close

टेलिकमको अनलाइन रिचार्जमा समस्या, ३ करोड आम्दानी प्रभावित भएको आशंका

टेकपाना टेकपाना

मंसिर ७, २०७६ १४:३१

टेलिकमको अनलाइन रिचार्जमा समस्या, ३ करोड आम्दानी प्रभावित भएको आशंका

दूरसञ्चार कम्पनी नेपाल टेलिकमको अनलाइन रिचार्ज तथा टपअपमा समस्या देखिएको छ । शनिबार बिहानदेखि एमपोस प्रविधिबाट कम्पनीका सेवाकाे भुक्तानी नै ठप्प भएको हो ।

यसबाट रिचार्ज कार्ड बाहेकका माध्यमबाट हुने कम्पनीको मोबाइल, ल्याण्डलाइन, इन्टरनेट लगायतका सेवाको भुक्तानी हुन सकिरहेको छैन । उपभोक्ताले  खल्ती, ई-सेवा, मोबाइल बैंकिङ लगायतका माध्यमबाट रिचार्ज गर्न पाइरहेका छैनन् । 

भुक्तानी सेवा प्रदायकहरुले यसलाई टेलिकमतर्फकाे प्राविधक समस्या भएको बताएका छन् । मोबाइल वालेट खल्तीका सीईओ अमित अग्रवालले शनिबार बिहानै देखि यस किसिमको समस्या देखिएको बताए ।

शुक्रबार राती टेलिकमको सिस्टममा अपग्रेड भएसँगै यस्तो समस्या आएको श्रोतले जनाएको छ । कम्पनीको कूल रिचार्ज मध्ये २८ देखि ३० प्रतिशत अनलाइनबाटै हुने गरेको छ । यस हिसावले दैनिक ३ करोड रुपैयाँसम्मको आम्दानी प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

प्राविधिक समस्याका कारण एमपोस प्रविधिमार्फत हुने कम्पनीका सबै सेवाको भुक्तानी प्रभावित भएको स्वीकार गर्दै टेलिकमका सहायक प्रवक्ता कृष्णप्रसाद भण्डारीले त्यसको समाधानका लागि सम्बन्धित प्राविधिक सहितको टिम शक्रिय रहेकाे जानकारी दिए । ‘छिटो भन्दा छिटो यो समस्या समाधान गर्ने प्रयास भइरहेकाे छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१