close

३ लाख ५० हजार लाइनको एफटीटीएच इन्टरनेट नेटवर्क बनाउने योजनामा टेलिकम, यस्तो छ प्रगति

टेकपाना टेकपाना

मंसिर १७, २०७६ १३:४८

३ लाख ५० हजार लाइनको एफटीटीएच इन्टरनेट नेटवर्क बनाउने योजनामा टेलिकम, यस्तो छ प्रगति

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको देशभर ३ लाख ५० हजार लाइन  क्षमताको एफटीटीएच (फाइबर टू दि होम) इन्टरनेट नेटवर्क तयार पार्ने योजनाको प्रगति सुस्त देखिएको छ । योजनाको प्रगति सोचेअनुरुप नभएको भन्दै तालुकदार मन्त्री गोकूलप्रसाद बाँस्कोटा नै असन्तुष्ट देखिएका छन् । 

केही दिन अघि  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको टेलिकमको चौमासिक प्रगति समिक्षाका क्रममा मन्त्री बाँस्कोटाले परियोजना धेरै नै सुस्त रहेको भन्दै जतिसक्दो चाँडो प्रभावकारी रुपमा विस्तार गर्न टेलिकम नेतृत्वलाई निर्देशन दिएका छन् । 

टेलिकमले गएको असोजसम्म काठमाडौं उपत्यकामा एक लखा ४५ हजार तथा उपत्यका बाहिर २ लाख पाँच हजार लाइन क्षमताको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक उपकरण तथा सेवा खरीद गर्न बोलपत्र आह्वान गरी मूल्याङ्कन गर्ने कार्ययोजना बनाएको थियो । तर कम्पनीले निर्धारित अवधिमा बोलपत्रकाे कागजात तयार गर्ने काम मात्रै सम्पन्न गरेको छ । 

यसैगरी सोही अवधिमा २५ हजार लाइन एफटीटीएच लाइन जडान गर्ने लक्ष लिएको टेलिकमले माइग्रेशन समेत गरेर जम्मा दुई हजार एक सय लाइन मात्रै वितरण गर्न सकेको छ । 

यसैगरी असोजसम्म नै एफटीटीएच सेवा विस्तार गर्न नेटवर्क उपकरणको बोलपत्र तयारी गर्ने र नेटवर्क जडान सेवाको क्षेत्रगत बोलपत्र आव्हान तथा मूल्याङ्कन गर्ने र ७० हजार लाइन क्षमताको नेटवर्क विस्तार गरिसक्ने लक्ष समेत रहेको थियो । तर यस परियोजनामा समेत कम्पनीले आंशिक प्रगति मात्रै गर्न सकेको छ ।

जसअनुसार धनगढी क्षेत्रमा बोलपत्र मूल्याङ्कन गरी एलओए जारी भएको छ भने  भैरहवा क्षेत्रमा बोलपत्र मूल्याङ्कनको क्रममा रहेको कम्पनीले जनाएको छ । नेपालगञ्ज क्षेत्रमा आह्वान भएको बोलपत्र खोलिएको छ । काठमाडौं क्षेत्रमा पनि बोलपत्र आह्वान भइसकेको छ । बाँकी क्षेत्रमा भने बोलपत्रको काम हुन सकेको छैन । 

यसैगरी एफटीटीएचकझ फुल ट्रन्की अन्डरग्राउण्ड नेटवर्कका लागि परामर्श सेवा खरीद तथा योजनाको डीपीआर तयार गर्ने कार्यमा समेत टेलिकमले खासै प्रगति गर्न सकेको छैन । यसमा कम्पनीले जम्माजम्मी परामर्शदाता नियुक्त गर्नका लागि रिपोर्ट तयारीको काम मात्रै सम्पन्न गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३