close

पोखराबाट सम्पन्न हुँदै टेलिकमको फोरजी प्रवर्धन

टेकपाना टेकपाना

मंसिर ३, २०७६ १७:४५

पोखराबाट सम्पन्न हुँदै टेलिकमको फोरजी प्रवर्धन

नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्य गरिरहेको छ । जसलाई टेलिकमले अभियानको रुपमा कार्तिक २० गते झापाको विर्तामोडबाट सुरु थियो ।

उक्त अभियानको पहिलो चरण टेलिकमले पोखराबाट सम्पन्न गर्ने भएको छ । बुधबार पोखराको अमरसिंह मैदानमा आयोजना हुने कार्यक्रमसँगै पहिलाे अभियानको पहिलो चरण सम्पन्न हुनेछ ।

गत असोज १५ गतेदेखी देशका सातै प्रदेशमा एकैसाथ फोरजी सेवा शुभारम्भ गरेको टेलिकमले त्यसको प्रवर्धनकाे काम गरिहेको छ । मनोरञ्जनात्मक कार्यक्रम सहितको अभियानमा ठुलो मात्रामा जनसहभागिता समेत भइरहेको टेलिकमले जनाएको छ ।

यस अभियान अन्तर्गत फोरजी सिम वितरण गरिनुका साथै टुजी/थ्रीजीबाट फोरजीमा स्तरोन्नतिको काम समेत भइरहेको छ । कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा निःशुल्क फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्य गर्दै आएको छ ।

यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा अभियानको कार्यक्रम आयोजना गरिएको थियो । टेलिकमका अनुसार पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनस सहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।

फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गर्नु पर्ने हुन्छ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले दुई सय एमबी डाटा वोनस स्वरुप पाउने छन् । साथै फोरजी सेवा सुचारु गर्न सिम परिवर्तन गर्नुपर्ने भएमा सोही बमोजिम ग्राहकलाई अलर्ट म्यासेज आउने छ ।

कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ । यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ ।

पहिलो चरणको प्रवर्धनात्मक अभियान सम्पन्न भएता पनि यस प्रकारका अभियान तथा कार्यक्रम देशका अन्य भागमा पनि निरन्तर गर्दै जाने कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१