close

नेपालीको मोबाइलमा हुनैपर्ने ५ एप

टेकपाना टेकपाना

मंसिर २१, २०७६ ११:२३

नेपालीको मोबाइलमा हुनैपर्ने ५ एप

पछिल्लो सयम नेपालमा सूचना प्रविधिको विकासले गति लिएको छ । हरेक क्षेत्रमा विस्तारै यसले स्थान पाउन थालेका छ । त्यससँगै सेवा क्षेत्रलाई विस्तारै सूचना प्रविधिमार्फत नै उपलब्ध गराउने प्रणालीको विकास भईरहेको छ । उपलब्ध सेवाको गुणस्तर फितलो नै किन नहोस, हालसम्म १३ वटा सरकारी कार्यलयहरुले अनलाईनमार्फत सेवा उपलब्ध गराउन थालेका छन् ।

सँगसँगै सरकारले डिजिटल नेपालको फ्रेमवर्क तयार पारिसकेको छ । कार्यनयनमा आउन समय लाग्ला, तर यसको उद्देश्य नेपालको हरेक क्षेत्रलाई डिजिटल रुपमा अघि बढाउनु नै हो । सरकारले उपलब्ध गराउने सम्पूर्ण सेवा अनलाईनमार्फत दिएर सेवाग्राहीलाई सहजता प्रदान गर्ने कामको थालनी गरिसकेको छ ।

पछिल्लो समय स्मार्टफोन र इन्टरनेटको प्रयोग बढ्दो छ । दैनिक अौसत १६ हजारका दरले मुलुकमा मोबाइल भित्रिरहेका छन् । नेपाल दुसरञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल नेपालमा चार करोड ९ लाख भन्दा बढी मोबाइल सिम प्रयोगमा छन् भने, नेपालको कुल जनसंख्याको ६७.२३ प्रतिशत अर्थात झन्डै दुई करोडमा इन्टरनेट पहुँच पुगेको छ ।

तर इन्टरनेटको सदुपयोग के मा भइरहेको छ त ? एनसेलले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्ने हो भने कूल मोबाइल डेटाको ४५ प्रतिशत भिडियो हेर्नमा खर्च भइरहेको छ । जसमध्ये सबैभन्दा बढी २९.२३ प्रतिशत मोबाइल डेटा युटुबको भिडियो हेर्न खर्च हुन्छ । दोश्रोमा एचटीटीपीएस वेब कन्टेन्टमा १३.७८ प्रतिशत डेटा खर्च भइरहेको छ ।

अज्ञात किसिमको कन्टेन्ट हेर्नमै नेपालीहरुले ११.७९ प्रतिशत मोबाइल डेटा खर्च गरिरहेका छन् भने, १०.१३ प्रतिशत फेसबुक भिडियोमा, ५.६८ प्रतिशत यूडीपीमा, ४.५३ प्रतिशत फेसबुक म्यासेन्जरमा, ४.३८ प्रतिशत फेसबुकमा, ३.९२ प्रतिशत टिकटकमा खर्च भइरहेको देखिएको छ ।

यसले हामी कस्तो कन्टेटमा समय र पैसा खर्च गरिरहेका छौ भन्ने दर्शाउँछ । उक्त तथ्याङ्कमा सरकारी कार्यलयको वेभसाइट तथा अनलाइनमा खपत भएको डेटा त कतै अटाएको देखिँदैन ।

मोबाइल बोक्ने धेरै जसो नेपालीको हातमा स्मार्टफोन नै हुन्छ । जसमा प्रायोगकर्ताले आफुलाई मन पर्ने विभिन्न एप्सहरु डाउनलोड गरेर राखेका हुन्छन् । फेसबुक, ट्वीटर, टिकटक, युट्युव लगायतका एप त प्रायः सबैको स्मार्टफोनमा हुने नै भए ।

तर, त्यसमा नेपाली एप्स कति छन् होला ? सरकारी एप्सको को मात्रा त झन् नगन्य नै हुन्छ । यहाँ हामी यस्ता पाँच एप्सको बारेमा जनकारी दिँदैछौं, जुन हरेक नेपालीको मोबाइलमा हुन आवश्यक छ । जसबाट सरकारले आफ्ना नागरिकलाई सार्वजनिक सेवा प्रवाहलाई सहज बनाइरहेका छन् ।

१. स्थानीय तहको एप

सुन्दा सामान्य लाग्ला तर स्थानिय तहको एप हरेक नेपालीले आफ्नो मोबाइलमा राख्नु पर्ने एउटा महत्वपर्ण एप हो । सरकारको तथ्याङ्क अनुसार हालसम्म चार सय २५ स्थानिय तहको आफ्नै मोबाइल एप छ । उक्त एपमार्फत प्रयोगकर्ताले आफ्नो स्थानीय तहमा भइरहेको हरेक कुराको जानकारी लिन सक्नेछन् ।

