close

कर्णाली र सुदूरपश्चिममा सूचना महामार्ग बनाउन टेलिकम र प्राधिकरणबीच सम्झौता हुँदै

टेकपाना टेकपाना

मंसिर १८, २०७६ २०:१०

कर्णाली र सुदूरपश्चिममा सूचना महामार्ग बनाउन टेलिकम र प्राधिकरणबीच सम्झौता हुँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशमा इन्फरमेशन सुपर हाई–वे बनाउन दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता हुने भएको छ । १६ महिना अघि ठेक्का पाएको स्मार्टले कुनै पनि काम गर्न नसकेपछि उक्त परियोजना टेलिकममार्फत अगाडि बढाउने गरी सम्झौता गर्न लागिएको हो ।

दुई वर्षभित्र परियोजना सम्पन्न गर्ने गरी बिहीबार द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । प्राधिकरण प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी र प्राधिकरणको तर्फबाट अध्यक्ष पुरुषोत्तम खनालले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । 

परियोनाअनुसार मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुमको मुसिकोट देखि दार्चुलाको झुलाघाटसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्ला सदरमुकाम जोड्ने गरी कूल २ हजार ५ सय १२ किलोमिटर अप्टिकल फाइबर कनेक्टीभिटी तयार पारिनेछ । यस अघि परियोजनाका लागि ३ अर्ब ९४ लाख रुपैयाँमा स्मार्टसँग सम्झौता भएकोमा टेलिकमसँग भने कति रकममा सम्झौता हुन्छ, त्यो अहिले नै खुलिसकेको छैन ।

टेलिकमले कोषकै रकमबाट प्रदेश नम्बर १, २ र ३ मा इन्फरमेशन सुपर हाई–वे बनाउने परियोजना अगाडि बढाइरहेको छ । यद्यपी, उक्त परियोजनाको काम समेत सुस्त रहेको चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा निर्माण गर्ने भनिएको सूचना महामार्गको जिम्मा समेत टेलिकमलाई दिने भनिए पनि यस अघि ठेक्का पाएको युटिएल मुद्दामा गएपछि अदालती ढिलाईका कारण हाल उक्त परियोजना अलपत्र अवस्थामा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३