close

७२ प्रतिशत नेपालीको घरमा डिजिटल टेलिभिजन

टेकपाना टेकपाना

मंसिर १२, २०७६ १३:२८

७२ प्रतिशत नेपालीको घरमा डिजिटल टेलिभिजन

नेपालमा टेलिभिजनको पहुँच ७२ प्रतिशत घरधुरीमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिक प्रतिवेदन अनुसार हालसम्म ७२ प्रतिशत नेपालीको घरमा डिजिटल टेलिभिजन पुगेको उल्लेख गरिएको छ ।

एनालग टेलिभिजन बन्दगरी डिजिटलमा लैजान थालिएको तीन वर्षको अवधिमा टेलिभिजनको पहुँच उल्लेखनीय देखिएको हो । सरकारले २०७३ सालबाट टेलिभिजन प्रशारणलाई अनिवार्य रुपमा डिजिटलमा रुपान्तरण गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।

मन्त्रालयले २०७३ को वैशाख १५ सम्म काठमाडौं लगायत विभिन्न महानगरमा केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा लैजाने समयसीमा निर्धारण गरेको थियो । नगरपालिका स्तरका केबल टेलिभिजन प्रशारणलाई भने गएको कात्तिक १५ सम्मको मौका दिइएको थियो ।

त्यसै अनुरूप २०७४ कात्तिक १५ गतेपछि मन्त्रालयले काठमाडौं उपत्यकामा अनुगमन गरेर एनालग प्रविधिमा चलिरहेका केबल टेलिभिजन बन्द गराउन थालेको थियो । विस्तारै उपत्यका बाहिर पनि एनलग टेलिभिजन बन्द गराएर डिजिटलमा लैजान सरकारले बाध्य पारेको थियो । मन्त्रालयका अनुसार हाल देशभर टेलिभिजन डिजिटाइजेशको काम सम्पन्न भइसकेको छ ।

यस्तो छ अन्य सञ्चार सेवाको पहुँच

मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिक मसान्तसम्म राष्ट्रिय रुपमा रेडियोको पहुँच ८७ प्रतिशत छ । यस अवधिमा नेपालमा टेलिफोन घनत्व भने १४१.२९ प्रतिशत पुगेको छ । यसैगरी ६७.२३ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेकाे छ । आधारभुत पीएसटीएन टेलिफोनका ग्राहक संख्या ६ लाख ६५ हजार रहेका छन् ।

अहिलेसम्म नेपालमा हुलाक अनलाईन ट्रयाकिङ प्रणाली ६५ जिल्लामा पुगिसकेको मन्त्रालयकाे प्रगति प्रतिवेदनमा उल्लेख छ । देशका १३ वटा सरकारी संस्थाले अनलाईमार्फत सार्वजनिक सेवा प्रदान गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१