close

तथ्य जाँचपछि मात्रै स्न्यापच्याटमा राजनीतिक विज्ञापन

टेकपाना टेकपाना

मंसिर ४, २०७६ १२:३८

तथ्य जाँचपछि मात्रै स्न्यापच्याटमा राजनीतिक विज्ञापन

अमेरिकी राष्ट्रपति चुनाव आउन एक वर्षमात्रै बाँकी छ । चुनाव नजिकिएसँगै फेसबुक, ट्विटर लयायतका सामाजिक सञ्जालहरू गलत सूचना र राजनीतिक विज्ञापन प्रसारको विषयमा आफ्नो नीति परिमार्जित गरिरहेका छन् ।

गत महिना, फेसबुकले ‘प्रजातान्त्रिक प्रक्रियालाई सुरक्षित राख्न’ भन्दै विभिन्न नीति ल्यायो । अर्कोतर्फ ट्विटरले राजनीतिक विज्ञापनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । र, अब पालो स्न्यापच्याटको आएको छ । स्न्यापच्याटले भने तथ्य जाँच गरेर विज्ञापन प्रकाशित गर्ने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी निर्देशक इभान स्पिगलका अनुसार कम्पनीको प्लेटफर्ममा भएका सबै विज्ञापनको तथ्य जाँच गरिने छ ।

‘हामी सबै विज्ञापनलाई स्थान दिन्छौं,’ स्पिगलले भनेका छन, ‘तर, त्यसको समिक्षा हुन्छ । विज्ञापनले पार्ने प्रभाव र सन्देशका आधारमा त्यसलाई प्रकाशित गरिन्छ । कारण, हामी युवा र पहिलो पटक मतदान गर्ने मतदाताहरूसम्म पुग्न चाहन्छौं । उनीहरुलाई राजनीतिक बहसमा संलग्न गराउन चाहन्छौं ।’ यसको अर्थ उनीहरुलाई अल्मल्याउने र भ्रममा पार्ने खालको कन्टेट भने नहुने स्पिगल बताउँछन् ।

यो निर्णयबाट स्न्यापच्याट फेसबुक र ट्विटरको बीचमा उभिन चाहेको देखिन्छ । अर्कोतर्फ गुगल भने, अझै यसमा मौन छ । गुगलले राजनीतिक विज्ञापनको विषयमा अझै कुनै कदम चालेको छैन । दुई महिना अघि फेसबुकले राजनीतिज्ञलाई उनीहरूको राजनीतिक विज्ञापन आफ्नो प्लेटफर्ममा राख्न दिने निर्णय गरेको थियो । त्यसमा फेसबुकले सांसद र आफ्नै कर्मचारीबाट ठूलो आलोचना खेप्नु पर्‍यो ।

कम्पनीका कर्मचारीले मार्क जुकरबर्गलाई खुला पत्रनै लेखे । उनीहरुले राजनीतिक विज्ञापन प्रकाशनको रणनीतिमा पुनर्विचार गर्न आग्रह गरेका थिए । त्यसैका आधारमा कम्पनीले केही परिवर्तन गरेको थियो ।

त्यसको केही हप्ता पछि ट्विटरका प्रमुख कार्यकारी निर्देशक ज्याक डोर्सीले आगामी नोभेम्बर २२ सम्म विश्वव्यापी रूपमा सबै राजनीतिक विज्ञापनमा पूर्ण रोक लगाउने घोषणा गरे । उनले त्यसमा राजनीतिक सामग्री, दल, उम्मेद्वार र सरकारी अधिकारी लगायतका राजनीतिक व्यक्तित्वबाट आउने कुनै पनि प्रकारको विज्ञापन प्रचार–प्रसार नगर्ने निर्णय गरेको बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१