close

तपाईंको गुगल अकाउण्ट पुर्णरुपमा बन्द हुन सक्छ, यसरी जोगाउनुहोस्

टेकपाना टेकपाना

मंसिर १३, २०७६ ११:५७

तपाईंको गुगल अकाउण्ट पुर्णरुपमा बन्द हुन सक्छ, यसरी जोगाउनुहोस्

एक छिन सम्झिनुस् त, कुनै दिन तपाईं कतै हिँडिरहेको अवस्थामा फिर्ता नै नगर्न सकिने गरी गुगल अकाउण्ट स्थायी रुपमा प्रतिबन्धमा पर्‍यो भने के होला ? निश्चय पनि तपाई साह्रै निराश अनि दुखी हुनुहुनेछ र त्यस विषयलाई आफ्नो मूख्य असुविधा महशुस गर्नुहुनेछ । 

तपाईं हामी गुगलको इकोसिस्टममा यति धेरै आवद्ध र निर्भर भइसकेका छौँ कि त्यसमाथिको प्रतिबन्धले असुविधाको तहभन्दा पर अर्थात एक किसिमको विपत् कै रुपमा पिरोल्न सक्छ । गुगलको अकाउण्टमा प्रतिबन्ध लाग्नुको अर्थ तपाईंले जिमेल, प्लेस्टोर, गुगल ड्राइभ तथा फोटोमा रहेका विषयवस्तु समेत तपाईंले गुमाउनुपर्ने हुन्छ ।

युटुबमा कुनै प्लेलिस्ट तयार पारेर राख्नुभएको छ भने त्यो पनि बाँकी रहनेछैन र गुगल प्ले म्युजिकमा कुनै म्युजिक सेभ गरेर राख्नुभएको छ भने त्यो पनि जानेछ । अर्को अर्थमा तपाईंले खरीद गरेका कुनै एपहरु (एप, मुभी, पुस्तक लगायत) छन् भने त्यसलाई पुनः किन्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा तपाईंको एन्ड्रोइड फोनले समेत सही किसिमले काम नगर्न सक्छ । यसका साथै यदी तपाईंले गुगल वाईफाइंमा आधारित इन्टरनेटमा निर्भर हुनुहुन्छ भने, घरमा इन्टरनेट समेत प्रयोग  गर्न सक्नुहुनेछैन ।

यद्यपी, धेरैजसो प्रयोगकर्ताले गुगल अकाउण्ट माथिको प्रतिबन्धको अनुभव अहिलेसम्म गरेका छैनन् । तर, यथार्थ के हो भने त्यो अवस्था तपाईले भोग्नुपर्ने भने हुनसक्छ । यहाँ हामी सकेसम्म किन र कसरी यस्तो हुन्छ भन्ने विषयमा केही जानकारी दिन गइरहेका छौँ ।

त्यसबाट तपाईंलाई आफ्नो  गुगल अकाउण्ट सुरक्षित राख्न सघाउ पुर्‍याउने विश्वास हामीले लिएका छौँ। त्यसका अलावा यदी तपाईंको गुगल अकाउण्ट प्रतिबन्धमा परेको अवस्थामा के गर्न सकिन्छ भन्ने बारेमा पनि संक्षिप्तमा चर्चा गर्ने छौँ ।

हो, गुगलले तपाईंको अकाउण्ट बन्द  गर्न सक्छ

गुगलले तपाईंको गुगल अकाउण्ट पुर्ण रुपमा बन्द गर्न सक्ने अधिकार कानूनतः आफूसँग सुरक्षित राखेको छ । गुगलको सेवा सम्बन्धि शर्त विस्तृत रुपमा यहाँ गएर पढ्न सक्नुहुनेछ ।

गुगलले आफ्नो सेवा सम्बन्धि शर्तमा राखिएको खास विषय चाहिँ यही हो कि–‘यदी तपाईं हाम्रो सेवा सम्बन्धि शर्त तथा नीतिमा रहनु भएन भने, तपाईंलाई दिइरहेको सेवालाई निलम्बन वा बन्द गर्न सक्छौँ ।’

यसको स्पष्ट सन्देश के हो भने यदी तपाईंले जे गरिरहनुभएको छ, त्यो गुगलाई मन परेन भने कुनै पनि क्षणमा उसले तपाईंको अकाउण्ट निलम्बन वा खारेज गर्न सक्छ । 

संदीग्ध किसिमको व्यवहार देखिएमा समेत गुगलले अनुसन्धानका क्रममा यस किसिमको एक्सन लिन सक्छ । यदी तपाईंको गुगल अकाउण्ट प्रतिबन्धमा पर्‍यो भने तपाईं अनेकौं सेवामा पहुँच कायम राख्नबाट बञ्चित हुनुपर्नेछ । 

यसका सेवामा दूरुपयोग र हस्तक्षेप भएको अवस्थामा तपाईंको अकाउण्ट बन्द गर्नसक्ने कुरा गुगलले आफ्नो टीओएस सम्बन्धि विवरणमा भनेको छ । यसको स्पष्ट मतलव के हो भने गुगलले जुन रुपमा आफ्ना सेवाहरु ल्याएको छ, त्यस विपरित प्रयोग नहोस् भन्ने उसको चाहना हो । प्ले स्टोरमा राखिएका चिजलाई निःशूल्क हेर्ने मनशायले ह्याक गर्ने कुरा त्यसको एउटा उदाहरण हुन सक्छ । 

पछिल्लो एउटा दृष्टान्तले यस विषयलाई अझ स्पष्ट पार्न मद्दत गर्न सक्छ । एउटा युटुब भिडियोको कमेन्टमा एकै किसिमको इमोजी समावेश गरिएको म्यासेज अस्वभाविक रुपमा पटक पटक पोष्ट गर्ने एक जना प्रयोगकर्ताको अकाउण्ट गुगलले बन्द गरिदिएको छ । 

यद्यपी, युटुबरले नै त्यसका लागि भिडियोबाटै आफ्ना भ्यअर्सलाई उक्साएका थिए । तर, गुगललाई भने त्यो आवश्यक लागेन र प्रतिबन्ध गरिदियो । त्यसैले तपाईं पनि गुगलका कुनै पनि सेवाहरुमा अस्वभाविक रुपमा छेडखानी गरेर प्रतिबन्धको शिकार नबन्नेतर्फ सावधान रहनुहोला । 

प्रतिबन्धमा परे के गर्ने ? 

यहाँ केही यस्ता निश्चित चरणहरु छन्, जसको माध्यमबाट तपाईंले संभवतः आफ्नो गुगल अकाउण्ट (र त्यसमा रहेको डाटा) फिर्ता पाउन सक्नुहुनेछ । त्यसका लागि ब्लक भएको गुगल अकाउण्टको लगईन पेजमा रहेको ‘ट्राइ टू रिस्टोर’ बटन लाइक गर्नुहोस् ।

त्यहाँ तपाईंले सोझै गेगल समक्ष आफ्नो गुनासो तथा आग्रह राख्नका लागि एउटा फर्म समेत भर्न सक्नुहुनेछ । यदी त्यो प्रक्रिया असफल भएमा समेत गुगलका केही सेवाहरुले तपाईंका केही डाटाहरु डाउनलोड गर्ने अनुमति दिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१