close

कम्प्युटरमा आधारित पाठ्यक्रम-‘डिजी स्कुल’ नेपालमा

टेकपाना टेकपाना

मंसिर १, २०७६ १७:१६

कम्प्युटरमा आधारित पाठ्यक्रम-‘डिजी स्कुल’ नेपालमा

सफ्टवेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सले कम्प्युटरमा आधारित पाठ्यक्रमको थालनी गरेको छ । स्कुलले बेलायतमा सञ्चालनमा रहेको ‘डीजी प्रोग्राम’ लाई ‘डिजी स्कुल’ नामाकरण गरी नेपालमा भित्र्याएको हो ।

बेलायत सरकार अन्तरगत दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेशनले उक्त पाठ्यक्रम तयार पारेको हाे । त्यसमा कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि आवश्यक कम्प्युटरमा आधारित पाठ्यक्रम समावेश छ । एनसीसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले आइतबार नेपालमा ‘डिजी स्कुल’ औपचारिक उद्घाटन गरेको छन् ।

‘डीजी स्कुल’ सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्टवेरिका कलेजसँग सम्पर्क गरी अध्यापन सुरु गर्न सक्ने बताइएकाे छ । एसईई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा ‘डीजी स्कुल’ पढ्ने विद्यार्थीले स्कुले समयमै जाभा, पाइथन, सिउडो कोड, स्क्र्याच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मत लगायत विषय सिक्न पाउने कलेजले जनाएको छ ।

सफ्टवेरिकाकी डीजी स्कुल, प्रोग्राम अफिसर सम्झना बडालले यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिने बताएकी छिन् । डीजी स्कुल अध्ययन गर्ने विद्यार्थी आफै सफ्टवेयर निर्माण गर्ने सम्मको दक्षता राख्न सक्ने उनकाे भनाई छ । हाल ‘डीजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय छ । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले एनसीसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने छन् ।

डीजी स्कुल कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई कम्प्युटर सिस्टममा आ-आफ्नै लगइन प्रदान गरिन्छ । उक्त लग इनमा विद्यार्थीको हरेक जानकारी राखिएको हुन्छ । त्यसैबाट विद्यार्थीको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न समेत सक्छन् ।

नेपालमा प्राविधिक शिक्षाको विकासका गर्न सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले सन् २०१० देखि एनसीसी एजुकेशन बेलायतसँग विभिन्न प्राविधिक शिक्षामा सहकार्य गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०