close

गाडी हरायो ?, अब एनसेलले पत्ता लगाइदिन्छ

टेकपाना टेकपाना

मंसिर १९, २०७६ १३:८

गाडी हरायो ?, अब एनसेलले पत्ता लगाइदिन्छ


निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले छिट्टै सवारी साधनको अवस्था पत्ता लगाउन सक्ने ‘भेहिकल ट्रयाकिङ् सिष्टम’ ल्याउने भएको छ । मोबाइल सेवाबाट विस्तारै इन्टरप्राइज सेवातर्फसमेत आफ्नो दायरा विस्तार गर्ने क्रममा कम्पनीले यस किसिमको सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

यातायातमा धेरै लगानी गरेका उद्योगी व्यवसायीलाई सहयोग पुर्‍याउने उद्देश्यसहित यस्तो सेवाको सुरुवात गर्न लागेको कम्पनीको इन्टरप्राइज सेल्सका शाखा प्रबन्धक सुशिल विष्टले जानकारी दिए । उनका अनुसार गाडी हराएमा, चोरि भएमा त्यसको वास्तविक अवस्था पत्ता लगाउन यो प्रणालीले सहयोग पुग्ने छ ।

‘ढुवानीमा अहिले ठूलो समस्या छ । लागत बढी लाग्ने तर त्यस अनुसार प्रतिफल लगानीकर्ताले नपाएको हाम्रो अध्ययनले देखाएको छ ’ उनले भने ‘चालकले जथाभावी ट्रक चलाइदिने, एक ठाउँमा ट्रक रोकेर अर्को ठाउँमा छु भनिदिने प्रवृत्तिले लगानीकर्ता समस्यामा छन् । यसै किसिमको समस्या समाधानका लागि हामीले ट्रयाकिङ् प्रणाली ल्याउँदै छौं ।’

यो प्रणालीले सवारी कहाँ छ, कहाँ पुग्यो, काम भएको ठाउँमा छ की छैन, कुन गतिमा गुडीरहेको लगायत जानकारी दिने बताइएकाे छ । डिसेम्बर महिनाभित्रै यस्तो प्रणाली कार्यान्वयनमा ल्याउने प्रयासमा एनसेल छ । चालकको लापरबाही नियन्त्रणदेखि इन्धन तथा मर्मत खर्च कम गराउँदै ढुवानी व्यवसायीलाई यो प्रणालीले सहयोग पुग्ने एनसेलकाे अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३