close

सागको समापनमा देखाइएको त्यो ‘ड्रोन लाइट सो’, सफ्टवेयरबाट नियन्त्रण अनि ‘फायरवर्क’भन्दा वातावरणमैत्री

टेकपाना टेकपाना

मंसिर २४, २०७६ २२:७

सागको समापनमा देखाइएको त्यो ‘ड्रोन लाइट सो’, सफ्टवेयरबाट नियन्त्रण अनि ‘फायरवर्क’भन्दा वातावरणमैत्री

आठौं दक्षिण एसियाली खेल(साग) मङ्गलबार समापन भएको छ । खेलाडीको प्रदर्शनबाहेक आठ दिनअघिको उद्घाटनको भव्यताले यसको चर्चा विशेष बन्यो । त्यस्तै चर्चा भयो समापनको पनि ।

समापनमा ड्रोन लाइट प्रयोग गरेर बनाइएको बुद्ध, नेपालको नक्सा र झन्डा, मन्दिरजस्ता आकृतिले धेरैको ध्यान तान्यो । सामाजिक सन्जालमा यतिबेला तिनै आकृतिसहितका तस्विरको चर्चा छ ।

ठुला समारोहमा आतिशबाजी प्रयोग हुनु सामान्य नै भैसक्यो । तर ड्रोन लाइट सोको प्रयोग त्यति व्यापक भैसकेको छैन । विश्वमै विस्तारै प्रयोग बढ्दै गरेको यो नौलो अभ्यासको नेपालले छिटै प्रयोग गरेर प्रदर्शन गर्न सफल भएको छ । नेपालका लागि यो नितान्त पहिलो प्रयोग पनि हो ।

विश्वमा ड्रोन लाइट सो सुरु गर्ने श्रेय इन्टेललाइ जान्छ । इन्टेलले यसलाइ भविस्यको प्रविधी पनि भनेको छ । आतिशबाजीभन्दा ड्रोनको प्रयोगले नयाँ किसिमका र रोचक कलाकृति, आकाशमा एनिमेसन प्रदर्शन गर्न सकिन्छ । त्योभन्दा बढी यसको वातावरणीय फाइदा छ ।

आतिशबाजीले केहिबेर माहोल रमाइलो त बनाउछ तर यसले वातावरणमा असर पनि पुर्याइरहेको हुन्छ । यसको ठिक विपरित ड्रोन वातावरणमैत्री मात्र छैन यसलाई बारम्बार प्रयोग पनि गर्न सकिन्छ । साग समापनमा प्रयोग गरिएका १ सय ५० ड्रोन अर्को पटकपनि नेपालले उपयोग गर्न सकिन्छ ।

ड्रोन लाइट प्रयोगको हिसाबले सजिलो पनि मानिन्छ । यो मुलतः सफ्टवेयरबाट नियन्त्रण गरिन्छ । कम्प्युटरमा बटन थिचेकै भरमा यसको आकृति बदल्न सकिन्छ । निश्चित सङ्गीत अनुसार र आवश्यक आकृतिमा ढाल्न सफ्टवेयरले सहयोग गर्छ ।

यसरी ड्रोनबाट प्रदर्शन गर्दा यसमा सुरक्षाको पनि ख्याल गरिएको हुन्छ । जस्तो आकाशमा उडान भरिएको विमानको मार्गभन्दा यसको निश्चित दुरी कायम गरिएको हुन्छ । त्योभन्दा पनि कुनै सुरक्षा समस्या देखिए यसलाई तत्काल सफ्टवेयरबाट नियन्त्रणमा लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३