकपानासँगको कुराकानीमा मन्त्री बाँस्कोटाले भनेका थिए, ‘स्याटालाईटको विषयमा प्रधानमन्त्री स्तरमा पनि कुरा भइसकेको छ । अर्को मन्त्रीस्तरमा पनि कुरा भइसकेको छ । त्यसमा प्राविधिक वा अरु कारणले गलत देखियो भने बेग्लै कुरा हो । नत्र अब रोकीदैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०