close

आफ्नै ‘इकोसिस्टम’ विकासमा ३ खर्ब ३९ अर्ब लगानी गर्दै ह्वावे

टेकपाना टेकपाना

मंसिर ३०, २०७६ १७:१६

आफ्नै ‘इकोसिस्टम’ विकासमा ३ खर्ब ३९ अर्ब लगानी गर्दै ह्वावे

ह्वावे कन्जुमर बिजनेस ग्रुप अन्तर्गतको कम्पनी ह्वावे नेक्स्ट अर्थात् ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले एचएमएस इकोसिस्टम तयार गर्ने भएको छ । जसका लागि ३ खर्ब ३९ अर्ब नेपाली रुपैयाँ बराबर लगानी गर्ने भएको छ ।

त्यतिमात्रै नभएर कम्पनीले एचएमएसमा अनुसन्धान र विकासका लागि तीन हजारको संख्यामा कर्मचारी परिचालन गर्ने योजना समेत अगाडि सारेको छ । दुई वर्षभीत्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्‍याउने ह्वावेको तयारी रहेको छ ।

सो अवधिमा अनुसन्धान र विकास तर्फका कर्मचारीको संख्या पाँच हजार पुग्ने बताइएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा हुवावेले आफ्नो इकोसिस्टम मार्फत स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्वारा बनाइएको एप्लिकेशन तथा सर्भिस उपलब्ध गराईने जनाइएको छ ।

त्यसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर, ह्वावे मोबाइल क्लाउड, ह्वावे थिम, ह्वावे म्युजिक, ह्वावे भिडियो, ह्वावे असिसटेन्ट, ह्वावे आईडी, ह्वावे हेल्थ, लगायत रहेका छन् । अमेरिकी प्रतिबन्धको सामना गरिरहेको ह्वावेले त्यसबाट पार पाउन समग्र आफ्नै इकोसिस्टम तयार गर्न लागेको हो ।

ह्वावेले अहिलेसम्म एक सय ७० भन्दा बढी देशमा कम्पनीको इकोसिस्टममार्फत ५७ करोडभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आएको छ । हाल ह्वावे मोबाइल सेवामा विश्वभरबाट १० लाख ७० हजार डेभेलपरहरु आवद्ध रहेको बताइएको छ । एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३