close

इन्टरनेट सेवा प्रदायकबाट फ्रिक्वेन्सीको गैरकानूनी प्रयोग, कारबाही गर्ने नियामकको चेतावनी 

टेकपाना टेकपाना

मंसिर १५, २०७६ १८:३९

इन्टरनेट सेवा प्रदायकबाट फ्रिक्वेन्सीको गैरकानूनी  प्रयोग, कारबाही गर्ने नियामकको चेतावनी 

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनधिकृत रुपमा फ्रिक्वेन्सी प्रयोग गरेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीकाे चेतावनी दिएको छ । ग्रामीण दूरसञ्चार विकास कोष अन्तरगत सञ्चालित ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजनामा प्रयोग भएका उपकरणहरुमा गैरकानूनी रुपमा फ्रक्वेन्सी प्रयोग गरेको भन्दै प्राधिकरणले कारबाहीको चेतावनी दिएको हो । 

सरकारको नीतिअनुसार इन्टरनेट सेवा प्रदायकले आईएसएम ब्याण्डको फ्रक्वेन्सी मात्र प्रयोग गर्न पाउँछन् । निःशूल्क रुपमा प्रयोग गर्न सकिने उक्त ब्याण्डमा सञ्चालन हुने उपकरण नै सरकारको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तय गरेको मापदण्ड विपरित प्रयोग भइरहेको नियामकको ठहर छ । यद्यपी प्राधिकरणले गैरकानूनी फ्रक्वेन्सी प्रयोग गरिरहेका इन्टरनेट सेवा प्रदायकको नाम भने सार्वजनिक गरेको छैन । 

गैरकानूनी रुपमा भइरहेको फ्रिक्वेन्सीको प्रयोग नरोके दूरसञ्चार ऐन र फ्रिक्वेन्सी नीतिअनुसार कारबाही गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

सरकारको नीति अनुसार सेवाप्रदायकले २.४ गिगाहर्ज ब्याण्डमा २.४ गिगाहर्ज देखि २.४८३५ गिगाहर्ज, ५.१ गिगाहर्ज ब्याण्डमा ५.१५ गिगाहर्ज देखि ५.३५ गिगाहर्ज र ५.८ गिगाहर्ज ब्याण्डमा ५.७२५ गिगाहर्ज देखि ५.८२५ गिगाहर्ज सम्मको फ्रिक्वेन्सीमा रेडियो मोडेम मार्फत सेवा सञ्चालन गर्न सक्छन् । सरकारलाई कुनै फ्रिक्वेन्सी दस्तुर समेत तिर्न नपर्ने र लाइसेन्स समेत आवश्यक नहुने यी ब्याण्डहरु कुनै एक सेवा प्रदायकको एकाधिकार नहुनेगरी साझेदारीमा आधारित भएर प्रयोग गर्नुपर्ने हुन्छ ।

नियमअनुसार ४ गिगाहर्ज तथा ५.८ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गर्दा ट्रान्समिटरको अधिकतम आउटपुट पावर १ वाट अर्थात ३० डीबीएम र अधिकतम इफेक्टिभ इस्ट्रोपिक रेडियटेड पावर ४ वाट अर्थात ३६ डिबिएमभन्दा बढी हुनुहुँदैन ।

यसैगरी ५.१ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी राउटर तथा रिसिभरमा प्रयोग हुने गरको छ । सरकारले त्यसका लागि समेत निश्चित मापदण्ड निर्धारण गरेको छ । जसअनुसार ५.१५ देखि ५.२५ गिगाहर्जसम्मको फ्रिक्वेन्सी ब्याण्डको इनडोर प्रयोगमा रोक लगाइएको छ । मूख्यतयाः इनडोर रुपमा प्रयोग हुने ५.२५ देखि ५.३५ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी भने आउटडोरमा समेत प्रयोग गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१