close

कसैले पासवर्ड चोर्न खोजे क्रोमले तुरुन्तै जानकारी दिने, यसरी सचेत रहनुहोस्

टेकपाना टेकपाना

मंसिर २६, २०७६ १३:९

कसैले पासवर्ड चोर्न खोजे क्रोमले तुरुन्तै जानकारी दिने, यसरी सचेत रहनुहोस्

गुगलले संभावित फिसिङ लिङ्कबाट हुने ह्याकिङको बारेमा तत्काल सचेत गराउने भएको छ । पासोको रुपमा इन्टरनेटमा फिजाएका फिसङ लिङ्क क्लिक गर्दा हुनसक्ने ह्याकिङबाट जोगिन क्रोम ब्राउजरले सचेत गराउने भएको हो ।

फिसिङ एउटा यस्तो ह्याकिङ्कको तरिका हो, जसबाट प्रयोगकर्तालाई झुक्यानमा पारेर  साइबर हमलाकारीले जोखिमपुर्ण लिङ्क क्लिक गर्न र लगिन प्रमाणहरु राख्न लगाई युजरनेम तथा पासवर्ड चोरी गर्दछन् ।  कतिपय अवस्थामा यस्ता जोखिमपुर्ण वेबपेजहरु अन्य विश्वसनीय वेबसाइटसँग दुरुस्तै हुने किसिमले तयार पारिएका हुन्छन् । 

भेरिजोनको वार्षिक साइबर सुरक्षा प्रतिवेदनअनुसार प्रयोगकर्ताको तथ्याङ्क चोरीमा फिसिङ नै मूख्य कारणको रुपमा रहँदै आएको छ । गत अगस्टमा गुगलले प्रत्येक दिन दश करोड फिसिङ इमेल ब्लक गरेको तथ्य सार्वजनिक गरेको थियो ।

यस्ता फिसिङ लिङ्क इमेलमा मात्रै नभएर च्याट एपमा म्यासेजेको रुपमा र कतिपय जोखिमपुर्ण विज्ञापनमार्फत समेत आइरहेका हुन्छन् । हो, विभिन्न वेबसाइट भिजिट गर्ने क्रममा आउन सक्ने यसै किसिमका संभावित फिसिङबाट प्रयोगकर्तालाई जोगाउन क्रोम ब्राउजरले नयाँ सुरक्षा फिचर थप गरेको हो ।

क्रोमको सेटिङमा रहेको ‘मेक सर्चेज एण्ड ब्राउजिङ बेटर’ मा गएर तपाईंले यो फिचर इनेबल गर्न सक्नुहुन्छ । क्रोमको सेफ ब्राउजिङ मोडमा यस्तो किसिमको सुरक्षा यस अघिदेखि नै कायम छ । जसले प्रयोगकर्ताले भिजिट गर्ने वेबसाइटको यूआरएल गुगलको ब्ल्याकलिस्टमा रहे/नरहेको जाँचपड्ताल गर्छ ।

डिभाइसहरुमै सेभ रहेर बस्ने यस्तो ब्लक लिस्ट हरेक ३० मिनेटमा सिंक हुन्छ । त्यसका बावजुत ह्याकरले ब्लक लिस्टलाई बाइपास गर्नेगरी नयाँ फिसिङ्क यूआरएल तयार पार्नसक्ने जोखिम भने रहन्छ ।

क्रोमले मंगलबारदेखि ल्याएको अपडेटले फिसिङबाट जोगाउने यस अघिको फिचरलाई प्रयोगकर्ताले भिजिट गरेका यूआरएललाई तत्कालै गुगलको ब्लक लिस्टमा जाँच गर्न सकिने गरी विस्तार गरेको हो ।

पछिल्लो अपडेटले फिसिङ लिङ्कबाट जोगिन डिभाइसमा हरेक ३० मिनेटमा हुने अपडेटमा भर परिरहनुपर्ने अवस्थाको अन्त्य गर्नेछ र तत्कालै संभावित ह्याकिङबाट आफूलाई जोगाउन सकिनेछ । गुगलले आफ्नो ब्लगमार्फत गराएको जानकारी अनुसार क्रोमको पछिल्लो परिवर्तनमार्फत जोखिमपुर्ण वेबसाइट पहिचानमा ३० प्रतिशत बृद्धि हुने अपेक्षा गरिएको छ ।

गुगलले क्रोम एक्टेन्सनको रुपमा यस अघि सार्वजनिक गरेका अन्य पासवर्ड सुरक्षा उपकरणहरु समेत अब ब्राउजरमा डिफल्टरुपमै उपलब्ध हुनेछन् । गुगलले गत फेब्रुअरीमा सार्वजनिक गरेको ‘पासवर्ड चेकअप’ नामक एक्स्टेन्सनले लगइन चोरीको प्रयास भए वा त्यसलाई तोडमोर्ड गर्न खोजिए प्रयोगकर्तालाई तत्काल सूचित गर्छ ।

विभिन्न अकाउण्टमा प्रयोगकर्ताले दोहोर्‍याउँदै प्रयोग गर्ने पासवर्डलाई ह्याकरले गणना गर्नसक्ने भएकाले त्यसबाट जोगाउन यो उपकरण डिजाइन गरिएको हो । अब यो एक्स्टेन्सन क्रोम ब्राउजरकै हिस्सा भएको छ, जसलाई ‘सिंक एण्ड गुगल सर्भिस’ सेटिङमा गएर सक्रिय तथा निष्कृय पार्न सकिनेछ ।

फिसिङबाट जोगाउने उपकरणका साथै गुगलले प्रयोगकर्ताको यूजरनेम र पासवर्ड इन्क्रिप्टेड भर्सनको रुपमा मात्रै स्टोर गरिने र त्यसले प्रयोगकर्ताका प्रमाणहरु लगको रुपमा नरहने स्पष्ट  पारेको छ । मंगलबार क्रोम ७९ सार्वजनिक भएसँगै उसले यी सबै फिचर क्रमशः कार्यान्वयनमा आउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३