एपमार्फत स्थानीय तहका कुनै पनि योजना कार्यान्वयनको अवस्था, स्थानीय तहबाट विनियोजित बजेट, तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्था र योजनासँग सम्बन्धित जानकारी पनि लिन सकिन्छ । त्यतिमात्र नभएर स्थानीय तहको नक्सा, उनिहरुले बनाएको ऐन, कानुन, नियम, भौगोलिक अवस्थाको जानकारी समेत त्यसमा राखिएको छ ।

साथै जन्मदर्ता, मृत्युदर्ताको फर्म तथा आवश्यक जानकारी, स्थानीय तहका योजनागत कार्यक्रम, प्रगति विवरण, वडा कार्यालय, सरकारी तथा गैरसरकारी निकायका गतिविधि पनि समेट्न सकिने गरी एपको विकास गरिएको छ । त्यसैले यो एउटा नागरिकको लागि महत्वपूर्ण एप हो ।

२. आईआरडी नेपाल

आन्तरिक राजस्व विभागको एप्स ‘आईआरडी नेपाल’ पनि एउटा महत्वपूर्ण एप्स हो । सरकारलाई कर बुझाउनु हरेक नागरिकको दायित्वको विषय हो । कुन शिर्षकमा कति कर बुझाउने, कसरी बुझाउने भन्ने विषयको जानकारी हरेक नागरिकले राख्न आवश्यक हुन्छ । यो एपमार्फत करदाताले अनलाईन पेमेन्ट सिस्टम प्रयोग गरी कर तिर्न पनि सक्छन् ।

यसैगरी निश्चित अवधिमा आय कर र मूल्य अभिबृद्धि कर फिर्ताको अवस्था बारे जानकारी एपमै प्राप्त हुन्छ भने, कुन विषयमा कति कर फिर्ता भयो भन्ने जानकारी पनि लिन सकिन्छ । भौचर लगायतको जानकारी करदाताले आफ्नो लगईनमार्फत प्राप्त गर्न सक्छन् । टीडीएसको सम्पूर्ण सूचना पनि एपबाटै लिन सकिन्छ । प्यानका दर्ता विवरण, विभागले जारी गरेको सूचना, प्रकाशन, सम्पर्क नम्बर, ट्याक्स क्याल्कुलेटरका साथै अन्य जानकारी पनि एपमै उपलब्ध छन् ।

३.जब खोज

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सञ्चालनमा ल्याएको ‘जब खोज’ पनि एउटा महत्वपूर्ण एप हो । जसमा सरकारी तथा निजी क्षेत्रमा आवश्यक रोजगारीको जानकारी उपलब्ध हुन्छ ।

नेपालमा व्याप्त बेरोजगारीको समस्या व्यवस्थापन गर्न विभागले यो एप सञ्चालनमा ल्याएको हो । जसमार्फत इच्छुकले आवश्यक जानकारी लिई रोजगारीका लागि फर्म भर्न सक्छन भने, कतिपय अवस्थामा आफ्ना आफन्तलाई उपलब्ध अवसरको बारेमा जनाकारी दिन पनि सकिन्छ । त्यसैले पनि यो एप प्रयोग गर्न आवश्यक ठानीएको हो ।

४. पीएससी नेपाल

लोक सेवा आयोगको एप ‘पीएससी नेपाल’ नेपालीको लागि एउटा महत्वपूर्ण एप हो । देशका सम्पूर्ण सरकारी कार्यलयमा आवश्यक पदपूर्ती लोकसेवाले नै गर्ने भएकाले यसको विषयमा जानकार रहन आवश्यक छ ।

आयोगबाट प्रकाशित विज्ञापन, पाठ्यक्रम, स्वीकृत नामावली, परीक्षा केन्द्र (लोकेसन म्याप सहित), लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता तथा सिफारिस एवं कूल प्राप्ताङ्क सम्बन्धी जानकारीहरु एपमार्फत उपलब्ध गराइन्छ । लोक सेवा आयोगको बुलेटिन तथा आयोगसँग सम्बन्धित ऐन नियमहरु समेत मोबाइल मार्फत नै हेर्न सकिन्छ ।

५. नेपाल गजेट

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको ‘नेपाल गजेट’ एप पनि हरेक नेपालीको लागि आवश्यक छ । नेपालको कानुन र त्यससँग सम्बन्धी जानकारी लिनको लागि नेपालीले यो एप प्रयोग गर्न जरुरी छ ।

यसमा नेपालमा हालसम्म बनेका हरेक कानुनलाई व्यवस्थित रुपमा राखिएको छ । कुन विषयमा कस्तो कानुन छ, कुन कानुनले के भन्छ, के गर्नु हुन्छ के गर्नु हुँदैन सबै कुरा जान्नको लागि पनि जानकारी राख्न आवश्यक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३