close

ह्वावेले ९ महिनाभित्रै स्मार्टफोनमा आफ्नै अपरेटिङ सिस्टम राख्ने

टेकपाना टेकपाना

कात्तिक २८, २०७६ १२:३५

ह्वावेले ९ महिनाभित्रै स्मार्टफोनमा आफ्नै अपरेटिङ सिस्टम राख्ने

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले ६ देखि ९ महिनाभित्र स्मार्टफोनको लागि आफ्नै अपरेटिङ सिस्टम तयार पार्ने भएको छ । अमेरिकी सरकारकाे निर्देशनमा गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएपछि कम्पनीले आफ्नै अपरेटिङ सिस्टम बनाउनेतर्फ अग्रसर भएको हो ।

गुगलको उपाध्यक्षलाई उद्धृत गर्दै फाइनान्सिल टाइम्सले सार्वजनिक गरेको समाचार अनुसार कम्पनीले आफ्नो ‘हार्मोनी’ नाम दिइएको अपरेटिङ सिस्टमलाई नै स्मार्टफोनको लागि तयार पार्न लागेको हो । कम्पनीले गत अगस्टमा हार्मोनी नामक आफ्नै अपरेटिङ सिस्टम घोषणा गरेको थियो ।

घोषणा गर्ने बेलामा यसलाई टीभीदेखि कम्युटरसहित सबै डिभाइसमा प्रयोग गर्न मिल्ने अपरेटिङ सिस्टम भएको दाबी गरिएको थियो । अमेरिकाले कालोसूचीमा राखेसँगै हुवावेलाई गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो ।

अमेरिकी सरकारले कालोसूचीबाट नहटाएसम्म हुवावले गुगललको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नपाउने मात्रै होइन अमेरिकी कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध राख्नबाट उसलाई वञ्चित गरिएको छ ।

हुवावेले भने अमेरिकी सरकारले कालोसूचीबाट हटाउने र भविष्यमा पनि आफ्नो स्मार्टफोनमा एन्ड्रोइड प्रयोग गर्न पाउने विश्वास व्यक्त गरेको छ । तर विगत चार महिनायता हुवावेले एन्ड्रोइडमा आधारित स्मार्टफोन सार्वजनिक गर्न पाएको छैन ।

हुवावेले उत्पादन र बिक्री गरिसकेका स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम रहे पनि अपडेट समेत हुने छैन । हुवावे सामसङपछि विश्वमा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०