close

क्यान अध्यक्षमा नवराज कुँवर विजयी, यस्तो बन्यो कार्यसमिति (मत परिणाम सहित)

टेकपाना टेकपाना

मंसिर ७, २०७६ २१:२४

क्यान अध्यक्षमा नवराज कुँवर विजयी, यस्तो बन्यो कार्यसमिति (मत परिणाम सहित)

सूचना प्रविधि क्षेत्रकाे छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार राती साढे ९ बजे सम्पन्न मत गणनामा प्रतिस्पर्धी सुनैना पाण्डे‍लाई ५६ मतले पछाडि पार्दै कुँवर विजयी भएका हुन् । कुँवरले कुल सदर मतको ५६.१ प्रतिशत (५००) मत प्राप्त गरेका छन् भने पाण्डेलेको पक्षमा ४४४ मत खसेको छ ।

सदस्यहरुमा भने संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा पाण्डे नेतृत्वको प्यानलले जित हात पारेको छ । संस्थागत सदस्यतर्फ पाण्डे प्यानलका अरुण वंशल, उमेश रघुवंशी, रंजित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् । यस समूहमा महिला त‍र्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिँह कायस्थ र सर्मिला भुजेल यस अघि नै निर्विरोध भइसकेका छन् ।

त्यसैगरी व्यक्तिगत आजीवन सदस्य तर्फ समेत पाण्डे समूहकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् । संस्थागत आजीवन सदस्य समूहमा भने नवराज कुँवर नेतृत्वको प्यानलले जित हात पारेको छ । जसमा डा. पवन कुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल निर्वाचित भएका छन् ।

प्रदेश समूहतर्फ गण्डकीमा सुनैना प्यानलका जगन बहादुर गुरुङ र कृष्णप्रसाद पौडेल विजयी भएका छन् भने प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल र भानु शर्मा निर्वाचित भएका छन् । बाँकी अन्य प्रदेशहरुमा यस अघि नै कुँवर प्यानलका उम्मेदवार निर्विरोध भइसकेका छन् ।

जसअनुसार प्रदेश १ मा ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली, प्रदेश २ मा भुपालदास श्रेष्ठ र दीपेन्द्रकुमार सिँह, प्रदेश ५ मा ध्रुबराज शर्मा र रेशम गिरी, कर्णाली प्रदेशमा दलबहादुर खड्का र भिम मल्ल तथा सुदूरपश्चिम प्रदेशमा हर्कबहादुर सेठ्ठी र खेमराज ढुङ्गाना पनि निर्विरोध भइसकेका छन् । व्यक्तिगत साधारण तर्फका सदस्यमा भने मिश्रित परिणाम आएको छ ।

जसमा पाण्डे प्यानलबाट श्रीधर मरासिनी, चन्द्र बिलास भुर्तेल र रेगबहादुर भण्डारी निर्वाचित भएका छन् । यस समूहका महिला सदस्यहरुमा रत्नतारा वैद्य, सुष्मा शर्मा र गुणकेशरी प्रधान यस अघि नै निर्विरोध भइसकेका छन् । लेखा समिति सदस्यहरुमा संस्थागतबाट केशबप्रसाद भट्टराई व्यक्तिगतबाट राजु कट्टेल र जिल्ला शाखाबाट भिमसेन रेग्मी विजयी भएका छन् ।

विषयगत समूह तर्फका सदस्यमा नारायणबहादुर थापा, प्रताप सापकोटा, चिरञ्जिबि अधिकारी र भोजराज भट्ट समेत यस अघि नै निर्विरोध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१