close

डेभलपरहरुको अन्तर्राष्ट्रिय ‘वर्डक्याम्प’ पोखरामा हुँदै, यसरी सहभागी बन्नुहोस्

टेकपाना टेकपाना

मंसिर ८, २०७६ १७:५०

डेभलपरहरुको अन्तर्राष्ट्रिय ‘वर्डक्याम्प’ पोखरामा हुँदै, यसरी सहभागी बन्नुहोस्

पोखरामा कन्टेन्ट म्यानेजमेन्ट सफ्टवेयर सिस्टम-वर्डप्रेस सम्बन्धि सेमिनार हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते गरी दुई दिनसम्म ‘वर्डक्याम्प पोखरा २०१९’ हुने भएको हो ।  

कार्यक्रमको पहिलो दिन पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा र दोस्रो दिन रानिपौवा स्थित इन्फमेटिक्स कलेजमा कार्यक्रम हुने संयोजक पितम बहादुर सेनले जानकारी दिए ।

आयाेजकका अनुसार दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देशबाट आएका विज्ञ प्रशिक्षकहरुले सूचना प्रविधिका विभिन्न विषयमा प्रशिक्षण दिनुका साथै सामुहिक छलफल हुने छ भने योगदान दिवस (कन्ट्रिब्युटर्स डे) काे रुपमा कार्यक्रमको दोस्रो दिन वर्डप्रेसका विभिन्न विधाहरु मध्ये भाषा अनुवाद, थिम रिभ्यु तथा सपोर्टका विषयहरुमा कार्यशाला हुनेछ । 

कार्यक्रमका लागि नेपाल सहित भारत, बङ्गलादेश, जापान, अमेरिका लगायतका देशबाट प्रशिक्षकहरुले प्रशिक्षण दिइने बताइएकाे छ । कार्यक्रममा भाग लिन आगामी मंसिर १४ गते भित्र नाम दर्ता गराइसक्नुपर्नेछ । त्यसका लागि १५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

मंसिर १४ भन्दा पछि समेत नाम दर्ता गराउन सकिने र त्यसका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने अर्थ संयोजक प्रतिमा शर्माकाे भनाई छ । सहभागीहरुबाट उठाइएको शूल्कमै प्रशिक्षण, कार्यक्रम अवधिभर खाजा, खाना, टि–सर्ट एवं अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिने जनाइएको छ । कार्यक्रमको वेबसाइट बाट समेत क्याम्प सम्बन्धि थप जानकारी हेर्न सकिनेछ ।

करिब १० लाखको खर्चमा हुने कार्यक्रममा तीन सयभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ । कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति, कम्पनी, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्याति प्राप्त व्यक्तिहरुले आपसमा प्रत्यक्ष भेटघाट गरी लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको कार्यक्रम हो । सन् २००६ जुलाई ९ मा विश्वमा पहिलो पटक वर्डक्याम्प कार्यक्रमकाे आयोजना गरिएको थियो । नेपालमा भने सन् २०१२ देखि सुरु भएको यो कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ । राजधानी बाहिर पहिलोपटक गत वर्ष वर्डप्रेस पोखराले आयोजना गरेको यो कार्यक्रम लगातार दोश्रो पटक हुने भएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१